बदलिएको बिश्व परिवेश ।

Oct Sun 2022 11:05:22

   बिश्व २१औँ सताब्दीमा पुग्दा अन्तर्राष्ट्रिय अवस्थामा ब्यापक बदलाव आएको छ । राजनैतिक, आर्थिक, सामाजीक, सांस्कृतिक, सैन्य, बिज्ञान प्रविधि र पर्यावरणीय क्षेत्रमा नयाँ अन्तरविरोध, आविस्कार देखापरेका छन् । दोस्रो बिश्व युद्धको अन्त्य र सोभियत संघको बिघठन पछि अमेरिकी एकल ध्रुविय बिश्व यतिवेला अर्थ राजनैतिक रुपमा बहुध्रुवीय बनेकोछ । साम्राज्यवादी बहु ध्रुवीय बिश्वको नेतृत्व एकातिर रुस चिनले र अर्कोतिर अमेरीकाले गरि राखेको छ । बिश्व बहुध्रुविय बन्दा बहुध्रुव बिचको टक्राव बढेको छ । शक्ति राष्ट्रहरुमा अतिअन्धराष्ट्रवादको उदय हुनु बहुध्रुव निर्माणको कारक मान्न सकिन्छ । सामरीक रुपले महत्वपुर्ण देशहरु माथि साम्राज्यवादी शक्ति राष्ट्रहरुको आर्थिक राजनैतिक र सैन्य हस्तक्षेपका साथै मानवीय नरसंहार अस्वभाविक रुपमा बढेको छ ।

         सन १८४८ बाट सुरु भएको पुँजीवाद बिरोधि कम्युनिष्ट आन्दोलन १८७१ को पेरिस कम्युन,१९१७ को रुसि अक्टोबर क्रान्ति,१९४९ को चिनिया क्रान्ति हुदै क्युवन क्रान्ति सम्म पुग्दा पुजीवादी साम्राज्यवादका बिरुद्ध बिश्व ब्यापी चुनौति खडा गर्दै बिश्वलाई बहुध्रुविय बनाएको थियो । बहुध्रुव अनुसार एकातिर सोभिय संग र अर्कोतिर अमेरिका देखिएका थिए । १९९१मा सोभियत संघको बिघठन र माओको मृत्युपछि बिश्व कम्युनिष्ट आन्दोलन चलि राखेपनि थुप्रै कारणले गर्दा सफल हुन सकेका छैनन् । केहि देशहरुमा बिजयका नजीक पुगेका आन्दोलन नेतृत्वको सुझबुझ नपुगेर र नेतृत्वको गद्दारिका कारण हार्न पुगेकाछन । दर्जनौ देशमा आजपर्यत्नपनि क्रान्ति जारिछन् ।

     राजनैतिक रुपमा बिश्व बहुध्रुविय बन्दै गर्दा आर्थिक रुपमा चिनको उदयले अमेरिका र चिन बिच ब्यापारिक युद्ध सुरु भएको छ । सन ८० को दसकबाट साम्राज्यवादले प्रारम्भ गरेको उदारीकरण,नीजिकरण र भुमण्डलीकरणको अर्थ राजनैतिक नीति असफल हुन पुगेको छ । ब्यापारिक पुँजीवाद बाट सुरु भएको पुँजीवाद औधोगिक, एकाधिकार हुदै यतिवेला भुमण्डलिकृत पुँजीवादी उपयुगमा पुगेको छ । भुमण्डलीकृत साम्राज्यवादको बिकेन्द्रित उत्पादन र केन्द्रिय नियन्त्रण गर्ने मुल नीति हुन्छ । बिश्व ब्यापी साम्राज्यवादले आर्थिक प्रभुत्व कायम गर्न बिश्व बैँक, अन्तर्राष्ट्रिय मुद्राकोष, बिश्व ब्यापार संगठन, लगाएतका आर्थिक संगठन खडा गरिएकाछन् ।  एकातिर बिश्वभरि कुल जनसख्याको ४० प्रतिशत मान्छेहरु दैनिक २ डलर भन्दा कम रकमले जिवन जिउन बाध्यछन् अर्को तिर बिश्व भरिका ५० प्रतिशत जनता सँग भएको सम्पत्ति भन्दा बढि सम्पत्ति केवल ८ जना पुँजीजीवीहरुको हातमा केन्द्रित भएको छ । बिश्वको अर्थराजनिति निगम पुँजीजीवीहरुको एकाधिकारमा सञ्चालित हुनु पुगेको छ । बिश्व भरिका पुँजीजीवीहरु मीलेर बहुराष्ट्रिय कम्पनि खोल्ने र त्यस मार्फत आर्थिक मुनाफाको लुटको साम्राज्य बिश्व ब्यापी बनाउने गरिएको छ । साना,गरिव,सामरिक र प्राकृतिक रुपले सम्पन्न देशहरु अर्थराजनैतिक र सैन्य रुपमा नवऔपनिवेसिक अवस्थामा छन् ।

