काठमाडौँ — जानेर नहुन पनि सक्छ, कुनै बेला के काण्डमा परे, कुनै समय के काण्डमा मुछिए । तर, अञ्जन विष्टले कहिल्यै हार खाएनन् । त्यसैले त उनी फेरि नेपाली राष्ट्रिय फुटबल टोलीमा फर्किंदा ह्याट्रिक हिरो भएका छन् । उनले तीन अवसर पाए, तीनपल्टै गोल गरे । त्यसैमा नेपालले दशरथ रंगशालामा मंगलबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशमाथि ३–१ को जित निकाल्यो । दशरथ रंगशालामा मंगलबार बंगलादेशविरुद्ध ह्याट्रिक गोलका लागि हेड प्रहार गर्नेक्रममा नेपालका अञ्जन विष्ट ।
बन्द प्रशिक्षणमा अव्यवस्थित होस्टेल होइन, होटलमा बस्न पाउनुपर्ने माग गरेका रोहित चन्दलाई साथ दिएको भन्दै कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एसियन कप छनोटको तयारीमा राष्ट्रिय टिमबाटै १० खेलाडीलाई निकालेका थिए । त्यसमा खेलाडीप्रति समर्थन जनाएका नियमित कप्तान किरण चेम्जोङ पनि थपिए । विवादास्पद प्रशिक्षक अल्मुताइरी बिदामा रहेको भन्दै अखिल नेपाल संघ (एन्फा) ले बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेलका लागि अमेरिकाबाट झिकाएर प्रदीप हुमागाईंलाई कार्यवाहक मुख्य प्रशिक्षक बनायो । उनले अल्मुताइरीबाट निष्कासित ११ खेलाडीलाई टिममा फिर्ता बोलाए ।
जम्मा एक खेलमा टिम सम्हाल्न आइपुगेका प्रशिक्षक हुमागाईंको २३ सदस्यीय टिममा चार गोलकिपर राख्ने र अल्मुताइरीविरुद्ध उत्रिएका ११ सिनियर खेलाडीलाई फिर्ता बोलाउने निर्णय कतै बदलाको भावनाबाट प्रेरित त थिएन ? प्रश्नहरू बढिरहेका थिए, अनुत्तरित नै थिए । तर, त्यो काण्ड र छनोटबारे हुमागाईंले चित्तबुझ्दो जवाफ दिन सकेका थिएनन् । अल्मुताइरीले बनाएको युवा टिमले जेठमा भएको एसियन कप छनोटमा खराब नतिजा नै बेहोरेको भए पनि सामाजिक सन्जालमा फुटबलप्रेमी र अल्मुताइरीका समर्थकहरू सिनियर खेलाडीविरुद्ध खनिएका थिए । त्यसैले सिनियर खेलाडीका लागि पनि मैत्रीपूर्ण खेल एक किसिमले प्रतिष्ठाको लडाइँ नै थियो । त्यसमा उनीहरू र हुमागाईं सफल रहे ।
निकालिएका ११ मध्ये ९ खेलाडीलाई प्रशिक्षक हुमागाईंले आठ हजार बढी दर्शकसामु पहिलो रोजाइमा मैदानमा उतारे । त्यसैले हुन सक्छ, २४ वर्षीय अञ्जनले अन्तर्राष्ट्रिय करिअरमा पहिलो ह्याट्रिकसँगै नेपाली टिममा गरेको पुनरागमनबारे सोधिएको प्रश्नको जवाफ दिए, ‘यो (ह्याट्रिक र पुनरागमन) त म शब्दमा बयान गर्न सक्दिनँ । कत्तिपछि खेल्न पाएँ, विगतमा के भयो, त्यो सम्झिन चाहँदिनँ । त्यस्तै कुराहरूले रहेछ झन् बलियो बनाउने । मैले गरेको महसुसलाई शब्दमा बयान गर्न सक्दिनँ । एकदम धेरै नै खुसी छु । मेरो फिलिंग्स सबैसामु सेयर गर्न पाएको छु । म अझै खेल्छु । म नेपालका लागि योग्य छु भन्ने लाग्छ ।
६ वर्षयता पहिलो ह्याट्रिक
संयोग वा मिहिनेत । अञ्जनले नेपाली टिमबाट ५० औं खेलमा आएर पहिलो ह्याट्रिक गरेका हुन् । तीनै गोल पहिलो हाफमा गरे । उनले विमल घर्तीमगरको फ्रिकिकमा हेडद्वारा गोल गर्दै १८ औं मिनेटमा खाता खोलेका थिए । विशाल राईको पासमा अञ्जनले पेनाल्टी क्षेत्रमा मिलाइदिएको बललाई तेज तामाङले प्रहार गरे, जसमा पाहुना टिमका गोलकिपर अनिसुर रहमानले राम्रो बचाउ गरे । तर, बल पेनाल्टी क्षेत्रमै रहेका अञ्जन नजिक पुग्यो, जसलाई सहजै पोस्टको दिशा दिँदै अञ्जनले २७ औं मिनेटमा दोस्रो गोल गरे । उनले विशालको फ्रिकिकमा ३८ औं मिनेटमा हेडर गोल गर्दै ६ वर्षयता ह्याट्रिक गर्ने पहिलो नेपाली खेलाडी बने ।
उनी एउटै खेलमा तीन गोल गर्ने नेपालका छैटौं खेलाडी हुन् । यसअघि यो उपलब्धि गणेश थापा (सन् १९८७), नरेश जोशी (१९९९), नीराजन रायमाझी (२००१), भरत खवास (२०१३) र नवयुग श्रेष्ठ (२०१६) ले ह्यािट्रक गरेका थिए । उनी दशरथ रंगशालामा घरेलु टिमका लागि दोस्रो ह्याट्रिककर्ता हुन् भने ९ वर्षयताको पहिलो ।
परम्परागत प्रतिद्वन्द्वीविरुद्धको ह्याट्रिकसँगै दसौं गोल पूरा गरेपछि अञ्जनले पूर्वकप्तान अनिल गुरुङ र भरतसँग गोलसंख्या बराबरी गरेका छन् । अब उनी कीर्तिमानी गोलकर्ता नीराजन र हरि खड्का (समान १३ गोल) को नजिक पुगेका छन् । जुमनु राईले ११ गोल गरेका छन् । विमल ९ गोलको अवस्थामा छन् । स्रोत कान्तिपुर ।