काठमाडौं–बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न चीनबाट प्राविधिक टोली नेपाल आइपुगेको छ । चीन सरकारको चाइना रेल–वे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिकहरु मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन्। टोलीले प्रस्तावित रेलमार्गको इन्जिनियरिङ अध्ययन प्रतिवेदन काम सुरु गरेको ४२ महिनामा अध्ययन प्रतिवेदनमा तयार गर्नेछ । टोलीले आफ्नै खर्चमा अध्ययन गर्नेछ । सुरक्षा र सहजीकारणको काम नेपालले गर्नेछ ।चिनियाँ दूतावासले यसलाई बीआरआईको महत्वपूर्ण अंग रहेको भन्दै दुई देशबीच भएको सहमति कार्यन्वयका लागि चीन सँधै तयार रहेको जनाएको छ।चीन–नेपाल क्रसबोर्डर रेलवेको सम्भाव्यता अध्ययन र सर्वेक्षण नेपाली जनताको लामो समयदेखिको सपना र हाम्रा दुई देशका नेताबीच भएको महत्वपूर्ण सहमति हो । यो नेपाल र चीनबीचको बेल्ट एण्ड रोड इनिसिएटिभको अभिन्न अंग पनि हो,’ दूतावासले भनेको छ, ‘चीन नेपालको आकांक्षा र आवश्यक्तालाई सधैँ प्राथमिकता दिन्छ । त्यसैले चीन आफ्नो सहायता कोषमार्फत यो अध्ययनलाई सक्रियतापूर्वक अघि बढाउने छ ।’ दूतावासले चीनको बीआरआईअन्तर्गत परेको नेपालसँगको ट्रान्स हिमालयन मल्टि डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क निर्माण गर्न दुवै देशले सहकार्य गर्ने समेत जनाएको छ ।