नेपाल–धनकुटा छथर जोरपाटी गाउँपालिका २ का लाक्पा शेर्पालाई अघिल्लो वर्ष यही सिजनमा बन्दा बिक्री गर्न भ्याइनभ्याई हुन्थ्यो । बारीमै पुगेर व्यापारी र खरिदकर्ताहरू मोलमोलाइ गर्थे । तर, यस वर्ष उनको बारीमा न त व्यापारीहरू नै पुगे, न कौडीको मूल्यमै बन्दा बिक्री गर्न सके । शेर्पाको १२ रोपनी क्षेत्रफलमा लगाएको ४० टन बन्दा बिक्री नभएपछि नष्ट भएको छ । मल बीउसहित खेती गर्दाको अढाई लाख रुपैयाँ लागतसमेत डुबेको बताए । शेर्पाजस्तै यस वर्ष अधिकांश तरकारी कृषकको अवस्था उस्तै छ । गत वर्ष यहि सिजनमा प्रतिकिलो २० रुपैयाँमा बिक्री भएको बन्दा यो वर्ष ३ रुपैयाँमा पनि बिक्री नभएको कृषक बताउँछन् । विगत वर्षमा नेपालका मुख्य बजारसहित भारतका विभिन्न प्रान्तमा यहाँको तरकारी पुग्ने गर्थ्यो । मुलुकमै बेमौसमी तरकारीको उत्पादनमा अब्बल दह्रिएको त्यस क्षेत्रका कृषक यति बेला उत्पादित तरकारी बिक्री नभएपछि चिन्तित बनेका छन् ।