२६ असोज, काठमाडौं । चिनी मिलले उखुको पैसा नतिरेको भन्दै सर्लाहीका उखु किसान आन्दोलित भएका छन् । गोडौता नगरपालिका–६ मा रहेको महालक्ष्मी सुगर मिलले १२ हजार किसानको १० करोड रुपैयाँ एक वर्षदेखि भुक्तानी नगरेको उखु किसान संघर्ष समिति सर्लाहीले जनाएको छ । एक लाख ९२ हजार ३०७ क्विन्टल ७६ किलो उखु बिक्रीको पैसा नपाउँदा किसानहरु छठ पर्व मान्नसमेत नसक्ने अवस्थामा पुगेको संघर्ष समितिका सचिव हरिश्याम रायले बताए । १२ हजार किसानले करिब १० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ । कर्मचारी हुन्छ हुन्छ मात्रै भन्छ । मिल मालिक सम्पर्कमा छैनन्,’ रायले भने, ‘आफ्नो उखुको पैसा नपाउने तर छठ पर्व मन्न ऋण माग्नु पर्ने अवस्था किसानहरु पुगेका छन् । भुक्तानी माग्दा मिलका कर्मचारी सम्पर्कमा नआउने र मिल मालिकले समेत समन्वयन नगरेको संघर्ष समितिको आरोप छ । मिल सञ्चालक व्यवसायी वीरेन्द्रकुमार कानोडिया लुम्बिनी प्रदेश सभाका सांसद छन् । कनोडियाको मिलले किसानको भुक्तानी नगरेको गडौता नगरपालिका कार्यालयलले पनि पुष्टि गरेको छ । नगरप्रमुख देवेन्द्रकुमार यादवकाअनुसार समितिले दावी गरेजति नभए पनि करिब ५ करोड रुपैयाँ चिनी मिलले किसानलाई भुक्तानी गर्न बाँकी छ । दशैं अघि एक करोड ५० लाख रुपैयाँ भुक्तानी भएको थियो । अझै ५ करोड जति भुक्तानी पाउन बाँकी छ,’ मेयर यादवले भने, ‘सरकारबाट पाउनु पर्ने अनुदान किसानले पाएका छन् तर मिलबाट पाउने पैसा बाँकी छ । किसानको बक्यैता तिर्न मिल, जिल्ला प्रशासन कार्यालय र चिनी उत्पादकलाई आफूहरुले पटक पटक आग्रह गरेको पनि उनले बताए ।