बार्सिलोना — युरोपेली महारथीहरू स्पेन र जर्मनी विश्वकपको समूह ‘डी’ मा आमनेसामने हुँदै छन् । विश्वकपको उपाधि जितेका दुई टिम एउटै समूहमा परेको यसैमा मात्रै हो । समूहका अन्य दुई टोली जापान र कोस्टारिकाले अनपेक्षित नतिजा निकाल्ने प्रयास गर्नेछन् । दुई ठूला टिमको प्रतिस्पर्धाले समूहमा शीर्षस्थानको फैसला गर्दै अर्को चरणमा स्थान बनाउने अपेक्षा गरिएको छ । स्पेन र जर्मनी दुवैका लागि सन् २०१८ मा रुसको यात्रा राम्रो भएको थिएन । त्यस बेला स्पेन अन्तिम १६ र जर्मनी समूह चरणबाटै बाहिरिएका थिए । कतारमा विश्वकप सुरु हुँदा दुवै टिमले उच्चस्तरको प्रदर्शन गर्ने आशा गरेका छन् । यी दुई नोभेम्बर २७ मा आपसमा भिड्ने छन् । चारपल्टको विश्वकप विजेता तथा डिफेन्डिङ च्याम्पियनका रूपमा रुस पुगेको जर्मनी लज्जास्पद ढंगले समूह चरणको सबभन्दा तल रहेको थियो । उसले सन् १९३८ पछि पहिलोपल्ट समूह चरण पार गर्न सकेको थिएन, जसलाई प्रतियोगिताकै इतिहासमा एउटै ठूलै अनपेक्षित नतिजा मानिन्छ ।
जोचिम लोको टिमले सन् २०१४ को सेमिफाइनलमा आयोजक ब्राजिलमाथि ७–१ को सनसनीपूर्ण जित हासिल गरेको थियो । त्यसपछि फाइनलमा लियोनल मेसीको टिम अर्जेन्टिनालाई हराएर उपाधि जितेको थियो । जर्मनी युरो २०२० मा पनि असफल भएको थियो, जसमा उसलाई इंग्ल्यान्डले अन्तिम १६ मा पराजित गर्यो । त्यसले जर्मन टिममा लोको युग समाप्त पारेको थियो । त्यसपछि बायर्न म्युनिखका पूर्वप्रशिक्षक हान्सी फ्लिक टिम सम्हाल्न पुगे । उनले जर्मन टिमलाई ताजा बनाउँदै विपक्षीलाई तीव्र गतिमा दबाब दिने र सशक्त खेलको योजनामा ढालिदिएका छन् ।
जर्मनी आकर्षक खेलाडीहरूको उर्वर क्षेत्र नै हो । बायर्नका सेर्गे जिनब्री र जमल मुसियलासँगै चेल्सीका काई हाभर्ट्ज तथा स्थापित खेलाडी जोसुआ किमिच र थोमस मुलर टिममा छन् । स्पेनी टिम पनि उस्तै किसिमको छ । पेड्री, गावी, अन्सु फातीजस्ता प्रतिभावान् युवा खेलाडीहरू तथा सर्जियो बुस्केट्स र अल्भारो मोराटाजस्ता स्टारहरू छन् । ‘ला रोजा’ ले एकपल्ट विश्वकप जितेको छ । सन् २०१० को त्यो उपाधि यात्रामा उसले सेमिफाइनलमा जर्मनीलाई हराएको थियो । स्पेनले युरो २००८ को फाइनलमा पनि जर्मनीलाई पराजित गरेको थियो । लुइस इनरिकेको टिमले सनसनीपूर्ण खेल प्रदर्शन गर्दै नोभेम्बर २०२० मा लो नै प्रशिक्षक रहेको अवस्थामा जर्मनीलाई ६–० ले हराएको थियो । नेसन्स लिगको जितमा फेरान टोरेसले ह्याट्रिक गरेका थिए । तर, उक्त प्रतियोगिताको फाइनलमा स्पेनलाई फ्रान्सले सिकार बनाइदियो । स्पेनलाई युरो २०२० को सेमिफाइनलमा इटालीले हराएर सन् २००८–२०१२ पछि उपाधिको खडेरी तोड्ने अभियानलाई फेरि धक्का पुर्याएको थियो । स्पेनले पछिल्लोपल्ट जितेको उपाधि युरो २०१२ हो । त्यसपछि डिफेन्डिङ च्याम्पियनका रूपमा विश्वकपमा पुगेको स्पेन २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो ।
