काठमाडौं–काठमाडौंको शंखरापुर नगरपालिका बोझनीमा सब स्टेशन निर्माणका लागि बल प्रयोग गरेको भन्दै स्थानीयले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकाछन् । सब स्टेशन निर्माण गर्न नहुने भन्दै शान्तिपूर्ण विरोधमा उत्रिएका स्थानीयमाथि १७ पुसमा प्रहरीले लाठि चार्ज गरेको थियो । यस क्रममा तीन जना स्थानीयलाई पक्राउ समेत गरिएको थियो । १७ पुसमा प्रहरीले जयमान वाईवा, राजमान स्यागंवो र लवाङ तामागंलाई प्रहरीले पक्राउ गरेको छ । यस अगाडि पनि यहाँ सब स्टेशन निर्माणका क्रममा पटक पटक झडप भईसकेको छ ।
आफूहरुलाई थाहै नदिई गाउँको बिचमा सब स्टेशन निर्माण गर्न लागिएको भन्दै स्थानीयबासी विरोधमा उत्रिएका हुन् । जनताको अधिकारमाथि हस्तक्षेप गर्दै प्रहरी परिचालन गरेर मानव अधिकार हनन गरेको भन्दै स्थानीयले आयोगमा उजुरी दिएका हुन् । यो सब–स्टेसनले माथिल्लो तामाकोशीसंगै एमसीसीले निर्माण गर्ने प्रसारण लाइन र भक्तपुरको खरिपाटीस्थित वितरण केन्द्रलाई जोड्नेछ । बोझनी बस्तीको बीचमा निर्माण गर्न लागिएको यो सब–स्टेसनमा तीनतिरबाट ४ सय किलो भोल्ट (के.भी) क्षमताका ‘हाई भोल्टेज’ प्रसारण लाइन विस्तार हुनेछन् ।
आफूहरूलाई आयोजनाले सबै जानकारी नदिई झुक्याएर, धम्क्याएर बस्ती नै उठाउने गरी सब-स्टेसन बनाउन लागेको दाबी गर्दै स्थानीयले दुई वर्षदेखि विरोध गरिरहेकाछन् । आफूहरुलाई झुक्याएर जग्गा अधिग्रहण गरेको, मानव बस्तीको बिचमा सब स्टेशन निर्माण गर्न लागिएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् । यसैगरी राष्ट्रिय सीमान्तीकरण विरुद्ध अभियान(समान)ले पनि प्रहरीले गरेको बल प्रयोगको विरोध गरेको छ । आदिवासी जनजातिको अधिकार हनन नगर्न माग गर्दै समानले विज्ञप्ती मार्फत पक्राउ परेकालाई तुरुन्त रिहा गर्न माग गरेको छ । अनलाइन खबर बाट ।