काठमाडौँ — क्रिकेट खेलमा बिहीबार एसिया विजेता बनेसँगै नेपाल अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपमा पुगेको छ । क्षेत्रीय छनोटबाट विजेता भएर यस पटकको यू–१९ विश्वकपमा पुग्ने नेपाल पहिलो राष्ट्र हो । अन्य चार राष्ट्रको छनोट प्रतियोगितापछि मात्र यू–१९ विश्वकप खेल्ने १६ राष्ट्रको टुंगो लाग्नेछ । टेस्ट मान्यताप्राप्त राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र आयरल्यान्ड यसअघि नै आगामी विश्वकपका लागि सोझै छनोट भइसकेका छन् । यू–१९ विश्वकपमा देखाएको प्रदर्शनले नेपाली क्रिकेट स्थापित भएको हो । सन् २००२ देखि २००८ सम्म गरी लगातार पाँचपल्ट आईसीसी यू–१९ विश्वकप खेल्दै उच्च प्रदर्शन दिँदा नेपाली क्रिकेटको मार्गचित्र बनेको थियो । आउँदो यू–१९ विश्वकप नेपाल सहभागी हुने आठौं संस्करण हुनेछ । जगत टमाटाकै प्रशिक्षणमा नेपाल तेस्रो पटक यू–१९ विश्वकपमा पुगेको हो । यसअघि उनकै प्रशिक्षणमा २०१२ र २०१६ को विश्वकपमा छनोट भएको थियो । ७ वर्षअघि बंगलादेशमा खेल्दा नेपाल दोस्रो चरण पुगेको थियो । पछिल्ला एक दशकमा भने नेपालले एक पटकमात्र युवा विश्वकप खेल्ने अवसर पायो । सोही कारण नेपालको क्रिकेट अन्योलजस्तै बन्दै आएको थियो । युवा खेलाडीको अभाव राष्ट्रिय टोलीसम्म देखिएको थियो । अर्को वर्ष श्रीलंकामा हुने प्रतियोगितामा नेपालले यू–१९ विश्वकपमा पुनरागमन गर्नेछ ।
यूएईको अजमानमा भइरहेको आईसीसी यू–१९ एसिया विश्वकप छनोट प्रतियोगितामा टस हारेर ब्याटिङमा आएको नेपाल ४८.५ ओभरमा १ सय ९१ रनमा अलआउट भयो । देब्रेहाते स्पिनर दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि नेपालले यूएईलाई ४८ ओभरमा १ सय ८४ रनमा अलआउट गरी ७ रनको सनसनीपूर्ण जित हात पारेको हो । नेपाल अपराजित रहेर विजेता बन्दै यू–१९ विश्वकपलाई छानिएको छ । राउन्ड रोबिन लिगको अन्तिम खेल खेल्नुअघि नेपाल र यूएईले पहिलो ४ खेल जितेका थिए । र, अन्तिम खेल जित्ने टोली विश्वकपमा पुग्ने समीकरण बनेको थियो । एसिया क्षेत्रको विजेता टोलीमात्र विश्वकपमा पुग्ने प्रावधान छ । अन्तिम ३ ओभरमा यूएईलाई जितका निम्ति ११ रन चाहिँदा दीपेश आफ्नो अन्तिम ओभर लिएर बलिङमा आएका थिए ।