कर्जाको ब्याजदर वृद्धिले आन्दोलनको तयारीमा उद्योगी व्यवसायी ।

Oct Thu 2022 08:53:55

कर्जाको ब्याजदर वृद्धिले आन्दोलनको तयारीमा उद्योगी व्यवसायी ।

कर्जाको ब्याजदर निरन्तर बढ्दै गएपछि उद्योगी/व्यवसायी रुष्ट बनेका छन् । अर्थतन्त्रलाई संकटमा जानबाट रोक्ने नाममा वाणिज्य बैंकहरूले निरन्तर कर्जाको ब्याज बढिरहेको छ ।​ फलस्वरूपः पछिल्लो २ वर्षको अवधिमा सतप्रतिशतसम्म कर्जाको ब्याजदर बढेको छ । यससँगै, सस्तोमा ऋण लिएर उद्योग व्यवसायमा लगानी गरेका व्यवसायी रुष्ट बनेका हुन् । वाणिज्य बैंकहरूको समूह नेपाल बैंकर्स एसोसिएसनले कात्तिक महिनादेखि कर्जाको ब्याजदर करिब १८ प्रतिशतसम्म पुर्याउने निर्णय गरिसकेको छ । यसका लागि संघले बेस रेट कम्तिमा ०.५ प्रतिशतले बढाउने र प्रिमियम पनि बढाउने निर्णय निर्णय गरेको छ ।

यससँगै, कात्तिक महिनादेखि कर्जाको ब्याजदर बढेर १८ प्रतिशत वा त्योभन्दा माथि पुग्छ । जसले गर्दा सस्तोमा ऋण लिएर लगानी गरेका उद्योगी/व्यवसायी मर्कामा परेका हुन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल ब्याजदरमा भइरहेको निरन्तर वृद्धिले समग्र उद्योग व्यवसाय धरासायी बन्ने बताउँछन् । उनका अनुसार कर्जामा बढेको ब्याजदरले उपभोक्ता माझ महँगीको मार झनै थपिने र देशको अर्थतन्त्रनै संकुचनमा आउने जोखिम बढेर जान्छ । यही विषय प्रष्ट्याउँदै हामीले अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई जानकारी दिएका छौं,’ मल्लले भने, ‘सरकार र राष्ट्र बैंकले ब्याजदरमा अचाक्ली भइरहेको वृद्धिलाई सम्बोधन गर्नुपर्छ ।हाल वाणिज्य बैंकहरूले कर्जाको बेस रेट नै ७ प्रतिशत पुर्याइसकेका छन् । यस्तै, ४ प्रतिशत हाराहारी रहेको स्प्रेड दरमाथि ६ देखि ७ प्रतिशतसम्म प्रिमियम थपिँदा कर्जाको ब्याजदर १८ प्रतिशतभन्दा माथि पुग्न सक्छ । यसबाट अमेरिकी डलर र पेट्रोलियम पदार्थको मूल्यवृद्धिले चपेटामा परेको नेपालको अर्थतन्त्र नै समस्यामा पर्ने मल्लको भनाइ छ ।

नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भिम घिमिरे समेत बैंकहरूले आफूखुसी बढाइरहेको ब्याजदरको प्रभाव समग्र उद्योग क्षेत्रमा पर्ने बताउँछन् । बैंकहरूले एकाधिकार कायम गर्दै मनपरी ब्याज बढाउन थाले,’ रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘यसमा नेपाल राष्ट्र बैंकले खुलमखुला संरक्षण गरिरहेको छ । कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुगेपछि यसबाट उत्पादनमूलक उद्योग, कृषि, पर्यटन र साना तथा मझौला व्यवसायी मारमा पर्ने घिमिरेको भनाइ छ । २ वर्षअघि पर्याप्त तरलता हुँदा बैंकहरू आँफैले आएर ६ देखि ७ प्रतिशतसम्म ब्याजदरमा दिएको ऋणको ब्याज अहिले बढेर १८ प्रतिशत पुगेको छ,’ घिमिरे भन्छन्, ‘उत्पादनमूलक उद्योगमा ब्याजदर एकल अंकभन्दा माथि पुगेपछि समग्र औद्योगिक उत्पादन नै खुम्चिन्छ ।

उनले बैंकहरूले बढाइरहेको ब्याजदरको विरुद्धमा तिहारपछि आन्दोलन गर्ने तयारी आफूहरूले गरिरहेको बताए । तिहार अघि नै आन्दोलन गर्ने तयारीमा थियौं,’ घिमिरेले भने, ‘अमेरिका भ्रमणमा रहनुभएका गभर्नरले फोन गरेर तिहारसम्म कुर्न आग्रह गरेपछि तत्काललाई आन्दोलन स्थगित गरेका हौं । गर्भनर नेपाल फर्केपछि ब्याजदरको विषयमा बैठक बस्ने र सहमती नजुटे संयुक्तरूपमा आन्दोलनमा जाने तयारीमा पूर्वका व्यवसायी छन् । देशको नीति निर्माणदेखि बैंक ब्याजदरसम्ममा हस्तक्षेप गर्न सक्ने पूर्वका व्यवसायी एकजुट भएर आन्दोलनमा जान लागेका हुन् ।

उद्योग परिसंघ, प्रदेश १, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघ एकजुट भएर आन्दोलनमा जाने तयारीमा रहेको संगठनका अध्यक्ष सुयेस प्याकुरेलले बताए । तिहारअघि नै आन्दोलनको तयारीमा थियौं,’ उनले भने, ‘तर, तिहारपछिसम्म पर्खेका छौं । त्यसपछि सम्बोधन भएन भने चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम गर्छौं । २ वर्षअघि सस्तोमा लिएको ऋणको ब्याज अहिले बढेर १८ प्रतिशत पुगिसक्यो । ऋणीले कर्जा लिँदा बढीमा १५ प्रतिशतसम्म ब्याज बढ्ने आँकलन गरेका हुन्छन्,’ प्याकुरेलले भने, ‘सोहीअनुसार लगानीको योजना बनेको हुन्छ । सस्तो ब्याजमा लिएको कर्जाको ब्याज कसरी महँगोमा तिर्नु ?’ 

बैंकहरूले ब्याज बढाउनलाई सेवा शूल्क, प्रिमियम, बेस रेट र स्प्रेड दर लगातार बढाइरहेको उनको भनाई छ । र, बैंकहरूको यो अभियानमा राष्ट्र बैंकले समेत साथ दिएको प्याकुरेलको भनाइ छ । राष्ट्र बैंकसँगको बैठकमा उत्पादनमूलक उद्योगहरूलाई बेसरेटमा १/२ प्रतिशत प्रिमियम जोडेर कर्जा उपलब्ध गराउने व्यवस्था गरिनुपर्ने उद्योगीहरुको भनाइ छ । यस्तै, राष्ट्र बैंकले वाणिज्य बैँकहरूसँगको समन्वयमा ब्याजदरको समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्नुपर्ने उनीहरूको भनाइ छ । यदी यो बाहेक अन्य विषयमा छलफल गर्ने गरी राष्ट्र बैंकले तयारी गरेमा तिहार लगत्तै आन्दोलनमा उत्रने पूर्वका व्यवसायीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?