           बिश्व बहुध्रुविय बने सँगै साम्राज्यवादी शक्ति बिचको टकराव दिन प्रतिदिन बढदै गएको छ । दोस्रो बिश्व युद्ध पछि त्यो स्तरको बिश्व युद्ध नभएपनि आर्थिक रुपमा गरिव, प्राकृतिक स्रोतमा धनि र सामरिक रुपमा महत्वपुर्ण देशहरुमा बिभिन्न बाहना बनाएर साम्राज्यवादी शक्तिहरुको नेतृत्वमा लाखौँ मान्छेहरुको नरसंहार गरि राखेकाछन् । । दोस्रो बिश्व युद्ध ताका बार्षा र नाटो सेना गठन गरिएको थियो दोस्रो बिश्व युद्धको समाप्ति सँगै बार्षा सैन्य संगठन बिघठन गरिए पनि नाटो सेना आज सम्म बाँकि छ । यतिवेला साम्राज्यवाद सँग तिन प्रकारका सेना छन नाटो सेना, संयुक्त राष्ट्रसंघिय सेना र साम्राज्यवादी देशका राष्ट्रिय सेना त्यतिले नपुगेर सामरिक रुपमा अमेरिकाले १५० भन्दा बढि देशहरुमा ९०० भन्दा बढि सैन्य आधार शिविरहरु खडा गरेको छ । साम्राज्यवादी देशहरुले आफ्नो कुल बजेटको निक्कै ठुलो हिस्सा सैन्य क्षेत्रमा प्रयोग गरि राखेकाछन् । दोस्रो बिश्व युद्ध सम्म स्थल,जल र हवाई सेनामा सिमित साम्राज्यवादले यतिवेला सवै भन्दा बढि अत्याधुनिक हातहतियार र सन्य सामाग्री उत्पादनमा जोड दिईराखेको छ । हवाई र आईटि सेनाको संख्या बढाउदै लगिएको छ। सर्वहारा बर्गको बिश्व सैन्य शक्ति नभएपनि साम्राज्यवाद बिरोधि प्रतिरोध युद्ध हरेक दिन बढि राखेकाछन । पछिल्लो चरण चाईना,उत्तरकोरिया,इरान र रसियाले अमेरिकी साम्राज्यवादलाई सैन्य रुपमा टक्कर दिई राखेकाछन ।

           संस्कृतिको क्षेत्रमा साम्राज्यवादले सामन्तवादी समाजमा प्रयोग भएका धर्म,जातिय,लिंगिए र क्षेत्रिय उत्पीडनलाई बढवा दिन थालेको छ। अन्धजातिवाद,अन्धराष्ट्रवाद, र साम्प्रदायिक्तालाई अगाडि सारेर उत्पीडित देशहरु भित्र बिभिन्न खाले द्वन्द्व सिर्जना गरि बर्गिय र राष्ट्रिय स्वाधिन्ता सम्वन्धि पुँजीवादी साम्राज्यवाद बिरोधी संघर्ष अन्तै मोडेर उत्पीडित बर्ग र राष्ट्र माथि आफ्नो हैकम जमाउदै आएको छ । आफ्नो उत्पीडन टिकाई राख्न साम्राज्यवादले ईतिहाँस,बिचारधारा र युगको अन्त्य भएको हल्ला गरि राखेको छ । सांस्कृतिक रुपमा साम्राज्यवादले आफ्नो भाषा, धर्म, कला संस्कृति, गित सङगित, खानपिन, रहन सहन ,पाठ्य पुस्तक बिश्व ब्यापी बनाएको छ जसले गर्दा नवऔपनिवेसिक देशका जनताको मौलिक संस्कृति लोप हुदै गएको छ । आज मान्छेलाई उपभोक्ताबादी, अराजक्तावादी, छाडा संस्कृतिले गाँजेको छ । पुँजीवादी संस्कृतिको सिकार भएको मान्छे घरपरिवार,समाज,बर्ग, क्रान्ति, देश र मानविय मुल्य मान्यता प्रति बेमतलवी भएको छ । सांस्कृतिक रुपमा सिंगो समाजलाई अराजकहरुको भिड संस्कृतिमा बदलेको छ । पछिल्लो चरण फेरी साम्राज्यवादले बिश्व ब्यापी अभियानकै रुपमा निक्कै ठुलो आर्थिक रकम धर्म संस्कृति परिवर्तन गराउनेमा खर्च गरि राखेको छ ।

