रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धपछि अहिले विश्व "सम्भवतः सबैभन्दा खतरनाक दशकमा" भएको चेतावनी दिएका छन्। विभिन्न विषयहरू समेटिएको उनको सम्बोधनमा उनले युक्रेनमाथिको रुसी आक्रमणको औचित्य पुष्टि गर्ने प्रयास गरेका थिए। पश्चिमा देशहरूले रुसविरुद्ध परमाणुयुद्धको त्रास देखाएर साझेदारहरूलाई मस्कोसँग टाढिन बाध्य पारेको आरोप उनले लगाए। हालै क्रेम्लिनले अप्रत्यक्ष रूपमा दिएको परमाणुअस्त्र प्रयोग गर्ने धम्कीको पश्चिमा देशहरूले निन्दा गरेका थिए। मस्कोमा सम्बोधन गर्नु एक दिनअघि उनले शत्रुबाट हुन सक्ने भीषण परमाणुआक्रमणको प्रतिकारमा गर्ने भनिएको परमाणुअस्त्र आक्रमणसम्बन्धी एउटा नियमित अभ्यासको निरीक्षण गरेको जनाइएको छ।
उनले भने, "हामीले कहिल्यै पनि आफैँ अग्रसर भएर रुसको सम्भावित परमाणुअस्त्र प्रयोगबारे केही पनि भनेका छैनौँ। हामीले पश्चिमा देशका नेताहरूले दिएको प्रतिक्रियाका कारणमा केही सङ्केतहरूमात्रै दिएका छौँ, उनले भने। राष्ट्रपति पुटिनले यसअघिकी ब्रिटिश प्रधानमन्त्री लिज ट्रसले अगस्टमा भएको उनको चुनावी अभियानमा परिस्थितिले माग गरे आफू परमाणुअस्त्रको बटन थिच्न तयार रहेको बताएको कुरा उल्लेख गरेका थिए। यूकेका साझेदारहरूले त्यसप्रति आपत्ति जनाएको नदेखेर आफूलाई आश्चर्य लागेको भन्दै उनले थपे, "हामीले के गर्नुपर्थ्यो होला? मौन बस्नु? त्यसलाई हामीले सुनेनौँ जस्तो गरेर बस्नु? तर उनी स्वयंले रुसले आफूसँग "उपलब्ध भएसम्मका सबै साधन" आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने चेतावनी दिने गरेका छन्। त्यसलाई परमाणुअस्त्र प्रयोग गर्न सक्ने स्पष्ट चेतावनीका रूपमा पश्चिमा देशहरूले बुझ्ने गरिएको छ।
हालै आफूले गरेका पश्चिमा देशप्रतिको कडा आलोचनालाई दोहोर्याउँदै उनले तिनीहरूले "खतरनाक, रक्तपातपूर्ण र फोहोरी खेल" का माध्यमले कैयौँ देशहरूलाई सार्वभौमसत्ता र मौलिकता प्रयोग गर्न वञ्चित गरेको आरोप लगाए। उनले विश्वमामिलामा पश्चिमको "अविभाजित प्रभुत्व" अब अन्त्य हुन लागेको बताए। हामी एउटा ऐतिहासिक मोर्चामा छौँ। दोस्रो विश्वयुद्ध अन्त्य भए यताकै सम्भवतः सबैभन्दा खतरनाक, भविष्यवाणी गर्न नसकिने र महत्त्वपूर्ण दशक हाम्रा सामु छ," उनले भने। उनले पश्चिमा जगत्ले नेतृत्व लिन नसक्ने भए पनि "व्याकुल भएर प्रयास" गरिरहेको बताए। भविष्यको विश्वव्यवस्था हाम्रो आँखाअघि निर्माण भइरहेको छ," उनले भने। अमेरिकाको नेतृत्वमा पश्चिमा जगत्ले रुसलाई ध्वस्त बनाउने प्रयास गरेको उनको आरोप थियो।