विश्वकै सबैभन्दा गोप्य सीआईए सङ्ग्रहालयभित्र के के छन ।

Sep Mon 2022 02:27:02

विश्वकै सबैभन्दा गोप्य सीआईए सङ्ग्रहालयभित्र के के छन ।
  • विश्वकै सबैभन्दा अनौठो र खास सङ्ग्रहालय हुनुपर्छ। इतिहासलाई फरक आकार दिन प्रयोग भएका कलाकृतिहरूले भरिएको यो सङ्ग्रहालय सर्वसाधारणहरूका लागि भने अझै बन्द छ।

  • यो मात्रै एउटा सङ्ग्रहालय हो जहाँ ओसामा बिन लादेन मारिँदा उनले भिरिरहेको बन्दुक राखिएको छ। सँगै राखिएको छ सद्दाम हुसेनको छालाको ज्याकेट पनि। यो अमेरिकी गुप्तचर निकाय सीआईएको गोप्य आन्तरिक सङ्ग्रहालय हो।

    अमेरिकी राजधानीसँगै रहेको भर्जिनियामा अवस्थित सीआईए मुख्यालय भित्रको यो सङ्ग्रहालयमा सङ्कलित सामग्रीहरू गुप्तचर संस्थाको ७५ औँ वार्षिकोत्सवको अवसरमा भर्खरै व्यवस्थित गरिएका छन्। बीबीसीसहित सानो सङ्ख्यामा पत्रकारहरूलाई हालै यो सङ्ग्रहालयमा सुरक्षा निगरानीमा विशेष पहुँच दिइएको थियो। यहाँ प्रदर्शनीमा राखिएका ६०० वस्तुहरूमा शीतयुद्धकालताका प्रयोग हुने जासुसी उपकरणहरू मात्रै हुन सक्लान् भन्ने तपाईँको अनुमान हुनसक्छ। यहाँ गोप्य सन्देश आदानप्रदानमा प्रयोग गरिने ग्याजेट, चुरोटको बट्टामा जडान गरिएको जासुसी क्यामरा, जासुसी क्यामरा जडान गरिएको परेवा र विस्फोट हुनसक्ने वाइन ग्लासहरू मात्र राखिएका नभई सीआईएका चर्चित पछिल्ला कारबाहीहरूमा प्रयोग र प्राप्त गरेका उपकरणहरू पनि छन्।

    प्रदर्शनीमा राखिएका यस्ता कैयौँ सामग्री मध्येको एक पाकिस्तानमा ओसामा बिन लादेन बस्ने गरेको घरको नमुना पनि हो। सन् २०११ मा अल-कायदा नेता लादेनमाथि आक्रमण गर्नुअघि अमेरिकी राष्ट्रपतिलाई यही नमुना घर देखाएर जानकारी गराइएको र छापा मार्ने अनुमति मागिएको थियो।

    "थ्रीडीमा बनाइएका यस्ता बस्तुहरूले नीति निर्माताहरूलाई सजिलो बनाइदियो सँगसँगै हाम्रो कारबाहीको लक्ष्य तय गर्न पनि सहयोग पुग्यो," सङ्ग्रहालयका निर्देशक रोबर्ट जेड बायर भन्छन्।

    यसै वर्षको जुलाई ३० मा अमेरिकी क्षेप्यास्त्रले अफगान राजधानी काबुलको एउटा घरमा बसिरहेका अल-कायदाका नयाँ नेता अयमान अल-जवाहिरी मारिए।

    तस्बिर स्रोत,CENTRAL INTELLIGENCE AGENCY

    यो सङ्ग्रहालयमा थपिएको सबैभन्दा नयाँ वस्तु चाहिँ जवाहिरीमाथि आक्रमण गर्नुअघि २०२२ को जुलाई १ मा राष्ट्रपति जो बाइडनलाई जानकारी गराउन प्रयोग गरिएको नमुना घर र परिसर हो।

    जवाहिरीलाई घरको कौसीमा निस्किएका बेला आक्रमण गरिएको थियो र उनको गतिविधि अध्ययनका लागि अमेरिकी गुप्तचरहरूले महिनौँ खर्चिएका थिए।

    "यसले प्रतिआतङ्कवाद अधिकारीहरूले आफ्नो लक्ष्यको जीवनशैलीलाई कसरी पछ्याउँछन् भन्ने देखाउँछ," बायर भन्छन्।

    सङ्ग्रहालयको पहिलो आधा खण्डमा सन् १९४७ मा सीआईएको स्थापनादेखि शीत युद्धसम्म तथा सन् २००१ को सेप्टेम्बर ११ आक्रमण र त्यसपछिका प्रतिआतङ्कवाद कारबाहीहरूसँग सम्बन्धित सामग्री छन्। यहाँ राखिएका कतिपय सामग्री आक्रमणमा मारिनेहरूका आफन्तहरूले उपहार दिएका पनि छन् ।Iयो सङ्ग्रहालयका अवलोकनकर्ता चाहिँ सीआईएका आफ्नै कर्मचारी र औपचारिक भ्रमणमा आउने अन्य व्यक्तिहरू मात्रै हुन्। यहाँ क्युवामा फिडेल क्यास्ट्रोलाई पदबाट हटाउन खोज्दा सीआईए असफल भएका प्रसङ्ग र इराकमा आम विनाशका हतियारहरू भेट्न असफल भएका सन्दर्भहरू पनि अटाइएका छन्।

    "यो सङ्ग्रहालय इतिहासको प्रयोजनका लागि मात्रै होइन। हामी सीआईएका अधिकारीहरूलाई यहाँ ल्याउँछौँ र उनीहरूले यसका राम्रा र खराब दुवै इतिहासबारे थाहा पाउँछन्," बायर भन्छन्।

    "भविष्यमा अझै राम्रो गर्नका लागि हामीले सफलता र असफलता दुवैबाट सिक्न जरुरी छ।"

    यद्यपि सीआईएका कतिपय विवादास्पद पक्षहरू भने यहाँ खासै देखिँदैनन्। उदाहरणका लागि इरानमा प्रजातान्त्रिक विधिबाट निर्वाचित सरकारलाई अपदस्थ गर्न सन् १९५३ मा एमआईसिक्ससँग चालिएको संयुक्त कारबाही र सन् २००१ यता सन्दिग्ध आतङ्ककारीहरूलाई दिइएका यातनाको विषय खासै भेटिँदैनन्। स्रोत बिबिसि न्युज नेपाली ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?