डोटीका भूकम्पपीडितलाई राहत पुगेन ।

Nov Thu 2022 12:12:10

डोटीका भूकम्पपीडितलाई राहत पुगेन ।

डोटीको पूर्वीचौकी गाउँपालिका३ गैरागाउँका भूकम्प पीडितले सरकारी तवरबाट कुनै राहत प्राप्त गर्न नसकेको गुनासो गरेका छन् । उनीहरु तरकारी उत्पादनका लागि निर्माण गरिएका पोलि हाउसमा रात बिताउन बाध्य भएको बताएका छन् । भूकम्प पीडितलाई सरकारी क्षेत्रबाट प्रदान गरिने राहत नआइपुगेका कारण उनीहरु समस्यमा परेको बताएका हुन् । गत मङ्गलबार रातिको भूकम्पमा परी यहाँका कैयौँ नागरिकका घरमा क्षति पुगेको छ । कतिपयको घर भत्किएको छ भने कैयौँका घरमा क्षति पुगेकाले आफ्नै घरमा रात काट्न नसक्ने अवस्था रहेको छ । यहाँका स्थानीय भरत बोहराले भने, “सरकारी क्षेत्रबाट राहत आइपुगेको छैन, पटक पटक गइरहने परकम्पनले पीडितमा त्रास थपिँदै गएको छ, चिसो समयमा हामीहरु पोलि हाउसमा आगो बालेर रात बिताउन बाध्य छौँ । नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले २० वटा त्रिपाल तथा केही खाद्यान्न राहतस्वरुप वितरण गरे पनि पीडितलाई अपुग भएको छ । अस्थायीरुपमा भए पनि टहरा निर्माण गर्न तथा एक छाक खान र एकसरो लगाउने लुगाको व्यवस्था गरिदिन पीडितले सरकारसँग माग गरेका छन् । गाउँभरिमै भूकम्पको पीडाले सन्नटा छाएका कारण खेतमा पाकेको धान तथा कोदो काट्न र टिप्न नपाउँदा खेतबारीमै बादर र मुसाले खान थालेको पीडितहरु बताउँछन् । खानका लागि एक मानो चामल र पीठोसमेत नभएका कारण बालबालिका भोकले रुने कराउने गर्न थालेको अर्की पीडित मनसरा बोहराले बताए । 

उता विपद् व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले गृह मन्त्रालयबाट भूकम्प पीडितका लागि त्रिपाल र कम्बल आइपुगेकाले आजै विपद् व्यवस्थापनको बैठक राखी सम्भवतः आजै वितरण गरिने बताइन् । उनले भनिन्, “गृह मन्त्रालयबाट त्रिपाल र कम्बल आइपुगेको छ, अन्य राहतका लागि प्रक्रिया भइरहेकाले हामी आजै त्यहाँ गएर सम्भवतः कम्बल र त्रिपाल वितरण गर्छौं होला ।” मङ्गलबार मध्यराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र भएर ६ दशमलव ६ म्याग्नीच्यूडको भूकम्प गएको थियो । त्यसमा परी उक्त गाउँका छ जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएका थिए । उक्त भूकम्पमा परी आठ घर पूर्ण ध्वस्त भएका छन् भने स्थानीयका अनुसार दर्जर्नौँ घरमा क्षति पुगेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?