काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले (राप्रपा) बिहीबार हुने राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने र निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ । राप्रपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपा केन्द्रीय समितिमा राष्ट्रपति निर्वाचनमा भोट हाल्न नहुने मत बलियो भएपछि यो निर्णय आएको जानकारहरु बताउछन् । राप्रपाले राजसंस्था पुन:स्थापना र हिन्दुराज्यको माग गर्दै आएको भएपनी सम्सदवादी दल एमाले सँग चुनावी तालमेल गरेको थीयो भने एमालेकै सरसहयोगमा प्रचण्डको नेतृत्वमा सरकारमा समेत सहभागी भएको थियो । यसअघि २०७४ सालमा भएको राष्ट्रपति निर्वाचनमा राप्रपाले एमाले उम्मेदवार विद्यादेवी भण्डारीलाई मत हालेको थियो । त्यसबेला संघीय संसद्मा राप्रपाका वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन एक जनामात्रै सांसद थिए । नयाँ राष्ट्रपति चयनका लागि बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम छ । राष्ट्रपति पदका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार छन् । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाहरूका सांसद मतदाता हुने संवैधानिक व्यवस्था छ । राष्ट्रपति निर्वाचनका लागि मतदान संघीय संसद् भवन नयाँ बानेश्वरमा हुनेछ । राप्रपाको मतभार २ हजार ४५० रहेको छ । संघमा १४ र प्रदेशमा २८ सांसद छन् ।