नेपाल–काठमाडौं देशभर बढ्दो गर्मी तत्काल रोकिने संकेत नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज विशेष बुलेटिन सार्वजनिक गर्दै तराईका भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझावसमेत दिएको छ । महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने हुँदा तराई मधेशका जिल्लाहरुमा तातो हावा तथा लूको सम्भावना छ । त्यसैले त्यसबाट बच्न सतर्कता अपनाउन जरुरी छ । महाशाखाका मौसमविद अधिकारीका अनुसार हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन गर्दा तत्काल मनसुन भित्रिने सम्भावना छैन र तराई, पहाड तथा खोँचहरुमा समेत अझै तापक्रम वृद्धि हुने पूर्वानुमान छ ।