जाग्दैछन् फ्रान्सका मजदुरहरु,अनिश्चितकालीन हडतालको घोषणा ।

Mar Tue 2023 02:05:51

जाग्दैछन् फ्रान्सका मजदुरहरु,अनिश्चितकालीन हडतालको घोषणा ।

काठमाडौँ फ्रान्समा सरकारले परिमार्जन गर्न लागेको निवृत्तिभरण सुधार योजनाहरूविरुद्ध मजदुर र कर्मचारी संघसंगठनहरूले मंगलबारदेखि अनिश्चितकालीन हडतालको घोषणा गरेका छन्  मजदुर र कर्मचारी युनियनहरूले सरकारले निवृत्तिभरण विधेयक फिर्ता नलिएसम्म हडताल जारी राख्ने घोषणा गरेका छन् । मजदुरहरुले अनिश्चितकालसम्म हडताल जारी राख्ने घोषणा गरिएका छन् । मंगलबारदेखि सुरु हुने अनिश्चितकालीन हडतालमा शिक्षक, ग्यास र विद्युतीय क्षेत्रका कामदारहरू, रेल कम्पनीका कर्मचारी, स्वास्थ्य क्षेत्रका कामदार र औद्योगिक क्षेत्रलगायत कामदारहरू सामेल हुने घोषणा गरिएको छ  शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्, उद्योग र कलकारखानालगायत अधिकांश क्षेत्रका कर्मचारी संलग्न हुने भनिएकाले यो हडतालले राष्ट्रिय उथलपुथल मच्चाउने फ्रान्सेली अखबारहरूले लेखेका छन् 

फ्रान्समा निवृत्तिभरण अधिकार सुधार गर्ने र सेवानिवृत्तिको उमेर ६२ बाट ६४ वर्षसम्म पुर्‍याउने सरकारको योजनाविरुद्ध औद्योगिक कलकारखानाका मजदुरहरूले जनवरीदेखि नै पटक-पटक हडताल गर्दै आएका छन् । मंगलबारबाट सुरु हुने हडताल छैठौं पटकको हो । देशका प्रमुख मजदुर युनियनहरू सीजीटी र सीएफडीटीले नै अनिश्चितकालीन हडतालको घोषणा गरेकाले दैनिक जीवनमा व्यापक बाधा पुग्ने सम्भावना रहेको फ्रान्सका समाचारहरुले उल्लेख गरेका छन् । केही मिडियाहरूले यो हडतालले सरकारलाई झुक्न बाध्य पार्न सक्ने समेत उल्लेख गरेका छन्  ग्यास र विद्युत् क्षेत्रका कामदारहरूले मार्च ३ शुक्रबारबाट नै हडताल सुरु गरेको र आफ्नो विजय नभएसम्म हडताल जारी राख्ने सीजीटी युनियनका ऊर्जा विभागका महासचिव, सेबास्टियन मेनेस्प्लियरले फ्रान्सेली मिडियाहरूलाई बताएका छन्  विद्युत् कर्मचारीहरूले गत शुक्रबारबाटै हडताल सुरु गरेकाले शुक्रबार फ्रान्समा धेरै परमाणु ऊर्जा स्टेसनहरूबाट विद्युत् उत्पादन घटाइएको थियो । त्यसले गर्दा समग्र बिजुली आपूर्तिमा कमी ल्याएको थियो 

बढ्दो महँगीले दैनिक जीवनयापनको लागत बढिरहेकाले ऊर्जा संकटले फ्रान्सेली अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न पनि कर्मचारीहरूले हडताल जारी राखेर उत्पादन अझ कम गर्ने बताएका छन्  यातायात क्षेत्रका दुई प्रमुख राष्ट्रिय रेल कम्पनी एसएनसीएफ र राजधानी पेरिसको ईल द फ्रान्स क्षेत्रको यातायात प्रदायक आरएटीपी दुवैले हडतालमा उत्रिने घोषणा गरेकाले यातायात अधिकारीहरूले राजधानी पेरिसमा ठूलो अवरोध हुने चेतावनी दिएका छन्  फ्रान्समा आह्वान गरिएको हडतालका कारण विमानहरूको उडानसमेत ३० प्रतिशतले रद्ध हुने फ्रान्सेली नागरिक उड्डयन प्राधिकरण (डीजीएसी) ले सार्वजनिक गरेको छ । फ्रान्सको हडतालका कारण युरोपका अन्य सहरहरूमा जाने लामो दूरीका रेल र उडानसमेत प्रभावित हुने बीएफएम टीभीले उल्लेख गरेको छ  शिक्षा क्षेत्रका सात प्रमुख शिक्षण युनियनहरूले स्कुलहरू पूर्ण रूपमा बन्द गर्न आह्वान गरेका छन् । हाई स्कुल र विश्वविद्यालयका विद्यार्थीहरूले मंगलबारदेखि कर्मचारीहरूसँगै विरोध प्रदर्शनमा सामेल हुने घोषणा गरेका छन् । मार्च ९ मा फ्रान्सका युवा परिचालन गरी हडतालमा उत्रिने बताइएको छ  औद्योगिक क्षेत्रमा सीजीटी मजदुर युनियनले तेल प्रशोधन कार्यकर्ताहरूलाई इन्धनको उत्पादन, वितरण र आयातमा बाधा पुर्‍याउन हडतालमा उत्रिने र पूरै अर्थतन्त्र अवरुद्ध गर्न आह्वान गरेको छ 

औषधि, रसायन शास्त्र, एरोनोटिक, अटोमोबाइल र स्टिल कम्पनी, डाँक सेवालगायत १५ लाख कर्मचारीसमेत हडतालमा सहभागी हुने सीजीटीको भनाइ छ । युनियनले ति सबैलाई आन्दोलन सफल नभएसम्म हडतालमा उत्रिन आह्वान गरेको छ  आइतबार नै ट्रक चालकहरूले केही औद्योगिक सुविधाहरूमा नाकाबन्दी गरेका थिए भने प्रमुख सडकहरूमा ट्राफिक ठप्प पार्न गो-स्लोअर्थात् गाडीको गति घटाएर हडताल सुरु गरेका थिए  मजदुर युनियनहरू जसरी पनि सरकारको निवृत्तिभरण विधेयक असफल पार्ने प्रयासमा छन् भने सरकार यसबाट कुनै पनि हालतमा पछि नहट्ने प्रधानमन्त्री एजिजावेथ बर्नले पटक पटक बताइसकेकी छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?