काठमाडौं–त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा मंगलबार यूएई विरुद्ध जवाफी ब्याटिङका क्रममा विश्व क्रिकेटमा महारथी टिमसँग प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने नेपालको सपना पूरा गर्न निर्णायक रह्यो । विश्व क्रिकेटको संरचनामा आईसीसीका पूर्णकालीन सदस्य टिमहरूसँग एसोसिएट टिमहरूले खेल्न पाउने अवसर अत्यन्तै न्यून रहन्छ । आईसीसीको एसोसिएट सदस्यता पाएको २७ वर्षसम्म नेपालको सिनियर टिमले भारत, पाकिस्तानसँग प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने अवसर पाएको थिएन । अब त्यो प्रतीक्षा सकिएको छ । एसीसी प्रिमियर लिगअन्तर्गत वर्षाले प्रभावित यूएईसँगको फाइनल नेपालले दुई दिन लगाएर ७ विकेटले जित्यो । प्रतियोगिताको नियम अनुसार सोमबार सुरु भएको फाइनल खेल वर्षाका कारण बिथोलिंदा मंगलबार (रिजर्भ डे)मा निरन्तरता पायो । सोमबार अपराह्न पौने १२ बजेदेखि स्थगित भएको खेल त्रिवि मैदानमा पानी जमेपछि सोही अवस्थाबाट भोलिपल्टका लागि सारियो । मंगलबार ३३.१ ओभरमा अलआउट हुनुअघि यूएईले ११ रन थप्यो । नेपालले जितका लागि ५० ओभरमा ११८ रनको लक्ष्य पायो ।
जवाफमा नेपालको सुरुवात सुखद रहेन । ८ ओभरभित्र २२ रन बनाउँदा नेपालले दुई ओपनरसहित कप्तान रोहितकुमार पौडेललाई समेत गुमाइसकेको थियो । दीपेन्द्रसिंह ऐरीको स्थानमा टिममा ल्याइएका गुल्सन झालाई पहिलोपल्ट तेस्रो नम्बरमा ब्याटिङमा पठाउने प्रशिक्षक मोन्टी देशाईको निर्णय सही सावित भयो । गुल्सनको डरविहीन र पाँचौं नम्बरमा आएका भीम सार्कीको संयमित ब्याटिङबाट नेपालले ३३.३ ओभरमा लक्ष्य भेट्टायो । दुवैले चौथो विकेटका लागि ९६ रनको अविजित साझेदारी गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यूएईमाथि दोस्रो अर्धशतक बनाउने क्रममा गुल्सनले ६७ रनको पारी खेले । भीमले ३६ रन बनाए । आफ्नो इनिङ्समा गुल्सनले ६ छक्का र ४ चौका हाने र नेपाललाई जित दिलाए ।