राजनीतिक क्रान्ति सम्पन्न भयो, अब आर्थिक क्रान्ति गर्दै समाजवाद ल्याउने हो’ भनेर हो–हल्ला मच्चाउन थालेको पनि झण्डै दुइ दशक पुग्न
लागेको छ । पहिलो निर्वाचनपछि देखि त बिहान–बेलुकाको मन्त्र पाठ नै यही भएको देखिएको हो । तर, यस बीचमा देश कमजोर, जनता अझ कमजोर र समग्रमा स्थिति नाजुक बनेर गयो
। बाह्य हस्तक्षेप अभूतपूर्बरूपमा बढ्यो । यस्तो अबस्थामा त्यो पनि संसदीय
व्यवस्थाबाट समाजबाद ल्याउने कुरा गर्नु अको एउटा भ्रमजाल सीवाय केही होइन र
हुँदैन । संसारमा कतै पनि संसदीय ब्यवस्थाबाट समाजवाद आएको अनुभव अहिलेसम्म कहीं
छैन । अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक स्थितिबाट
गुज्रिरहेको हाम्रो वर्तमान अर्धसामन्ती सत्ताको चरित्रमा आमूल परिवर्तन नगरी
संसदबाट समाजवाद ल्याउने हावादारी कुरामा विश्वास गर्ने कुनै आधार छैन र कदापि
बन्दैन । सत्ताको वर्ग चरित्रलाई ढाकछोप गर्दै पुरानै सत्ता–प्रवृत्तिलाई काखी च्यापेर समाजवाद आउँदैन
भन्ने कुरा राजनीतिमा सामान्य चासो र चाख राख्ने जसले पनि बुझ्न सक्ने कुरा हो ।
तर, सत्तामा खाइखेली गरिरहेका र गर्दै आएका
कांग्रेस र कम्यूनिस्ट नाम गरेका दलले २०६२।६३ को राजनीतिक परिवर्तनपछि जोडतोडले
उठाइरहेको कुरा नै यही कथित समाजबाद हो । किनकि अब परिचित थोत्रा कुरा गरेर
सत्तामा टिकिरहन र जनतामा बिकिरहन सकिँदैन भन्ने कुरा शायद यी दलले महसुस गरेका
होलान् र समाजबादको कुरा गर्न बाध्य भएका होलान् । त्यो भन्दा बाहेक अरू कुरा
पाखण्ड मात्रै हुन् भनेर छर्लंग बुझे हुन्छ ।
त्यसमा पनि
नेपालको अर्थ–सामाजिक आधारमा राजनीतिको हिसाबकिताब गर्ने हो
भने पनि यो संसदीय ब्यबस्था अत्यन्तै प्रगतिशील सुधारको बाटोमा कथंकदाचित
इमान्दारीपूर्वक लाग्न सक्यो भने (अहिलेसम्मको चिन्तन, चरित्र र व्यवहार हेर्दा त त्यो कुरा पनि ‘मृग मरीचिका’ मात्र नै देखा पर्दछ) न्यूनतम रुपमा लोक कल्याणकारी राज्यको दिशासम्म यसले लिन
सक्ने झिनो आशा गर्न सकिएला । तर, पर निर्भर, अवसरवादी र संदिग्ध चरित्रको अपवित्र गठबन्धन
गर्ने प्रवृत्तिको वर्तमान राजनीतिक नेतृत्वले यो बाटो लिन सक्ने आशा पनि ‘आकाशको फल आँखातरी मर’ जस्तै हुन जाने हालसम्मको अनुभवले प्रष्ट
पारेको र पारिरहेको छ ।
हिजो जुन कारणले
देश र जनता कमजोर भएका थिए, राष्ट्रले विकासको सही दिशा र गति लिन र पक्रिन
सकेको थिएन, मूलतः तिनै कारण आज पनि जबर्जस्तरूपमा विद्यमान
छन् । ती अन्तर्विरोधहरू हल भएका छैनन् । केवल जन्मजात गद्दी नसीन हुने वंश
परम्परागत राजा मात्र पहिलेजस्तो गद्दीमा छैनन् । तर, अरु प्रायः सबै कुरा उसैगरी राजतन्त्रमा जस्तै
मुकुट नलाएका निर्वाचित मानिएका नवराजाले चलाइरहेका र चलेका छन् । जनताले देखेको र
भोगेको अहिलेसम्मको स्थिति यही हो देशको अधिकांश महत्त्वपूर्ण स्रोतसाधनको स्वामित्व आज पनि मुठ्ठीभर सानो
वर्गको हातमा नै केन्द्रीत अर्थात् करीब २० प्रतिशतको हातमा नै रहेको छ । तर, ८० प्रतिशत जनताले केवल २० प्रतिशत स्रोतसाधनबाटै
