नेपालमा कानुनत: मानिसलाई एकबाट अर्को धर्ममा जबरजस्ती परिवर्तन गर्न लगाउनु गैर कानुनी काम हो, तर केही धर्म प्रचारकहरू इसाई आस्था फैलाएर मुद्दा लाग्न सक्ने खतरा मोल्न समेत इच्छुक छन् र नेपाल विश्वमै धेरै इसाई समुदाय बढ्दै गएको देश मध्य हो। त्यसरी धर्म परिवर्तन गर्नेहरू धेरैजसो आदिवासी तामाङ समुदायका छन् जुन समुदायले विगतमा बोन धर्म मान्ने गर्दथे । नेपालमा बोन धर्म बुद्ध धर्मको आगमनभन्दाअघिदेखि रहेको ठानिन्छ। धर्म प्रचारक मिसनरीहरू, धेरैजसो दक्षिण कोरियाली प्रचारकहरूले बुद्धको जन्मभूमि र पूर्व हिन्दू अधिराज्य नेपालमा विश्वमै सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको इसाई समुदाय निर्माण गर्न मद्दत गरेका छन्। नेपालमा इसाई धर्मावलम्बीहरूको तीव्र गतिमा बढिरहेको सङ्ख्यामा मुख्यतः परम्परागत हिन्दू वर्णाश्रम जात व्यवस्थामा पुछारमा पारिएका दलित समुदायका मानिसहरू वा आदिवासी जनजाति समुदायका मानिसहरू छन्।
नेपालमा पास्टर पाङ्गले इसाई धर्म प्रचारकको रूपमा बिताएको दुई दशक लामो समयमा पाङ्गले आफ्नो रेखदेखमा झन्डै ७० वटा चर्चहरू स्थापना गरेका छन्। त्यसरी बनेका धेरैजसो चर्चहरू राजधानी काठमाण्डूबाट दुई घण्टाजति टाढा उत्तर पश्चिममा अवस्थित धादिङ जिल्लामा रहेका छन्। उनका अनुसार जग्गा त्यहाँको समुदायले दिन्छ भने कोरियाली चर्चहरूले निर्माण कार्यका लागि पैसा दिएर मद्दत गर्छन्। पाङ्ग दाबी गर्छन्, "झन्डै सबैजसो पहाडी उपत्यकाहरूमा चर्चहरू बनिरहेका छन्।त्यो केही बढाइचढाइ गरेर गरिएको दाबी हुनसक्छ तर हालैका वर्षहरूमा नेपालभरि चर्चहरूको सङ्ख्यामा ठूलो वृद्धि भएकोमा कुनै शङ्का छैन। इसाई समुदायको राष्ट्रिय सर्वेक्षणको पछिल्लो तथ्याङ्कले अझै पनि उल्लेख्य रूपमा बहुसङ्ख्यक हिन्दूहरू रहेको नेपालमा ७,७५८ चर्चहरू रहेको देखाएको छ र यस्तो रूपान्तरणका पछाडि धेरै हदसम्म दक्षिण कोरियाली धर्म प्रचारकहरूको हात रहेको छ। केही दशकअघि मात्रै धर्म प्रचारकहरू विदेशमा खटाउन सुरु गरेको भए पनि दक्षिण कोरिया अहिले इसाई धर्म प्रचारकहरू परिचालन गर्ने विश्वकै सबैभन्दा ठूला देशहरू मध्येमा एक बन्न पुगेको छ।
