काठमाडौँ —नेपालले विश्वकप लिग-२ मा नामिबियामाथि २ विकेटको रबाफिलो विजय हात पारेको छ । ओपनर कुशल भुर्तेलले १ सय १५ रन बनाएपछि नेपालले २ सय ८६ रनको लक्ष्य १४ बल अगाडि नै पूरा गरेको हो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो विजय लक्ष्य रन पार गरेको हो । भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाउने क्रममा १ सय १३ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गरे । भुर्तेलले कप्तान रोहित पौडेलसँग जोडेको १ सय २४ रनको ठोस साझेदारी नेपालको विजयको आधार बन्यो । नेपालले लिग-२ मा नामिबियालाई पराजित गरेको पहिलो पटक हो । यस विजयपछि नेपालले एकदिवसीय मान्यता जोगाई राख्ने आशालाई कायमै राखेको छ । नेपालले अब लिग-२ मा आफ्नो बाँकी रहेको ११ मध्येको ८ खेल जित्नु पर्नेछ । नेपाल २५ खेलमा २० अंकका साथ सात राष्ट्र सहभागी प्रतियोगिताको अंक तालिकाको छैटौं स्थानमा छ । नामिबिया ३१ खेलमा ३७ अंकका साथ तेस्रो स्थानमा छ ।
यसअघि टस हारेर माइकल भान लिङगेनको सानदार सतकमा आएको नामिबियाले निर्धारित ५० ओभर पूरा खेली २ सय ८५ रनमा अलआउट भएको थियो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लिङगेनले १ सय ३३ रन बनाए । लिङगेनले लगातार दोस्रो शतक बनाएका हुन् । डिसेम्बरमा उनले नेपालविरुद्ध नामिबियाको विन्डहोकमा १ सय २१ रन बनाएका थिए । उनले १ सय ३७ बलको इनिङ्समा ९ चौका र ५ छक्का प्रहार गरे । लिङगेनलाई करण केसीको बलमा दीपेन्द्रले मिडविकेटमा क्याच लिए । उनको एकदिवसीय अन्तर्राष्ट्रियमा उच्च स्कोर हो भने नामिबियाली ब्याटरको दोस्रो उच्च स्कोर हो । जिन पिइरे कोएट्जेले २०१९ को सेप्टेम्बरमा अमेरिकाविरुद्ध १ सय ३६ रन बनाएका थिए । लिङगेनले कप्तान गेर्हार्ड इरास्मससँग तेस्रो विकेटमा १ सय २४ रनको ठोस साझेदारी गरे । आईसीसी एसोसिएट वर्ष खेलाडी इरास्मसको २१ रनमा रोहितले क्याच छाड्नु नेपालका महँगो पर्यो । इरास्मसले ७९ बल खेली २ चौका र ३ छक्का प्रहार गर्दै ५६ रन बनाए । लो हेन्ड्रे लवरेन्स नामिबियाबाट आउट हुने पहिलो खेलाडी थिए । उनलाई तेस्रो ओभरमा सोमपाल कामीले ५ रनमा बोल्ड गरे । सन्दीप लामिछानेले अर्का ओपनर कार्ल बिर्केनस्टकलाई १३ रनमा बोल्ड गरे । त्यसपछि लिङगेन र इरस्मसको जोडि जमेको थियो ।