काठमाडौँ–लन्डनमा भूतपूर्व ब्रिटीश गोर्खाहरूका माग सम्बोधनका लागि बुधबार चौथो चरणको त्रिपक्षीय वार्ता भएको छ ।लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा करिब डेढ घण्टा भएको उक्त वार्तामा समान पेन्सन, वेलफेयर लगायतका एजेण्डामा थप छलफल भएको हो । वार्तामा नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयका सहसचिव (युरोप अमेरिका डिभिजन) दिलिपकुमार पौडेल, राजदूत ज्ञानचन्द्र आचार्य, नियोग उपप्रमुख रोशन खनाल, सैनिक सहचारी कर्णेल रत्न गोदारसहित गोर्खा संगठनका प्रतिनिधिको सहभागिता थियो । बेलायती पक्षको प्रतिनिधित्व गर्दै भेट्रान राज्यमन्त्री डा. एन्ड्रीयू मोरिसन, ब्रिगेड अफ गोर्खाज र अन्य विभिन्न विभागका प्रतिनिधि सहभागी थिए । गोर्खाहरुका तर्फबाट मेजर रिटायर्ड जुद बहादुर गुरुङ, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई र गेसो उपसभापति धर्म तामाङ सहभागी थिए । अनसन हुँदै १३ दिनको भोक हड्ताल बसेपछि गत १९ अगष्ट २०२१ मा बेलायतले त्रिपक्षीय वार्ताका लागि लिखित प्रतिबद्धता व्यक्त गरेको थियो । यसअघि गत २२ मार्च २०१८ मा दुबै सरकार र गोर्खा प्रतिनिधिबीच चरणबद्ध वार्ता गरेर १३ बुँदे प्राविधिक प्रतिवेदन बुझाइएको थियो । तिनै माग पूरा हुनुपर्ने अडान भूतपूर्व गोर्खाहरुको छ । गत १ जनवरी १९४८ देखि ३० सेप्टेम्बर, १९९३ सम्म ब्रिटीश आर्मीमा भर्ती भएका भूतपूर्व ब्रिटीश गोर्खाहरुले समानता एवं न्यायका लागि विगत ३३ वर्षदेखि लडिरहेका छन् ।