स्पेनका लागि रुसको यात्रा पनि खासै राम्रो भएन । प्रतियोगिताका पूर्वसन्ध्यामा प्रशिक्षक जुलेन लोपेतेगुईलाई रियल म्याड्रिडको हुनेवाला प्रशिक्षक घोषणा भएकाले बर्खास्त गरेको स्पेनी टिम विश्वकपको अन्तिम १६ बाट घर फर्किएको थियो । प्रशिक्षक लुइस इनरिकेको टिम छनोटमा स्वदेशमै केही विवाद पनि भयो । तर, स्पेनसँग उनको नतिजा राम्रो छ । उनले पनि तीव्र गतिमा उच्च दबाब दिएर बल पोजेसनमा हाबी हुने गरी खेल खेलाउने गर्छन् । विश्वकपमा उपाधिकै बलियो दाबेदार पनि हुन् जर्मनी र स्पेन । उनीहरूले समूह चरणमा जापान र कोस्टारिकाको पनि चुनौती बेहोर्ने छन् । प्रशिक्षक हाजिमे मोरियसुको नेतृत्वमा जापानी टिम एसियन कप २०१९ को फाइनल पुगेको थियो । विश्वकपमा अन्तिम १६ भन्दा माथि कहिल्यै नपुगेको जापानले नोभेम्बर २३ मा जर्मनीको सामना गर्दै कतारमा प्रतिस्पर्धा थाल्नेछ ।
काओरो मितोमाको दुई गोलमा अस्ट्रेलियालाई हराएर जापान दुई खेल बाँकी छँदै विश्वकपमा छनोट भएको थियो । उक्त हारले अस्ट्रेलियालाई प्ले–अफतर्फ धकेलेको थियो । मोनाकोका आक्रामक खेलाडी ताकुमी मिनामिनो र आर्सनलका डिफेन्डर ताकेहिरो तोमियसु जापानी टिमका मुख्य दुई खेलाडी हुन् । रियल सोसिडाडका विंगर ताकेफुसा कुबो र सेल्टिकका दाइजेन माएदा पनि महत्त्वपूर्ण छन् । अस्ट्रेलियाजस्तै कोस्टारिका पनि अन्तरमहादेशीय प्ले–अफबाट विश्वकपसम्म आइपुगेको हो । उसले गत जुनमा भएको प्ले–अफमा न्युजिल्यान्डलाई १–० ले पराजित गर्दै विश्वकपमा स्थान बनाएको थियो । कागजी रूपमै भए पनि कोस्टारिका समूह ‘ई’ मा सबभन्दा कमजोर टिम हो । सन् २०१४ को विश्वकपमा पनि कोस्टारिकाको अवस्था उस्तै थियो । त्यस बेला उसले उत्कृष्ट प्रदर्शन गर्दै उरुग्वे, इटाली र इंग्ल्यान्ड रहेको समूहमा शीर्षस्थान कब्जा गरेको थियो । मध्य अमेरिकी टिमलाई क्वाटरफाइनलमा नेदरल्यान्ड्सले पेनाल्टी सुटआउटमा हराएको थियो । त्यो नै कोस्टारिकाको विश्वकपमा सबभन्दा राम्रो प्रदर्शन हो ।
प्रशिक्षक लुइस फर्नान्डो सुआरेजले २०२१ मा सम्हालेको कोस्टारिकन टिम पेरिस सेन्ट जर्मेनका गोलकिपर केयलर नाभासमा निर्भर छ । नाभास रियल म्याड्रिडका पूर्वखेलाडी पनि हुन् । हाल लियोनमा रहेका आर्सनलका पूर्वस्ट्राइकर जोएल क्याम्वेल र आलाजुलिन्सीका ब्रायन रुइज निकै सिर्जनशील छन् । ब्रायन फुलहमका पूर्वखेलाडी पनि हुन् । कोस्टारिकाले नोभेम्बर २३ मा स्पेनविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । त्यसपछि जापानविरुद्ध नोभेम्बर २७ को खेल कोस्टारिकाका लागि महत्त्वपर्ण हुनेछ । दुई ‘अन्डरडग’ टिमको अगाडि बढ्ने अवसरका लागि पनि उक्त खेल महत्त्वपूर्ण बन्नेछ ।