काठमाडौं–ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । पेलेको वास्तविक नाम एडसरन एरेन्टस डो नासिमेन्टो हो । उनी १७ वर्षको उमेरमै फुटबल स्टार बनेका थिए । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो । २१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १ हजार २८१ गोल गरेर विश्व रेकर्ड कायम गरेका छन् । उनी एकमात्र फुटबल खेलाडी हुन् जसले तीन पटक विश्वकप जितेका छन् ।१९५८, १९६२ र १९७० मा विश्वकप उपाधि जितेको ब्राजिलको टोलीमा पेले सहभागी थिए । उनी सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानितसमेत भएका थिए । उनले फुटबल खेल्न भने १५ वर्षको उमेरमा सेन्टोस क्लबबाट सुरु गरेका थिए । डेब्यू खेलमा उनले पहिलो गोल गरेका थिए । त्यसपछि १९ वर्षसम्म उनले त्यसै क्लबबाट खेले र कूल ६४३ गोल गरे । उनको निधनमा विश्वभरबाट शोक व्यक्त भइरहेको छ । कतार वर्ल्ड कपको विजेता अर्जेन्टिनी फुटबलर मेसी, क्रिष्टियानो रोनाल्डो, नेयमार लगायतले पनि उनको निधनमा शोक व्यक्त गरेका छन् ।