हेइटीको राजधानी पोर्टो प्रिन्समा हेर्दाखेरि सहरभित्र कुनै भौतिक सिमाना कोरिएको त देखिँदैन तर त्यहाँ तपाईँले आफू कहाँ र कुन परिधिमा रहेको छु भनेर बुझ्नै पर्छ। नत्र ज्यान जान सक्छ। एकआपसमा लडाईँ गरिरहेका भिन्न भिन्न सशस्त्र गुण्डाका समूहहरूले आ-आफ्नो इलाका कोरेका छन् जहाँ तिनले बेफिक्री अपहरण, बलात्कार, तथा हत्याका शृङ्खला मच्चाइरहेका छन्। तिनको सिमाना रगतले कोरिएको छ। एउटा गुण्डा समूहको इलाकाबाट अर्कोमा जाँदा होस् गर्नुस् ज्यानै जान सक्छ। त्यसैले यहाँका बासिन्दाले मनमनै सहरको नक्सा बनाएका हुन्छन् जसमा त्यहाँका इलाकाहरू हरियो, पहेँलो वा रातो भनेर छुट्ट्याएका हुन्छन्। हरियो भनेको सुरक्षित र गुण्डा नभएको क्षेत्र हो। पहेँलो भनेको आज सुरक्षित तर भोलि सम्भवत: खतरनाक हुनसक्छ। रातोमा त जानै भएन। सशस्त्र समूहको दबदबा बढ्दै गर्दा हरियो इलाका खुम्चँदैछ।
राजधानी नै कब्जा
पोर्टो प्रिन्स तथा छेउछाउका भूभागमध्ये आधाभन्दा धेरैमा सशस्त्र समूहहरूको नियन्त्रण रहेको त्यहाँका मानवअधिकार समूहहरूले बीबीसीलाई बताएका छन्। पछिल्ला महिनाहरूमा सशस्त्र गुटहरूले मच्चाएको हिंसाका कारण त्यहाँ सयौँको ज्यान गएको छ भने हजारौँ घरबार छाडेर भाग्न वाध्य भएका छन्। गत वर्ष हेइटीका राष्ट्रपति जोभनल मोइजको हत्यापश्चात् त्यहाँ अशान्ति बढेको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार हेइटी ‘भिरको डिल’मा पुगेको छ। सहायता निकायहरूका अनुसार त्यहाको संसद् वरपरको क्षेत्र अनि राजधानी भित्रिने र बाहिरिने सडकमा सशस्त्र समूहको नियन्त्रण छ। मानिसहरू रातबिरात बाहिर निस्कँदैनन्। कतिपय आवश्यक नपरिकन निस्कँदैनन्। प्रधानमन्त्री आरियल अनरीले अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेका छन्। तर उनी स्वयं उनको कार्यालय आउजाउ गर्न सकिरहेका छैनन्। स्रोत बिबिसि ।