बिश्व २१औ सताब्दीमा पुग्दा आधुनिक बिज्ञान प्रबिधिको ब्यापक बिकासले मानव समाजमा अवसर, चुनौति र संकट ल्याएको छ । बिकसित बिज्ञान प्रविधिको प्रयोगले मानव समाजलाई बिश्व ब्यापी बनाएको छ । अत्याधुनिक बिज्ञान प्रविधिको प्रयोग भुमण्डलीकृत साम्राज्यवादले सवै भन्दा पहिला सैन्य क्षेत्रमा प्रयोग गरि राखेको छ । समाजको हर क्षेत्रमा बिज्ञान प्रविधि नभई नहुने अवस्थामा पुगेको छ । समाजका सवै क्षेत्रमा बिज्ञान प्रविधिको प्रयोगले गर्दा मानवीय जिवन सहज बनेको छ । बिज्ञान प्रबिधिको प्रयोग बिना समाज चल्न नसक्ने अवस्था आएको छ तर यसको स्वामित्व मुठ्ठिभर पुँजीजीवी बर्गको हातमा हुदाँ यसको फाईदा बाट आम मान्छे बञ्चित हुनुपरेको छ। जसरि बिकसित बिज्ञान प्रविधिले मानव समाजलाई बिश्व ब्यापी बनाएको छ त्यसैगरी भुमण्डलिकृत पुँजीवादी लुटको साम्राज्यलाई पनि बिश्व ब्यापी गरेको छ । उत्पादनको क्षेत्रमा प्रयोग भएको बिज्ञान प्रबिधिले पुँजीजीवीहरुको मुनाफा अकुत रुपमा बढेको छ जसले गर्दा उत्पादन क्षेत्रबाट मानवीय श्रम बिस्थापीत भएर मान्छे बेकारिमा धकेलिने क्रम बढदो छ । एकातिर श्रमक्षेत्रमा श्रमीक माथि उत्पीडन चुलीएको छ अर्कोतिर बिज्ञान प्रविधिको प्रयोगले श्रमक्षेत्रमा कार्यरत मानवीय श्रम बिस्थापीत भई राखेकोछ । जसले गर्दा समाजमा उत्पीडित श्रमजिवी बर्ग र बेरोजगार बर्गको ठुलो फौँज खडा भएको छ । जुन समस्या पुँजीवादी ब्यवस्था रहे सम्म झन बृद्धि हुदै जानेछ । जसलाई  २१ औँ सताब्दीको नयाँ संकट भन्न सकिन्छ । भुमण्डलिकृत पुँजीवादका बिरुद्ध उठने नयाँ कम्युनिष्ट क्रान्तिले आजको बिकसित बिज्ञान प्रविधिलाई क्रान्तिका सवै क्षेत्रमा ब्यापक रुपमा प्रयोग नगरि क्रान्ति सफल हुने छैन । बिकसित बिज्ञान प्रविधि सम्वन्धि ज्ञान नभएको ब्यक्ति एक क्रान्तिकारि कम्युनिष्ट बन्न नसक्ने अवस्था आएको छ । पुँजीजीवी बर्गको स्वामित्वमा रहेको बिज्ञान प्रविधिलाई उत्पीडित श्रमजिवी बर्गको स्वामित्वमा ल्याउने गरि संघर्ष केन्द्रीत गरिनु पर्दछ ।

