अत्यधिक चिसो मौसमका कारण अमेरिका र क्यानडामा २५ करोड मानिसहरूले जोखिमको सामना गरिरहेका छन्। अमेरिकाका १२ वटा राज्यमा सङ्कटकालीन कदमहरू चालिएको छ भने कम्तीमा १९ जना मानिसहरूले ज्यान गुमाएका छन्। मोन्टाना राज्यमा कीर्तिमानी माइनस ४५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। अमेरिकामा लगभग १५ लाख घर र व्यापारिक भवनहरूमा बिजुली आपूर्ति प्रभावित भएको छ भने हजारौँ उडानहरू रद्द भएका छन्। उक्त व्यापक चिसो आँधी टेक्ससदेखि क्यानडाको कुबेकसम्म ३,२०० किलोमिटरभन्दा धेरै क्षेत्रमा फैलिएको छ। वायुमण्डलीय चाप घटेपछि अमेरिका-क्यानडा सीमा क्षेत्रमा रहेका ठूला तालहरू भएको क्षेत्रमा बरफसहितको तुफानको अवस्था देखा परेको छ। क्यानडामा ओन्टेरियो र कुबेकले उत्तरी ध्रुवीय विस्फोटको असर भोगिरहेका थिए र त्यहाँ हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको थियो। ब्रिटिस कोलम्बियादेखि न्यू फन्डल्यान्डसम्म देशका अधिकांश भागमा चरम चिसो र हिमआँधीको चेतावनी दिइएको थियो। हिउँले ढाकिएको क्षेत्रमा तापक्रम माइनस १७ डिग्री सेल्सीअस भएको थियो।