धनुषाको सपहीस्थित सीटीईभीटी अन्तर्गतको विपी स्मृति बहुप्राविधिक शिक्षलयमा अध्ययनरत विशेष छात्रवृत्तिका विद्यार्थीहरु आन्दोलित भएका छन् । मासिक रुपमा पाउँदै आएको निर्वाह भत्ता महिनौंदेखि नपाएको भन्दै उनीहरु तीन दिनदेखि आन्दोलनमा उत्रेका हुन् । मंगलबार पनि उनीहरु शिक्षालय तथा सीटीईभीटीविरुद्ध प्रदर्शन गरका छन् । उनीहरु शिक्षालयको प्रशासन फाँटमा अनिश्चितकालीन तालाबन्दी समेत गरेका हुन् । ४० विद्यार्थीलाई राज्यले मासिक रुपमा दिँदै आएको विशेष छात्रवृति निर्वाह भत्ता गत असारदेखि नपाएकाले खानपिनमा समस्या भएकोले बाध्य भएर आन्दोलनमा उत्रेको विद्यार्थीहरुले बताए ।
विशेष छात्रवृत्तिमा तीनवर्षे सिभिल इन्जिनियरिङग कोष अन्तर्गत २०७५ देखि ४० विद्यार्थी अध्ययनरत छन् । कोरोना महामारीको कारण समयमै पढाइ र परीक्षा नहुँदा उनीहरुको पठनपाठन अवधि लम्बिएको छ । निर्वाह भत्ता मासिक ३ हजार ५ सय र पोशाक वापत वार्षिक २ हजार ५ सय विशेष छात्रवृत्तिका ती विद्यार्थीहरुले पाउने गरेका थिए । विशेष छात्रवृत्ति निर्वाह भत्ताको समय ३६ महिना सकिए पनि उनीहरुको पढाइ भने जारी नै छ । जसको कारण गत असार महिनादेखि वञ्चित छन् । सिभिल इन्जिनियर पठन पाठन अवधिभरको जिम्मा र निर्वाह भत्ता राज्यले जिम्मा लिएको तर पठनपाठन जारी रहेकै अवस्थामा निर्वाह भत्ताबाट महिनौदेखि बञ्चित गर्दा आफूहरु समस्यामा परेको विद्यार्थीहरुको भनाई छ ।