औद्योगिक घराना पञ्चकन्या ग्रुप सञ्चालनमा आएको ५० वर्ष पूरा भएको छ । ग्रुपका संस्थापक प्रेमबहादुर श्रेष्ठले इलामको फिक्कलमा किराना पसलबाट सुरु गरेको व्यवसाय अहिले ट्रेडिङ, हाउजिङ, कन्स्ट्रक्सन, जलविद्युत् जस्ता क्षेत्रमा संलग्न छ । यो ग्रुपको कार्यकारी निर्देशकको रूपमा तेस्रो पुस्ताका उज्ज्वलकुमार श्रेष्ठले नेतृत्व गरिरहेका छन् ।
–पञ्चकन्या ग्रुपले स्थापनाको ५० वर्षको विरासतलाई कसरी सम्झनु हुन्छ ?
पाँच दशक धेरै लामो समय हो । पञ्चकन्या स्थापनाको जग नै विश्वासमा अडिएको छ । हामीले सुरुका दिनदेखि गरेको कामबाट विश्वास दिलाउन सकेकाले नै धेरै कुरा फैलाउन सकेका छौँ । हामी यो बीचमा उद्योगका साथै जलविद्युत्, व्यापार, शिक्षाजस्ता धेरै क्षेत्रमा हामीले काम गरिरहेका छौँ ।
–पञ्चकन्या ग्रुप स्थापनको पृष्ठभूमिका बारेमा बताइदिनुस् न ?
पञ्चकन्याको पृष्ठभूमि धेरै नै रोचक छ । इलामको फिक्कलमा पञ्चकन्या मन्दिर छ । हाम्रो हजुरबुवा प्रेमबहादुर श्रेष्ठ राजनीतिमा आबद्ध हुनुहुन्थ्यो । काँग्रेस नेता बीपी कोइरालाका निकट रहेर काम गर्नुभएको थियो । तर उहाँले आफ्नो परिवारको पालनपोषण गर्नुपर्ने दायित्व बढ्दै गएपछि राजनीति छोड्नुभयो । त्यसपछि उहाँले फिक्कलमा झरेर किराना दोकान सुरु गर्नुभएको थियो । त्यो पसलबाट कमाउँदै गएपछि उहाँले झापा झरेर काठको व्यापार सुरु गर्नुभयो । उहाँले खासगरी भारतमा काठ निर्यात गरेर कमाउनुभएको थियो । त्यो व्यापारबाट पनि उहाँले टन्न पैसा कमाउनुभयो । “पैसा कमाएको साहु भन्थे, बोरामा पैसा बोकेर हिँड्थेँ” भनेर बेलाबेलामा उहाँले ठट्टा गरेर भन्नु पनि हुन्छ ।
त्यसपछि हजुरबुवाले झापाको विर्तामोडमा इँटाभट्टा सुरु गर्नुभयो । त्यो बेला उहाँले झापामा ६० बिघा जमिन लिनुभएको रहेछ । त्यसलाई घेर्नुपर्ने भयो । जमिन घेर्नका लागि इँटा चाहियो । त्यो बेला काठमाडौँमा मात्रै इँटा पाइने रहेछ । अनि हजुरबुवाले झापामै इँटाभट्टा खोल्नुभएछ । हाम्रो ग्रुपको पहिलो उद्योग नै त्यही इँटाभट्टा हो । अहिले पनि हामीले त्यो भट्टाको इँटा राखेका छौँ । त्यसमा पीकेआरएम (पञ्चकन्या राइस मिल) लेखिएको रहेछ । त्यो इँटा बजारमा सायद धेरै बिक्री भएन । त्यसपछि उहाँले झापामा चामल मिल स्थापना गर्नुभयो । त्यो मिलबाट बङ्गलादेश, भुटान र भारतमा उहाँले चामल निर्यात गर्ने गर्नुभएको थियो ।
झापामा उहाँको व्यवसाय विस्तार भइरहेको थियो । उहाँलाई त्यो क्षेत्रमा आफ्नो पहिचान बनाइसकेको भए पनि नेपालभर फैलाउने सोच रहेछ । त्यही बेलामा मेरो बुवा (ध्रुवकुमार श्रेष्ठ) को पनि विवाह गर्ने बेला भएको थियो । बुवाको विवाह भयो । मेरो आमातिरको हजुरबुवा (नगेन्द्रप्रसाद श्रेष्ठ) राजा वीरेन्द्रको सचिव हुनुहुन्थ्यो । दरबारसँगको त्यही नाताका कारण हजुरबुवाले उद्योगको एउटा लाइसेन्स पाउनुभयो । किनभने त्यतिबेला नेपालमा लाइसेन्स राज थियो । लाइसेन्स पाएपछि भैरहवाको कोटिहवामा पञ्चकन्या प्लास्टिक, पञ्चकन्या आइरन र पञ्चकन्या स्टिलको उद्योग स्थापना भयो । त्यहाँबाट सुरु भएको पञ्चकन्या ग्रुपको औद्योगिक यात्रामा ५, ६ प्रकारका उद्योग स्थापना भइसकको छ भने १२ देखि १५ प्रकारका फरक फरक वस्तुहरू उत्पादन गर्ने गरेका छौँ ।
–यो ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ त्यो बेला नै डाइनामिक व्यवसायी हुनुहुँदो रहेछ ?