कोरियाली वर्ल्ड मिसन एसोसिएशनका अनुसार कोरियाका त्यस्ता २२ हजारभन्दा बढी इसाई धर्म प्रचारकहरू देशबाहिर रहेका छन्। कोरियाली धर्म प्रचारक, मिसनरीहरू धर्म परिवर्तनका निम्ति संसारका विभिन्न स्थानहरूमा समेत आक्रामक रूपमा प्रवेश गर्नेहरू भनी परिचित हुन थालेका छन् जुन क्रममा कतिपय स्थानबाट तिनीहरूलाई निष्कासन समेत गर्ने गरिएको छ। पाङ्ग चाङ-इन् र ली जियोङ्ग-ही विगत करिब २० वर्षदेखि नेपालमै छन् । नेपाल अहिले धर्म निरपेक्ष राज्य हो, र सन् २०१५ मा बनेको संविधानले धार्मिक स्वतन्त्रताको प्रत्याभूति दिएको छ। यद्यपि सन् २०१८ मा लागु गरिएको धर्म परिवर्तन गराउने विरुद्धको कानुनले कसैलाई उसको धार्मिक आस्था परिवर्तन गर्न प्रोत्साहन गरेको अभियोगमा दोषी ठहर हुनेलाई पाँच वर्षसम्म जेल सजाय हुनसक्ने व्यवस्था गरेको छ। नेपालमा अहिले रहेका करिब ३०० कोरियाली धर्म प्रचारक परिवार रहेकाछन् । काठमाण्डू उपत्यकामा रहेको कोरियाली इसाई समुदाय मुख्यत: ललितपुरको भैँसेपाटीस्थित कोरियाली चर्च वरपर छरिएर रहेको छ। त्यसोत: कुनै पनि धार्मिक समूह औपचारिक रूपमा इसाई धर्म प्रचारक भएर नेपाल बसिरहेका होइनन्। उनीहरूसँग या त व्यवसायीको रूपमा वा विद्यार्थीको रूपमा यहाँ बसोबास गर्ने राहदानी छ। केहीले रेस्टुरेन्ट चलाउँछन् भने केहीका दर्ता भएका परोपकारी संस्था छन्।
नेपालमा इसाई समुदाय देशको कुल जनसङ्ख्याको दुई प्रतिशतभन्दा कम छ र पछिल्लो जनगणनाको तथ्याङ्कले त्यस्तो सङ्ख्यामा वृद्धि भइरहेको देखाउँछ। सोही तथ्याङ्कका अनुसार नेपालमा हिन्दू करिब ८० प्रतिशत छन् भने बौद्धमार्गी करिब ९ प्रतिशत छन्। सन् १९५१ को तथ्याङ्कमा नेपालमा इसाई धर्मावलम्बी एकजना पनि थिएनन् भने सन् १९६१ मा त्यस्तो सङ्ख्या जम्मा ४५८ जनाको थियो। तर सन् २०११ सम्ममा आइपुग्दा त्यो करिब ३ लाख ७६ हजार पुग्यो भने अहिले त्यो सङ्ख्या करिब ५ लाख ४५ हजार रहेको पछिल्लो जनगणनाले अनुमान गरेको छ। नेपाल इसाई समाजका अनुसार अहिले त्यस्ता प्रकार ५ वटा मुद्दाहरू अदालतमा विचाराधीन छन्। दुई महिलासहित चार कोरियालीविरुद्धको मुद्दा गत डिसेम्बरमा फिर्ता भएको थियो। प्रत्येक वर्ष करिब दुई हजार नेपाली विद्यार्थी पढ्नका लागि कोरियामा जाने गर्छन्। नेपालमा रहेका एक कोरियाली प्रचारक (जसले नाम उल्लेख नगर्ने गर्ने सर्तमा बोलेका थिए) भन्छन् तिनीहरू कोरियास्थित स्थानीय चर्चहरूसँग सम्पर्क गर्ने प्रयास गर्छन्। हाल काठमाण्डूमा सेमिनरी (धर्मबारे पढाइ हुने स्थान) विद्यालय छन् । त्यहाँ करिब ५० विद्यार्थीहरू अहिले अध्ययनरत छन्। उनीहरूको शिक्षा, खानपिन र बसोबासको धेरैजसो खर्च कोरियाली चर्चका दाताहरूले नै बेहोर्छन्। बिबिसि नेपाली बाट केहि स्राेत लिइएकाे छ ।