काठमाडौँ — सरकारले पुस २७ लाई राष्ट्रिय एकता दिवस (पृथ्वी जयन्ती) र फागुन १ लाई जनयुद्ध दिवस घोषणा गरेर वार्षिक क्यालेन्डर स्वीकृत गरेको छ । मन्त्रिपरिषद् प्रशासनिक समितिको केही दिनअघि बसेको बैठकले अहिले कायम रहेका धार्मिक, सांस्कृतिक, राजनीतिक दिवस, पर्वलगायत बिदालाई कायम गर्दै २०८० को सरकारी क्यालेन्डरमा पृथ्वी जयन्ती र जनयुद्ध दिवस थप गरेको हो । गृह मन्त्रालयबाट गएको फाइलमा फागुन १ लाई जनयुद्ध दिवसका रूपमा समेट्नेबारे केही उल्लेख गरिएको थिएन । मन्त्रिपरिषद्मा पेस भएको फाइल थप अध्ययन गरेर निर्णय लिन भन्दै मन्त्रिपरिषद्कै प्रशासनिक समितिमा पठाइएको थियो । समितिको संयोजक उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठलाई तोकिएको छ । समितिको सचिवमा प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डे छन् । पाण्डेकै संयोजकत्वमा गृह र पर्यटन मन्त्रालयका सचिवसहितको टोलीले पुस २७ लाई राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती र फागुन १ लाई जनयुद्ध दिवसमा समेटेर वार्षिक बिदाबारे टुंगो लगाएको थियो । सचिवको संयन्त्रबाट तयार पारिएको प्रतिवेदन उपप्रधानमन्त्री श्रेष्ठले प्रशासन समितिको सचिवालयमार्फत स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयमा पठाउन निर्देशन दिए । सोहीअनुसार सचिव पाण्डेले प्रतिवेदन मुख्यसचिव शंकरदास बैरागीलाई पठाए । बैरागीले जस्ताको तस्तै प्रतिवेदन कार्यान्वयनमा लैजाने गरी सदर गरेर फाइल गृहमा पठाएका हुन् । सरकारको यो निर्णयसँगै अब फागुन १ गते ‘जनयुद्ध दिवस’ का रूपमा संस्थागत भएको छ । सरकारले २०८० का लागि वार्षिक क्यालेन्डरमा पुस २७ र फागुन १ का दिन सार्वजनिक बिदा थप गरेर बाँकी अघिल्लै वर्षका बिदालाई निरन्तरता दिएको हो ।