राजविराज — कोसी नदीको मध्यभागमा रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा बुधबार साँझ भारतीयहरु प्रवेश गरी गोली प्रहार गरेका छन् । ३०–४० जनाको समूहमा आएका भारतीय नागरिकले ५–६ राउन्ड गोली फायरिङ गरेको सुरक्षा स्रोतले जनाएको छ । छर्रा लागेर स्थानीय महेन्द्र पासमान घाइते भएका छन् । उनको घुँडामा छर्रा लागेको छ । मध्य कोसीमा रहेको गोबरगाढाबस्ती भारतीय सीमासित जोडिएको छ । सो बस्तीका गाईभैंसी चोरी गरी भारततर्फ लाने गरेकोमा पछिल्लो समय स्थानीय बिन्देश्वर रामको भैँसी चोरी भएको घटनामा स्थानीय बासिन्दाहरुले एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिई गोबरगाढामा राखेका थिए । ती भारतीय नागरिकलाई छुटाउन ३०–४० जनाको समूहमा आएका भारतीय नागरिकहरुले बस्तीमा फायरिङ गर्दै स्थानीयलाई कुटपिटसमेत गरेकाछन । बन्दुक र घरेलु हातहतियारसहित आएका भारतीयहरुले भैँसी चोरेको आरोपमा गोबरगाढावासीले नियन्त्रणमा राखेकालाई लगेको अधीकारीहरुले बताए ।