एक सातादेखि परेकाे पानीले जिल्लाको छायानाथ–रारा नगरपालिका- ११ तल्लो सालिमगाउँमा पहिरोले पुरिएर आठजनाको मृत्यु भएको छ। साेही स्थानमा पाँचजना घाइते भएका छन्। पहिराेमा पुरिएर बेपत्ताहरूकाे स्थानीयले खोजीकार्य जारी राखेका छ्न्।आइतबार हजारी भग्रीको घरमाथिबाट पहिरो आउन थालेपछि हजारीका परिवारले घरभित्रको सबै सामान छिमेकी मानबहादुर भग्रीको घरमा सारेर दुवै घरपरिवार मानबहादुरको घरमा बसेका थिए। दुवै परिवार घरभित्र बसेका वेला माथिबाट आएको पहिरोले घर भत्किँदा दुवै परिवारका आठजनाको मृत्यु भएको छायानाथ–रारा नगरपालिका– ११ की वडाध्यक्ष कुन्जुमा कुमाईंले जानकारी दिइन्। पहिरोमा पुरिएर मृत्यु हुनेमा छायानाथ–रारा नगरपालिका– ११ की ८२ वर्षीया गौरीकला बोहरा, १९ वर्षीया सुस्मिता भग्री,३० वर्षीया होजाली भग्री, ५४ वर्षीय वीरबहादुर भग्री, १५ वर्षीय चक्रवीर बोहरा, २० वर्षीय सक्कबहादुर सावत, २० वर्षीय कृष्णा सावत, ६० वर्षीया हाजिरा भग्री रहेको वडाध्यक्ष कुमाईंले जानकारी दिइन्। आइतबार दिउँसो ३ बजेतिर घटना भए पनि मोबाइल नेटवर्कको समस्याका कारण घटनाबारे विस्तृत विवरण आज बिहान १० बजे मात्रै आउन सकेको थियाे। गमगाढ खोलामा आएकाे बाढीले पुलपुलेसा भत्काएको छ। उद्धारका लागि आज बिहान ७ बजे हिँडेकाे नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितकाे २५ जनाकाे टोली अझै घटनास्थल पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।
पहिरोले अन्य घरहरूमा पनि क्षति पुर्याउँदा २५ घरपरिवार विस्थापित भएका छ्न्। अन्य भौतिक तथा धनमालको कति क्षति भयो भन्ने अझै यकिन तथ्यांक आउन सकेकाे छैन। विस्थापित परिवारलाई गाउँमै रहेको प्रभात माध्यमिक विद्यालयमा राखिएको छ। अहिलेसम्म सहयोग र उद्धारका लागि गाउँमा कोही नपुगेको वडा प्राविधिक जितेन्द्र कुमाईंले बताए। एक सातायताबाट जिल्ला फोन, विद्युत्, इन्टरनेटकाे सुविधाविहीन छ। वर्षाले जिल्लामा कहाँ-कहाँ के–कति क्षति भयो भन्ने तथ्यांक प्राप्त हुन सकेकाे छैन।
वर्षाले नगरपालिकाको गमगाढमा रहेका काठेसाँघु, झोलुंगेपुल सबै बगाएको छ भने गमगाढ वितरण केन्द्रमा क्षति पुर्याउँदा विद्युत् अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी महतका अनुसार छायानाथ–रारा नगरपालिका– ११ मा भएको घटनाका पीडित तथा अन्य गाउँलेलाई तत्काल सुरक्षित स्थानमा राख्न वडाध्यक्षसँग समन्वय भइरहेको र सबै गाउँलेलाई प्रभात मावि रोवामा लगिएको छ। राहतका लागि जिल्ला गैरसरकारी संस्थासँग समन्वय गरी तत्काल राहत वितरण गरिने, औषधि र चिकित्सकको टोलीसहित आफू घटनास्थल पुग्ने प्रमुख जिल्ला अधिकारी महतले बताए। सुर्खेतबाट हेलिकोप्टर उद्धारका लागि मुगु जाने तयारी गरे पनि प्रतिकूल मौसमले हालसम्म घटनास्थलमा आउन सकेको छैन। वडा नम्बर ८ झ्यारीगाउँ, वडा नम्बर ७ टोप्ला गाउँ, वडा नम्बर ४, ५ ढुम र भियालवाडा गाउँ र सदरमुकाम गमगढीको कालिका मालिका दक्षिण खण्डमा वर्षाले क्षति पुर्याउँदा करिब पाँच परिवार विस्थापित भएको स्थानीयको भनाइ छ। प्रजिअ महतमा अनुसार नेपाल विद्युत् प्राधिकरणको गमगाढ वितरण केन्द्रको पावर हाउसलगायत संरचना गमगाढ खोलामा आएको बाढीले बगाएको छ।
लगातारकाे वर्षाले खत्याड गाउँपालिका– ९ नखर्जीगाउँको खोलीबाडामा सोही वडाका देनबाडाका पूरै बस्ती विस्थापित भएपछि विद्यालयमा राखिएको छ। छायानाथ–रारा नगरपालिकाको भामबाडा, ढुमा, कार्कीबाडा पिना, तुमा, बालै घुइर, झ्यारी, टोप्ला, कोटिलालगायत एक दर्जन बस्तीका सयौँ घरपरिवार विस्थापित भएका स्थानीयले जनाएका छन्।