वीरगञ्ज–भारतीय राजदूत नविन श्रीवास्तव वीरगञ्ज आउने
कार्यक्रम आज स्थगित भएको छ । बिहीबार वीरगञ्जमा महात्मा गान्धी (एमजी) सडक नामकरण
कार्यक्रममा सहभागी हुन उनी आउने तय भएको थियो । भारतीय महावाणिज्य दूतावासले मौसममा आएको परिवर्तनले भारतीय राजदूत वीरगञ्ज आउने
कार्यक्रम स्थगित भएको बताए पनि त्यसको भित्री कारण भने अर्कै रहेको छ । वीरगञ्ज महानगरले
वडा नम्बर १४ स्थित वीरगञ्ज चिनी कारखाना आवास क्षेत्रदेखि पूर्व बाइपाससम्म
जोड्ने पिपरा लिंकरोड सडक खण्डको नाम परिवर्तन गरेर महात्मा गान्धीको नामबाट एमजी
रोड राख्न लागेको छ ।
सडकको नाम परिवर्तन गर्न खोजेपछि टोलवासी स्थानीयले विरोध जनाएका थिए भने राजनीतिक दलहरुले पनि त्यसको समर्थन गर्न नसकिने बताएका थिए । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव र राजदूत श्रीवास्तवले संयुक्त रुपमा सडक नामांकरण गर्ने कार्यक्रम तय गरिएको थियो । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वदलीय बैठकमा सबै राजनीतिक दलले सडकको नामकरण एमजी रोड गर्न लागेको विषयमा विरोध जनाएका थिए । पिपरा लिंक रोडको नाम एमजी पथ नामकरण नगर्न माग गर्दै स्थानीय बासिन्दाले बुधबार बिहान विरोध प्रदर्शन गरेका थिए । स्वागत गेट र उद्घाटनका लागि तयार गरिएको शिलालेख अगाडि स्थानीयले विभिन्न नारा लेखिएको प्ले कार्ड सहित विरोध प्रदर्शन गरेका हुन् । यसअघि स्थानीयले नाम परिवर्तन नगर्न माग राखेर वीरगञ्ज–१४ का वडा अध्यक्षलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।