४ काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले शहरिया मध्यम वर्ग अस्थिरताको कारक भएको टिप्पणी गरेका छन् । नेपाल नगरपालिका संघले गरेको कार्यक्रममा पोखरेलले स्थानीय चुनाव र प्रतिनिधिसभा चुनावको मतपरिणामले शहरिया मध्यम वर्गमा विचलन देखिएको पुष्टि हुने बताएका हुन् । कार्यक्रममा सहभागी नगरपालिकाका जनप्रतिनिधिलाई सम्बोधन गर्दै भने, ‘आज अस्थिरता कसका माध्यमबाट भइरहेको छ भन्दाखेरि शहरिया मध्यम वर्ग सबभन्दा ज्यादा असन्तुष्ट भइराखेको छ, नेपालको राजनीतिक प्रणालीप्रति । त्यो कसको मातहतमा छ भन्दाखेरि तपाईहरु नेतृत्वको मातहतमा छ । तपाईहरुले उनीहरुलाई सन्तुष्ट गर्न सक्नुभयो राजनीतिक स्थिरतातर्फ हामी मुलुकलाई लैजानसक्छौँ । तपाईले आफ्नो ठाउँको जनतालाई सन्तुष्ट पार्न सक्नुभएन भने मुलुक अस्थिरताको भुमरीमा फस्छ ।
शहरिया मध्यम वर्गमा परिवर्तन भन्दा पनि विचलन देखिएको भन्दै महासचिव पोखरेलले यस्तो व्यवहारले स्थायीत्वलाई खल्बल्याउने काम गरेको आरोप लगाए । ‘शहरिया मध्यम वर्गमा सांस्कृतिक अतिवादतर्फ एउटा । अर्को सांस्कृतिक स्वच्छन्दतातर्फ अर्को जमात तयार हुँदैछ । दुवै चिजहरु समाजको स्थायित्व, शान्ति र विकासका लागि साधक होइन । आज शहरिया मध्यम वर्गभित्र जुन प्रकारको विचलन देखा परेको छ । त्यो परिवर्तन होइन । विचलन हो ।