काठमाडौं–काठमाडौंको शंखरापुर नगरपालिकाको बोझनीमा बिहीबार पाँचौं दिन पनि स्थानीयले प्रदर्शन गरेका छन् । बोझनीमा विद्युत सब स्टेशन निर्माण गर्न नहुने भन्दै स्थानीय वासिन्दाले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा एक बालकसहित चार जना घाइते भएका छन् । यो सब–स्टेसनले माथिल्लो तामाकोशीसंगै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको प्रसारण लाइन र भक्तपुरको खरिपाटीस्थित वितरण केन्द्रलाई जोड्नेछ । बस्तीको बीचमा पर्ने यो सब–स्टेसनमा तीनतिरबाट ‘हाइ भोल्टेज’ विद्युत प्रवाह हुनेछ । स्थानीय वासिन्दाले भने झुक्याएर जग्गा अधिग्रहण गरेको, मानव बस्तीको बीचमा सब स्टेशन निर्माण गर्न लागेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । विद्युत प्राधिकरणले प्रहरीको सुरक्षामा आइतबारदेखि सब स्टेशन निर्माण सुरु गरेको छ । स्थानीयको अनुमति बेगर सब स्टेशन निर्माणका लागि प्रहरी परिचालन गरिएको भन्दै स्थानीयले राष्ट्रिय मानव अधिकार आयोगमा सोमबार उजुरी पनि दिएका छन् ।