ब्रजिलका भूतपूर्व राष्ट्रपति जइर बोल्सोनारुका हजारौँ समर्थकहरूले देशको संसद, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा घुसपैठ गरेका छन्। ब्रजिलको झण्डाको चम्किलो पहेँलो र हरियो रङ्गको सर्टहरू लगाएका उनीहरूले त्यहाँ महत्त्वपूर्ण निकायहरू रहेका भवनमा तोडफोड गरेका छन्। यसो हुनुमा मुख्य कारण ब्रजिलमा दुई महिनाअघि तिक्ततापूर्ण चुनाव भएको थियो उक्त चुनाबमा सन् २०२२ को अक्टोबरमा भएको राष्ट्रपतीय निर्वाचनमा तत्कालीन दक्षिणपन्थी राष्ट्रपति जइर बोल्सोनारुको प्रतिस्पर्धा उनका वामपन्थी धारका प्रत्याशी लुला अर्थात् लुइज इनासियो लुला दा सिल्भासँग भएको थियो। चर्को र तिक्ततापूर्ण रूपमा भएको चुनावी प्रचारपछि ३० अक्टोबरमा, सन् २००३ ज्यानुअरीदेखि सन् २०१० को डिसेम्बरसम्म राष्ट्रपति रहेका, लुलाले बोल्सोनारुलाई झिनो अन्तरले जितेका थिए।
यो वामपन्थीविरूद्ध दक्षिणपन्थीको कुरा पनि हो साथै पुँजीवादी चुनाबमा आफू अनुकूलको नतिजा नआउँदा निर्वाचनलाई स्वीकार गर्न नचाहनेहरूको कुरा पनि हो। जसले गर्दा बोल्सोनारु चुनाब पछि पनि हारोष पोखी राखेका छन्। दङ्गामा सहभागी भएकाहरू त्यस्तो वर्गका पनि अतिवादीहरू हुन्। तर त्यहाँ लुलाका कैयौँ विरोधीहरू छन् जसले उनीबारेका दुष्प्रचार फैलाउँछन् र उक्साउने काम गर्छन्। यसअघि नै राष्ट्रपतिका रूपमा दुई कार्यकाल काम गरेका लुलाले जेलमा समेत समय बिताएका छन्। बोल्सोनारुका समर्थकहरु जेलमा बसेको व्यक्ति पुनः राष्ट्रपतिका रूपमा फर्कनु "लज्जास्पद" भएको बताउँछन्। सन् २०१७ मा भ्रस्टाचारमा दोषी पाइएपछि लुलाले ५८० दिन जेलमा बिताएका छन्। लुला सहभागी हुन प्रतिबन्धित भएको सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा बोल्सोनारुले जित हासिल गरेका थिए। तर ब्रजिलको सर्वोच्च अदालतले उनलाई सफाइ दिएको थियो र लुलालाई पुनः प्रतिस्पर्धामा सहभागी हुने बाटो खुल्यो। तर लुलाका कैयौँ आलोचकहरूका तर्कमा ब्रजिलको सर्वोच्च अदालतले उनलाई सफाइ दिए तापनि त्यसको अर्थ उनी निर्दोष होइनन्। उनीहरूले त्यसरी दोषमुक्त गर्ने काम प्रक्रियागत आधारमा भएको बताउँछन्। अर्कोतर्फ लुलाका समर्थकहरूले लुलाविरूद्धको मुद्दा राजनीतिक भएको बताउँछन्। उनीहरूको दृष्टिकोणलाई त्यति बेला धेरैले ध्यानपूर्वक हेरे जतिखेर सर्वोच्च अदालतमा उक्त निर्णय सुनाउने व्यक्ति बोल्सोनारु सरकारमा मन्त्री बने। उनीहरूले लुलाको सुनुवाइमा ती व्यक्तिले पक्षपात गरेको ठान्छन्।
जइर बोल्सोनारुका कैयौँ समर्थकहरूले उनलाई "संरक्षक"का रूपमा हेर्छन् जसले, उनीहरूका भनाइमा, उनीहरूका मूल्यको बचाऊ गर्छन्। ती मूल्यलाई उनीहरूले "ईश्वर, पितृभूमि, परिवार"का रूपमा हेर्छन्। जइर बोल्सोनारुका कैयौँ समर्थकहरूले उनलाई "संरक्षक"का रूपमा हेर्छन् । बोल्सोनारुका कैयौँ समर्थकहरूले लुलाको जितलाई ती मूल्यहरूमाथिको जोखिमका रूपमा हेरेका छन्। जसका पछाडि वामपन्थी नेताविरुद्धका अफवाहहरू छन् जुन चुनावी अभियानका बेला लुलाले जितमा गिर्जाघरहरू बन्द गरिने भन्दै फैलाइएका थिए। ती मतदाताहरू लुला पराजित हुनेमा विश्वस्त थिए र उनले जित्ने बित्तिकै त्यसलाई स्वीकारिहालेनन्। केही सैनिक ब्यारेकबाहिर समेत धर्ना बस्दै सेनालाई लुलालाई राष्ट्रपति बन्नबाट रोक्नुपर्ने भनिरहेका थिए जुन सम्भव हुनुको अर्थ सैन्य कू को माग भन्ने हुन्थ्यो। यद्यपि सेनाले त्यसो गरेन र योजनाबद्ध ढङ्गले नै लुलाले राष्ट्रपतिको शपथ लिए। राजधानी ब्रसिलियामा दङ्गा लुलाले शपथ लिएको मात्र एक सातापछि भएको थियो। हार स्वीकार्न नमानेका बोल्सोनारुले उनको शपथग्रहण समारोहमा सहभागी भएनन् बरु अमेरिका गए। लुलालाई बारम्बार "ब्रजिलको कम्युनिस्ट खतरा" भन्दै आएका उनीहरूलाई लुला राष्ट्रपतिको शपथ र राष्ट्रपति भवन सरेको कुरा असह्य भयो। सेनाले समेत निराश पारेको ठानेपछि उनीहरूले आफैँ अघि सर्ने निर्णय गरे र आफूहरूको प्रतिनिधित्व नगर्ने ठान्दै ती राज्यका संस्थामा हस्तक्षेप गरे। हमलाकारीहरूले ती राज्यका निकायलाई आफूले बोकिरहेको मान्यताका लागि खतराका रूपमा समेत लिए। जइर बोल्सोनारुको विभाजित पार्ने धारणा र उनले ब्रजिलको निर्वाचन प्रणालीको विश्वसनीयतामाथि उठाएको प्रश्नले आइतबारको दङ्गाको लागि ठूलो बल दियो। चरणबद्ध रूपमा भएको निर्वाचनमा उनले बारम्बार ब्रजिलको मतदान प्रणाली छल हुने जोखिममा रहेको दाबी गरेका थिए। उक्त दाबीलाई बारम्बार निर्वाचन अधिकारीहरूले खारेज गरिदिएका थिए। बोल्सोनारुको दलले दर्ता गरेको एउटा चुनौतीलाई निर्वाचन सम्बन्धी अदालतले अस्वीकार समेत गरेको थियो। बिबिसि ।