मात्र गुजारा चलाउनुपर्ने र जीवन निर्वाह गर्नुपर्ने दयनीय र दारूण स्थिति
विद्यमान छ । गरीबीको मूल कारण नै वास्तवमा यही हो । उच्च प्राथमिकता दिइएको
भनिएको कृषि क्षेत्रले उन्नति गर्न नसकेको गए गुज्रेको अबस्थाबाट गुज्रिरहेकाको
मूल कारण नै यही हो । यो स्थितिमा आमूल परिवर्तन नल्याइकन जतिसुकै पटक गरीबी
निवारण दिवस मनाएपनि, कृषिको उन्नतिको कुरा दोहोर्याए पनि आम जनतालाई
कुनै फरक पर्दैन र परेको छैन । उनीहरू बिदेश जान बिवश छन् । अन्य बिकल्पको बिकासको अभावमा मुलुकको श्रम
भारको ठूलो हिंसा अहिले पनि कृषि क्षेत्रमै केन्द्रीत छ । गैरकृषि क्षेत्रको
हिस्सा अझै पनि अत्यन्तै सानो र सीमित छ । यति मात्रै होइन, कृषि क्षेत्र उपेक्षित र तिरष्कृत भएकाले यसको
उत्पादकत्व र उत्पादन बढ्न सकेको छैन र कृषि प्रधान देश भएर पनि खर्बौ रुपैयाँको
अन्न लगायतका खाद्य वस्तुहरू बाहिरबाटै आपूर्ति गर्नुपर्ने स्थिति एकातिर छ भने
अर्कोतिर रोजगारीको अभावमा हाम्रो ठूलो युवाशक्ति रोजगारीका निमित्त दुबई, कतार, साउदी अरब, बहराइन लगायतका खाडीका विभिन्न देशहरू, मलेसिया, कोरिया र विश्वका अन्य देशमा भौतारिन बाध्य छ । अनेक अपमान र पीडा सहँदै उनीहरूले दुःखले श्रम
गरेर पठाएको विप्रेषण (रेमिट्यान्स) पनि विभिन्न वस्तुको आयात गर्न देशबाट
बाहिरिने नै अवस्था रहिरहेको छ । यसरी सहर्ष स्वीकारिएको र करीब २८ प्रतिशत
राष्ट्रिय आम्दानी दिने कृषिपछि सबैभन्दा ठूलो स्रोत मानिएको वैदेशिक रोजगारीले
पनि ‘रातभरि करायो दक्षिणा हरायो’कै स्थिति व्यहोर्न परिरहेको स्थिति विद्यमान छ
। नेपाल–भारतका लागि विप्रेषण पठाउने या प्रदान गर्ने
सातौं स्रोत भएको भारतको तथ्याङ्कले पनि धेरै कुरा स्पष्ट पार्दछ । भू–धरातलीय विविधताले गर्दा विश्वमै ठूलो जैविक विविधताले भरिपूर्ण, जलस्रोतको अत्याधिक धनी र नयाँ (यङ्गेस्ट
माउन्टेनियस) पर्वतीय धरातलका कारणले अनेक रत्नजन्य बहुमूल्य खनिज पदार्थको पनि
अत्याधिक ठूलो मात्रा रहेको र यूरेनियम जस्तो बहुमूल्य धातुको समेत खानी रहेकाले
गर्दा हाम्रो देश द्रूतगतिमा, किफायती ढंगले, चाडोभन्दा चाँडो विकास हुन सक्ने अनेक
महत्वपूर्ण सम्भावना विद्यमान छन् । तर, तिनको खोजी, सम्वर्ध्दन, संरक्षण र परिचालन गर्ने राज्यको नीति नै भएन र गरिएन ।
अहिलेसम्म विकास
प्रयासले तिनलाई छुनसम्म पनि सकेन या छुन नै चाहेन या पाएन । त्यसले गर्दा
प्राकृतिक मौसमी खेतीपातीमा निर्भर रहेको हाम्रो देश अनुकूल मौसम हुँदा बढी
उत्पादन हुने र खुशी हुने तथा प्रतिकूल मौसम हुँदा हाहाकार मच्चिनेजस्तो स्थितिमा
टासिन बाध्य बन्दै आयो । अनि, हिजो थोरै जनसंख्या भएको बेला खाद्यान्न निर्यात गर्ने देशले धेरै जनसंख्या
बृद्धि भएर दोब्बर हुँदा निर्यातको साटो आयात गर्नुपर्ने स्थिति उत्पन्न भयो ।
किनकि, जनसंख्या बृद्धिको अनुपातमा आवश्यक खाद्यान्न
बालीनालीको उत्पादन हुन सकेन र सक्ने बनाउनेतिर आवश्यक ध्यान राज्य र सरकारले
