काठमाडौँ — नेपालमा १९ वर्षदेखि कारागारमा रहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। उनी सन् २००३ मा काठमाण्डूमा पक्राउ परेका थिए। दुई विदेशी पर्यटकको सन् १९७५ मा हत्या गरेको अभियोगमा दोषी ठहर भएपछि उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो। सन् २००९ मा पाटन पुनरावेदन अदालतले उनलाई जाली राहदानी प्रयोग गरेको छुट्टै अभियोगमा दोषी ठहर गर्दै एक वर्षको कैद सुनाएको थियो। शोभराजविरुद्ध भारत, थाईल्यान्ड, टर्की, इरान लगायतका मुलुकमा गरी झन्डै २० जनाभन्दा बढीको हत्यामा संलग्न भएको आरोप छ। ती घटनाहरू सन् १९७२ देखि १९८२ सम्म भएका थिए। हत्या गरिएका अधिकांश मृतकलाई अचेत बनाउन औषधि दिइएको, घाँटी निमोठिएको, पिटिएको वा आगो लगाइएको बताइन्छ। तर सन् २००४ सम्ममा ती आरोपहरू पुष्टि हुन नसकेको र नेपालमा नै पहिलो पटक हत्याको अभियोग पुष्टि भएको बताइन्छ।
फ्रान्सका पर्यटकहरूलाई विष दिएको अभियोगमा दोषी ठहर भएपछि सन् १९७६ मा शोभराजलाई भारतमा २१ वर्षको जेल सजाय सुनाइएको थियो। तर जेलमा १० वर्ष बसेपछि उनी १९८६ मा दिल्लीस्थित तिहाड जेलबाट भागेका थिए। आफ्नो जन्मदिनमा उनले जेलभित्र भोज दिएका थिए। त्यसमा सुरक्षाकर्मीहरूलाई पनि निम्तो दिइयो। भोजमा बाँडिएको बिस्कुट र अङ्गुरमा निद्रा लाग्ने औषधि मिसाइएकाले खाने जति सबै जना अचेत भएपछि शोभराज र अरू केही कैदी तिहाड जेलबाट भागे। भारतीय पत्रपत्रिकामा प्रकाशित विवरणअनुसार उनले त्यतिबेला जेलको ढोकामा तस्बिर पनि खिचाएका थिए।बिहीबार साँझ काठमाडौं अदालतले दुई मुद्दाको हकमा समेत बुधबार सर्वोच्चबाट भएको आदेशबमोजिम नै शोभराजलाई रिहा गर्न अनुमति दिएको हो । यस सँगै विभाग अहिले उनलाई रिहा गरेर अध्यागमन विभागमा जिम्मा लगाउने तयारीमा छ ।
सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको आदेशमा “निरन्तर कैदमा राख्नु कैदीबन्दीको मानव अधिकार मापदण्ड र संविधान, कानुन प्रदत्त अधिकारअनुकूल नदेखिएको” भन्दै रिहा गर्न भनेको छ। आदेशमा “अन्य मुद्दामा थुनामा राख्नु पर्ने नभए निजलाई आजै कैदबाट छाडिदिन तथा यो आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन भनिएको छ। ७८ वर्षका शोभराजको चालचलनमा सुधार आएको र पाँच प्रकारका औषधि सेवन गर्नुपर्ने अवस्थालाई समेत दृष्टिगत गर्दै उनलाई थुनामुक्त गर्नु उपयुक्त हुने अदालतको फैसलामा भनिएको छ। कारागार नियमावली, २०२० का अनुसार ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली कैदीलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था छ। नेपाली नागरिकलाई जस्तै विदेशी नागरिकको हकमा पनि उक्त व्यवस्था कार्यान्वयन हुनुपर्ने भन्दै उनले कैदमुक्तिको मागसहित पटकपटक निवेदन दिएका थिए।