आजको दिनमा पनि उहाँसँग जस्तो आँट छ, त्यति आँट त हामी सबैको मिलाएर पनि छैन । आज पनि उहाँसँग विश्व बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य, भारतको राजनीति, चीनको राजनीति जस्ता विषयमा जति ज्ञान छ, त्यति ज्ञान हामीसँग छैन । उहाँ नै हाम्रो प्रोत्साहनको स्रोत हो । उहाँसँग भेट हुँदा जहिले पनि व्यापारकै कुरा हुन्छ । आज ९१ वर्षको उमेरमा पनि उहाँ त्यतिकै सक्रिय देखिनुहुन्छ ।
पञ्चकन्या ग्रुपभित्र र पार्टनरसिपको व्यवसायमा गरी हामीले प्रत्यक्ष रूपमा २ हजार जनालाई रोजगारी दिएका छौँ । यसमध्ये काठमाडौँ उपत्यकाभित्र करिब ४ सय जनालाई रोजगारी दिइएको छ ।
–तपाईं अहिले पञ्चकन्या ग्रुपको कार्यकारी निर्देशक हुनुहुन्छ र तेस्रो पुस्ताको प्रतिनिधित्व गरिरहनुभएको छ, परिवारलाई एक ढिक्का राख्न पनि तपाईंका हजुरबुवाकै अहम् भूमिका हो ?
संयुक्त व्यवसाय र पारिवारिक व्यवसाय संसारमै सबैभन्दा ठूलो व्यवसाय मानिन्छ । धेरैजसो व्यापारहरू पारिवारिक व्यवसाय वा संयुक्त व्यवसाय हुन्छन् । पञ्चकन्या समूह एउटा संयुक्त पारिवारिक व्यवसाय हो । यसमा जो व्यक्ति सबैभन्दा सिनियर हुन्छ, जो फाउन्डर हुन्छ, त्यो व्यक्तिसँग क्लियर भिजन भएपछि सबैले काम गर्नुपर्ने, लगनशील हुनुपर्ने, विश्वासमा काम गर्नुपर्ने हुन्छ । अनुशासनको वातावरण बनाएपछि सबै जना त्यो अनुशासनमा बाँधिनुपर्छ । घरको मूली नै दायाँबायाँ गर्ने भएपछि पारिवारिक व्यवसाय चल्न गाह्रो हुन्छ ।
हाम्रो घरमा घरायसीभन्दा बढी व्यापारिक कुराकानी हुन्छन् । व्यापारिक कुरामा बोलेका कुरा पुर्याउनै पर्यो, आफ्नो कुर्सी काम गरेर कमाउनुपर्यो । मैले पनि मार्केटिङ म्यानेजरबाट यहाँ काम सुरु गरेको हो । मेरो तलब १० हजार रूपैयाँभन्दा पनि कम थियो । आजको दिनमा पनि मेरोभन्दा कर्मचारीको तलब धेरै छ । मैले के भन्न खोजेको हो भने अघिल्लो पुस्ताले गरेको कामअनुसार नै पछिल्लो पुस्ता पनि चल्ने हो ।