दिएनन् । वास्तवमा कृषि, उद्योग, बन्द ब्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, वन, वातावरण र यातायात लगायतका प्रायः सबै क्षेत्रको सन्तुलित, सुदृढ र दीगो विकासका निमित्त सबैभन्दा आवश्यक
ऊर्जा र विद्युत्को आवश्यकता छ ।त्यसको निमित्त हाम्रो देशको जलस्रोत हाम्रो
सबैभन्दा भरपर्दो, दीगो र विश्वसनीय स्रोत हो । तर, यसको राष्ट्रिय हितमा सदुपयोग गरेर नेपालको
कायापलट गर्ने दिशा लिनुभन्दा पनि नदी नालाहरू भारत सरकार र केही कम्पनीलाई
सुम्पिएर पैसा कमाउन सकिन्छ भन्ने अविश्वसनीय र थोत्रा गफ दिएको दशकौं बित्यो । तर, त्यो खेर गइरहेको जलस्रोत नेपालको हितमा
प्रयुक्त गर्ने कुनै ठोस, प्रभावकारी र परिणामदायी परियोजना परिचालन
गर्नेतिर कुनै गम्भीर ध्यान दिइएन । बरु ती नदी नालाबाट कमिशनको जोहो गर्ने निहीत
उद्देश्यले नदीनालाको अपारदर्शी, अविश्वनीय र अवाञ्छित सन्धिसम्झौता गर्ने र किचलो निकाल्ने काम मात्रै गरिँदै
आयो । त्यसको परिणाम नेपालमा जलविद्युत्को उत्पादन एकातिर १ हजार मेगावाट पनि
पुग्न सकेको छैन भने सिँचाइ पनि खेतीयोग्य जमिनको केवल २० प्रतिशतभन्दा माथि हुन
सकिरहेको छैन ।
निकै ठूलो मानिएको
राजनीतिक परिवर्तनपछि सत्तामा आएका सबै रङ्गरूपका सरकारहरूले पनि देशलाई उही गलत र
पुरानै परम्पराबाट जोडतोडले अघि बढाउने काम गरेपछि समस्या झन् जटिल भएर गएको छ ।
नेपाली जनता तथा राष्ट्रको हितमा यी समस्याको समाधान हुने कुरा झन्–झन् टाढा हुँदै गएको छ । अबाञ्छित बाह्य
हस्तक्षेप अत्याधिक बढेर गएको छ । नेपाल निरन्तर दीन–हीन रहिरहनु र समृद्धिको मूलबाटोमा अघि बढ्न
नसक्नुको मूल कारण नै यही यथास्थितिवादी चिन्तन,अराष्ट्रिय र संदिग्ध चरित्र हो । अनि यस्तो स्थितिमा आमूल रुपमा सुधार
ल्याउने, आम जनतालाई जगैदेखि उठाउन स्वशासनलाई व्यापक
अभिबृद्धि गरी जनतालाई विकास निर्माणप्रति गाउँगाउँदेखि सचेत, सक्रिय र संगठित किसिमले सञ्चालन हुन सक्ने
संघीय संरचना नबनाउने हो भने विकास र समृद्धि तथा समाजवादको हो–हल्ला पनि राजा महेन्द्रले सामन्ती अधिनायकवादी
पञ्चायती व्यवस्थाबाटै ‘शोषणरहीत समाजको सिर्जना’ अर्थात् ‘समाजवाद’ ल्याउने गुलियो कुरा गरेभन्दा केही फरक हुने
छैन । यसरी जनता र देशलाइ एउटा पाखण्डदेखि अर्काे पाखण्डसम्म अल्मल्याउने र जिल्याउने
कुरा मात्र हुन जानेछ । हिजोकै पञ्चायती
शैलीको यो प्रपञ्च चलाएर जनता र देशलाई फेरि पनि धोका दिने र अल्मल्याउने काम
मात्रै हुन्छ । यसले न राष्ट्रिय एकता, राष्ट्रियता न राष्ट्रिय सार्वभौमिकता र स्वाधीनता नै सबल तुल्याउन मद्दत
गर्दछ । न जनजीबिका र जनतन्त्रका समस्या नै सही किसिसमले हल गर्दछ । यस्तो
स्थितिमा समाजवादको खोक्रो राग अलाप्नुको कुनै अर्थ हुँदैन । अनि, ‘अर्थ न बर्थ गोबिन्द गाई, टाउको दुःखेको औषधी नाइटोमा लाई’ भन्ने उखान मात्र फेरि पनि चरितार्थ हुनेछ ।
ज्ञात रहोस् ! यस्तो स्थितिले देश र जनता जोगाउन र अघ बढाउन कीमार्थ सक्दैन ।
समाजबाद त झन बीरबलको खिचडी सीवाय अरू केही हुने छैन नै ।
लोकनारायण सुबेदी माक्र्सबादि बौद्धिक ।