मुगु — शैक्षिक सत्र सुरु भएको ७ महिना भयो, खत्याड–८ सुकाढिकको सर्वोदय माविमा ९ कक्षामा पढ्ने आशा कार्कीका हातमा पूरै सेट किताब परेका छैनन् । उनका ३७ सहपाठीले पनि अर्थशास्त्र, विज्ञान र शिक्षा विषय पाठ्यपुस्तकबिनै पढ्नुपरेको छ । कोर्स आधै पुगिसक्यो, किताबै आइपुगेनन्,’ भनिन्, ‘किताब अब पाइँदैन पनि होला ।’ समस्या उनको मात्रै होइन, मुगुका धेरै विद्यालयमा पूरै सेट किताब भने अझैसम्म पुगेका छैनन् । विद्यालयहरूमा मतदान केन्द्रका लागि तयारी भने धमाधम भइरहेको देखेका विद्यार्थी अनौठो मान्छन् ।
निर्वाचन आयोगले गत शनिबार हेलिकोप्टरबाट मतपत्र मुगु पठायो । प्रदेश निर्वाचन कार्यालयका अनुसार कर्णालीका सबै जिल्लामा मतपत्र ढुवानी भइसकेको छ । ‘हिमाली जिल्लामा त सबै मतपत्र र अन्य सामान पनि ढुवानी भइसक्यो,’ प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले भने, ‘हाम्रो व्यवस्थापन करिब–करिब सकिन लाग्यो, अब मतदानको प्रतीक्षामा छौं । उता पाठ्यपुस्तक नभएपछि विद्यार्थी निराश छन् । ‘चारवटा विषयका किताब आइपुगेनन्,’ सर्वोदय माविको ९ कक्षाका विद्यार्थी नवीन विकले भने, ‘किताब छैन, सरले भनेको पनि बुझिँदैन, होमवर्क गर्न पनि समस्या भयो । विषयगत किताब नहुँदा विद्यार्थीको शैक्षिक गुणस्तरमा ठूलो असर परेको विद्यालयका प्रधानाध्यापक लोकेन्द्र कार्कीले बताए । ‘नयाँ किताब विद्यार्थीको मनोविज्ञानसँग पनि जोडिएको छ,’ उनले भने, ‘एक त हामीलाई पालिकाले समयमै किताबको पैसा पठाउँदैन, पठाए पनि ढुवानी गर्ने व्यवसायीले किताब ल्याउन सधैं ढिलो गर्छन् । अभिभावकबाट हामी गाली पाउँछौं, नतिजा पनि कहिल्यै राम्रो हुँदैन ।’
पाठ्यपुस्तक नपाउँदा विद्यार्थीको घरमा पढ्ने चाहना पूरा नभएको स्थानीय अभिभावक कमल शाहीले बताए । ‘किताब आइदिए विद्यार्थीले कम्तीमा घरमा पढ्न त पाउँथे,’ उनले भने, ‘लगातार दुई वर्षसम्म पठनपाठन अवरुद्ध हुँदा विद्यार्थीको सिकाइस्तर पनि खस्किएको छ ।’ खत्याड गाउँपालिकाको पञ्चदय माविमा ६, ७, ८, ९ र १० कक्षाका विद्यार्थीले पनि अझै विषयगत किताब पूरा पाउन नसक्दा पढाइमा बाधा परेको छ । उक्त विद्यालयका कक्षा ७ मा कम्प्युटर, ८ मा पेसा व्यवसाय, कक्षा ६ मा गणित स्वास्थ्य, जनसंख्या र कक्षा १० मा ऐच्छिक गणित किताब विद्यार्थीले नपाएको शिक्षकको भनाइ छ । रातापानीस्थित महादेव मस्टा नमुना माविमा कक्षा ५ मा अंग्रेजी, ९ मा विज्ञान र कक्षा ८ मा पेसा व्यवसाय विषयका किताब पुगेको छैन । प्रधानाध्यापक नरेशबहादुर शाहीले भने ‘अपूरा किताबले विद्यार्थीलाई पढ्न र हामीलाई पढाउन गाह्रो भएको छ ।’ जनज्योति माविका ३५ विद्यार्थीले पूरै किताब नपाउँदा सिकाइको स्तरमै प्रभाव परेको प्रधानाध्यापक सुवास रावलले सुनाए । समस्या खत्याडका विद्यालयहरूमा मात्रै सीमित छैन । सोरु गाउँपालिकाभित्रका विद्यालयहरूमा पनि पाठ्यपुस्तक पर्याप्त पुगेका छैनन् ।
विद्यालयस्तरको शैक्षिक व्यवस्थापन स्थानीय तह मातहत छ । जनप्रतिनिधिहरूले भने सबै विद्यालयमा किताब पुर्याउन निर्देशन दिइसकेको बताउने गरेका छन् । ‘यहाँ किताब पुग्न एक जनाले जोड गरेर नहुने रहेछ, विद्यालय, स्थानीय तह, ढुवानी व्यवसायी र यातायात व्यवसायी सबैले समयमा काम गर्न सके मात्र पुग्ने रहेछ,’ सोरु गाउँपालिका उप ाध्यक्ष सरिता रोकायाले भनिन्, ‘स्थानीय तहबाट हुनुपर्ने रकम निकासाको काम समयमै भइसकेको छ ।’ वर्षाले सडक अवरुद्ध भएकाले किताब ढुवानीमा ढिला भएको जवाफ आएको उनले बताइन् । कर्णालीका जिल्लाहरूमा जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतबाट पाठयपुस्तक ढुवानी हुने गरेको छ । कर्णालीमा कक्षा ४ देखि १० सम्मका १४ लाख १ हजार ७ सय ८९ किताब आवश्यक भएकोमा ९ लाख २९ हजार १ सय ४१ थान मात्र पुगेको केन्द्रका क्षेत्रीय प्रबन्धक धनबहादुर केसीले बताए ।