अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटेपनि नेपाल आयल निगमले पछिल्लो समय उपभोक्ताको ढाड सेक्नेगरी निर्णय गर्न थालेको छ । लामो समयदेखि महँगोमा तेल किनेर सस्तोमा बेच्दै आएको निगमले पछिल्लो समय भने सस्तोमा किनेर महँगोमा बेच्न थालेको हो । निगमले इण्डियन आयल कर्पोरेशन (आईओसी)सँग पेट्रोलियम पदार्थ किन्ने गरेको छ । आईओसीसँग तेल किन्दा प्रत्येक १५–१५ दिनमा मूल्यसूची आउने गर्छ । जसअनुसार, पछिल्लो २ महिनामा भारतबाट ४ पटक पेट्रोलियम पदार्थको खरिद लागत घटेर आइसकेको छ । तर, नेपाल आयल निगमले यसबीचमा एक पटक पनि बिक्री मूल्य घटाएको छैन ।
यसअघि, भदौ १६ गते भारतबाट पेट्रोलको मूल्य घटेर र डिजेलको मूल्य बढेर आएको थियो । सो मितिमा आयल निगमले पेट्रोलको मूल्य स्थिर राखेर डिजेलको मूल्य मूल्यसूची प्राप्त भएकै दिन बढाएको थियो । निगमले भदौ १६ मा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६/६ रुपैयाँ बढाएपनि प्रतिलिटर करिब ४ रुपैयाँ नाफामा रहेको पेट्रोलको मूल्य भने स्थिर कायम गरेको थियो । भदौ १६ भन्दा अघि पेट्रोलियम पदार्थको मूल्यसूची २ पटक घटेर आउँदा पनि निगमले बिक्री मूल्य घटाएको थिएन । अहिलेसम्म निरन्तर ४ पटक मूल्य घटेर आइसकेको छ । जबकी, निगमले निरन्तर एउटै मूल्यमा पेट्रोलियम पदार्थको बिक्री गरिरहेको छ । निरन्तर मूल्य घटेर आएपनि बिक्री मूल्य नघटाएसँगै हाल निगम खाना पकाउने एलपीजी ग्यासबाहेक अन्य वस्तुको बिक्रीमा उच्च नाफामा छ ।
पछिल्लो मूल्यसूचीअनुसार एलपीजी ग्यासको बिक्रीमा निगम प्रतिसिलिन्डर ३२५ रुपैयाँ घाटामा छ । यसको खरिद लागत प्रतिसिलिन्डर २१ सय २५ रुपैयाँ छ । तर, यसको बिक्री मूल्य प्रतिसिलिन्डर १८०० रुपैयाँ कायम गिरिएको छ । यसबाहेक हाल निगम पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ९ रुपैयाँ नाफा छ । यसबाहेक, सुरूदेखि नै नाफामा रहेको मट्टितेलमा प्रतिलिटर ३८ रुपैयाँ नाफा छ । यस्तै, हवाई इन्धनमा समेत निगमले उच्च नाफा आर्जन गरिरहेको छ । भारतबाट १ अक्टोबरमा प्राप्त नयाँ मूल्यसूचीअनुसार निगम पछिल्लो डेढ वर्ष यता पहिलोपटक नाफामा पुगेको छ । स्रोतका अनुसार नयाँ मूल्यसूचीअनुसार पछिल्लो १५ दिनमा निगम १ अर्ब १४ करोड रुपैयाँ र मासिक २ अर्ब २८ करोड रुपैयाँ नाफा आर्जन हुन्छ । यतिधेरै नाफा आर्जन हुँदा पनि भारतबाट मूल्य बढेर आउने बित्तिकै मूल्य समायोजन गर्ने निगमले पछिल्लो समय मूल्य समायोजनमा हिचकिचाइ रहेको छ ।