         यतिवेला बिश्व ब्यापी चिन्ता,चासो र सरोकारको बिषय पर्यावरणीय मुद्दा बनेको छ । प्रकृतिको दोहनका कारण पृथ्वीको आयु अवको ६०० बर्ष मात्रै भएको बैज्ञानिकहरुले सार्वजनिक गरेकाछन । बायु मण्डल प्रदुशणका कारण पृथ्वीको तापमान अस्वभाविक रुपमा बढदै गएको छ । जसले गर्दा मानव जाति र जिवीत प्राणीहरु अस्वभाविक संकटमा परेकाछन् । कतिपय प्राणी लोप भइ राखेकाछन । यसको पछाडिको मुख्य कारण आजको भुमण्डलीकरण पुँजीवाद भएकोमा घामझै छर्लङगै भएको छ। मानव जातिको रक्षाको लागि पृथ्वीको रक्षा अनिवार्य भएको  छ । पृथ्वीको रक्षा गर्न पुँजीवादलाई ध्वंस नगरि नहुने भएको छ । किनकी पुँजीवाद रहे सम्म नत समाजमा बर्ग संघर्ष रोकिने छ नत पृथ्वी जोगिने छ ।

          २१औँ सताब्दीको अर्को बिशेषता के हो भने साम्राज्यवादमा अतिअन्धराष्ट्रवादको उदय हुनु, बिश्वको शक्तिको मापन सैन्य रुपमा गरिनु, आफ्नो अर्थराजनैतिक अभिष्ट पुरा गर्न आर्थिक नाका बन्दीको हतियार प्रयोग गर्नु, शान्ति,मानवअधिकार,आतंकवाद बिरोधि अभियान र लोकतन्त्रको नाममा अनाबश्यक दवाव हस्तक्षेप मानवीय नरसंहार गर्नु, साम्राज्यवादले सवै भन्दा ठुलो खर्च सैन्य क्षेत्रमा गर्नु यी सवै घटनाक्रमले बिश्व फेरि भयानक युद्ध र बिश्व युद्ध तिर जाने देखिन्छ। यी माथि उल्लेखित सवै घटनाक्रमले २१औँ सताब्दी भनेको साम्राज्यवाद र उत्पीडित देश श्रमजिवि सर्वहारा बर्ग बिचको क्रान्तिको युग हुन आएको छ । तात्कालीन अवस्थामा साम्राज्यवाद बलीयो र उत्पीडित श्रमजीवि,सर्वहाराबर्ग कमजोर भएपनि बिस्तारै साम्राज्यवाद कम्जोर बन्दै जाने र उत्पीडित श्रमजीवि सर्वहाराबर्ग बलियो बनेर क्रान्ति सम्पन्न हुनेछ । कम्युनिष्ट शासन ब्यवस्थाको कोण बाट हेर्दा यतिवेला क्युवा, भेनेजुएला, उत्तरकोरिया, भेतनाम र चीन बाहेक अरु देशका ब्यवस्थाहरु सोभिय संघको बिघठन सँगै बिघठित भए । कम्युनिष्ट ब्यवस्था भएका देशहरुमा अर्थ राजनैतिक समस्याहरु देन्छिन त्यसलाई गहन अध्ययनको बिषय बनाएर मात्रै निष्कर्स निकालन उपयुक्त हुने छ । बिश्व साम्राज्यवाद फेरि गम्भीर अन्तरविरोधमा फँस्दै छ । आपसि अन्तरविरोधमा फँसेको बेला बिश्वका क्रान्तिकारि कम्युनिष्टहरुले नयाँ ढंगले क्रान्तिलाई अगाडि बढाउनु पर्छ र कुनै पनि साम्राज्यवादी युद्धलाई क्रान्तिमा बदल्ने गरि आजै देखि तयारिमा जुटनु पर्छ । बिश्व २१ औँ सताब्दिमा पुग्दा बिश्वको मुख्य अन्तरबिरोधहरु निम्न प्रकारका छन । १। साम्राज्यवादी बहु ध्रुर्व बिचको शक्ति संघर्ष । २। साम्राज्यवादी शक्ति र उत्पीडित देश बिचको संघर्ष ३। पुँजीजीवी र उत्पीडित श्रमजिवि सर्वहारा बर्ग बिचको संघर्ष । ४। साम्राज्यवाद र कम्युनिष्ट ब्यवस्था बिचको संघर्ष । आजको मुख्य अन्तरविरोध भनेको साम्राज्यवाद र उत्पीडित देश एवं पुँजीजीवी बर्ग र उत्पीडित श्रमजिवी सर्वहारा बर्ग बिचको अन्तरविरोध बनेको छ । फुटाउ र शासन गर भन्ने साम्राज्यवादी नितिका बिरुद्ध अव बिश्व ब्यापी रुपमा एकताबद्ध बनेर प्रतिरोध गर भन्ने नाराका साथ अगाडि बढने बेला आएको छ ।

लेखक क. मुक्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?