पृथ्वीलाई बाह्य तत्वहरूबाट जोखिम छ भन्ने धारणा पहिलोपटक सुन्दा त्यो काल्पनिक विज्ञान कथाजस्तै सुनिन्छ । शत्रुतापूर्ण एलियनहरू कि त अस्तित्वमा नै छैनन् भए पनि धेरै टाढा छन् र तिनबाट पृथ्वीलाई कुनै खतरा छैन । तर, अन्तरक्षिका चट्टान (छुद्रग्रह)हरू वास्तविक हुन् र केही चट्टान पृथ्वीबाट खतरनाक रूपले नजिक छन् । रुसको चेल्याबिन्स्क ओब्लास्टको एक सहर चेबारकुलका बासिन्दाले २० मिटरजति माथि वायुमण्डलमा एउटा उल्कापिण्ड विस्फोटनको साक्षी बनेको मुस्किलले दशक भयो । त्यो विस्फोटनमा कसैको मृत्युु नभए पनि करिब १५ सय मानिस झ्यालका सिसाका टुक्राले लागेर गम्भीर घाइते भएका थिए ।
चेल्याबिन्स्कमा खसेको उल्कापिण्डभन्दा अलि ठूलो पिण्ड पृथ्वीमा ठोक्किन आइपुगेको खण्डमा त्यसबाट ठूलो क्षति हुनेछ । अनि पृथ्वीतर्फ बत्तिएर आउने सक्ने सम्भावना बोकेका यस्ता थुप्रै पिण्ड छन् । नियर अर्थ अब्जेक्ट(पृथ्वीनजिकका पिण्ड वा वस्तुहरू)पत्ता लगाउने र तिनलाई पछ्याउने उद्देश्य राखेको नियो अब्जर्भेसन परियोजनाले एक सय ४० मिटर वा त्योभन्दा ठूलो (२५ हजार मिटरसम्मका) व्यास भएका उल्का पिण्डहरूलाई सूचीबद्ध गर्ने काम ९० प्रतिशत सकिसकेको छ भने अन्य लक्ष्यमा पनि ५० प्रतिशतभन्दा धेरै उपलब्धि हासिल गरेको छ । यो अध्ययनअनुसार अहिलेसम्म कुनै तात्कालिक खतरा पत्ता लागेको छैन । तर, यस्तो खतरा पत्ता लागेको हुन्थ्यो भने सम्भावित जोखिमबारे मानिसहरूले गर्न सक्ने केही हुन सक्थ्यो त ?
यस प्रश्नको सम्भावित जवाफ खोज्न अमेरिकाको अन्तरिक्षसम्बन्धी निकाय नाशाले भर्खरै डार्ट(डबल एस्टोरोइड रिडाइरेक्सन टेस्ट)नाम दिइएको एउटा अन्तरिक्ष यानलाई डिर्मोफोस नामक एउटा सानो उल्कापिण्डसँग ठोक्काएको छ । उक्त घटना ग्रिनविच समयअनुसार २६ सेप्टेम्बरमा भएको थियो । डार्टको तौल ६०० किलो थियो भने यसलाई डिमोर्फोससँग ठोक्काउनुको अभिप्रायः यसको परिक्रमाको दिशालाई परिवर्तन गर्नु रहेको थियो । डार्टकै एक हिस्साका रूपमा रहेको सहयोगी यान एलआइसिआइएक्युुबले यो घटनालाई रेकर्ड गरेको छ । यो पृथ्वीसँग ठोक्किन आउन सक्ने जोखिमी पिण्ड वा बाह्य वस्तुहरूको मार्ग बदल्न चाहिने स्तरको परीक्षण थियो । र, यसले उक्त पिण्डको दिशालाई १० मिनेटको अक्षमा बदलेको थियो । यो नतिजा जमिनमा स्थापित टेलिस्कोपको अवलोकनका आधारमा हासिल गरिएको थियो ।
तर यस्तो ठक्करको आयोजना गर्न सजिलो छैन । न्युटनको गतिसम्बन्धी नियमको मेकानिक्सले तपाईंलाई पृथ्वीबाट डिडिमोस प्रणालीलाई पर धकेल्न अनुमति दिन्छ । तर, लक्ष्यलाई भेदन गर्न सक्रिय मार्गदर्शन चाहिन्छ । पृथ्वी र डिडिमोस (करिब एक करोड १० लाख किलोमिटर) बीचको वर्तमान दूरीको कारण यस्तो निर्देशन पूर्ण स्वचालित हुनु जरुरी हुन्छ । यो स्वचालनलाई यानमा जडित क्यामेराले खिचेका तस्बिरहरूको सफ्टवेयर प्याकेजको विश्लेषणले निर्देशित गर्छ र यानलाई सही निसानामा ठोक्काउन त्यसको इन्जिन प्रणालीलाई आवश्यकताअनुसार दिशाबोध दिन्छ । खुसीको कुरा, यो परियोजनाले लक्ष्यलाई भेदन गरेको छ । अब खगोलविद्हरूले डिमोरफोस केबाट बनेको छ भनेर राम्ररी बुुझ्न ठक्कर पछि एलआइसिआइएक्युुबले खिचेका धुलो र चट्टानको अध्ययन गर्नेछन् । त्यसले उनीहरूलाई डिमोर्फोसको कक्षको परिवर्तनलाई व्याख्या गर्न सहयोग गर्नेछ । साथै, उक्त घटनामा नियो अब्जर्भेसन कार्यक्रमले केही चिन्ताजनक कुरा फेला पा¥यो भने त्यसको सामना गर्ने मिसन तय गर्न पनि मद्दत गर्नेछ ।
– द इकोनोमिस्टबाट