अभिनन्दन, महान् इरानी जनता !
अमेरिकी साम्राज्यवाद र त्यसको पिछलग्गु फासिस्ट इजरायली सरकारले इरानमाथि जुन हमला गरेका छन् र इरानका सर्वोच्च नेता खामेनी सहित ठुलो सङ्ख्यामा त्यहाँका उच्चाधिकारीहरू समेतको हत्या गरेका छन्, त्यसको ने.क.पा. (मसाल) ले तीव्र शब्दमा भर्त्सना गरिसकेको छ र विश्वव्यापी रूपमा नै त्यो हत्या काण्डको विरोध भइरहेको छ ।
यसको लागि हामीले इरानी जनताको अभिनन्दन गर्दछौँ कि त्यति ठुलो हमला वा हत्याकाण्डका बावजुत उनीहरू पछाडि हटेका छैनन् र उनीहरूले मध्य–एसिया स्थित अमेरिकी सैन्य अखडाहरू तथा इजरायलमाथि ठुलो पैमानामा प्रतिरोध वा हमला गरिरहेका छन् । उनीहरूको त्यो कारबाहीले इरानी जनताको महानतालाई बताउँछ र त्यसको लागि विश्वभरका सम्पूर्ण जनताबाट उनीहरू अभिनन्दनका लागि योग्य छन्, त्यसैले, हामीले पनि उनीहरूको अभिनन्दन गर्दछौँ ।
बाह्य र प्रकट रूपमा अमेरिकी साम्राज्यवाद धेरै नै शक्तिशाली भएजस्तो देखिन्छ तर, वास्तवमा आÇना त्यस प्रकारका फासिस्ट र आतङ्कवादी कारबाहीहरूका लागि त्यो विश्वभरमा नै धेरै बदनाम भएर गएको छ । विश्वव्यापी रूपमा त्यसको विरोध बढ्दै गइरहेको छ । खाली साम्राज्यवादद्वारा पीडित राष्ट्र वा जनतासित मात्र होइन, साम्राज्यवादी क्याम्पका युरोप वा अमेरिकाका राष्ट्रहरूसित पनि त्यसको अन्तर विरोध बढेर गएको छ । त्यसको रुस, चीन र उत्तर कोरियासितको अन्तर विरोध ता पहिलेदेखि नै तीव्र थियो, अब त्यसको नाटोसितको अन्तर विरोध पनि बढ्दै गइरहेको छ । ग्रीनल्याण्डमाथि कब्जा गर्ने, क्यानडालाई युएसएको ५१ औँ राज्य बनाउने र पनामा नहरमाथि कब्जा जमाउने नीतिका कारणले त्यसको अमेरिकाका कैयौँ देशहरूसित अन्तर विरोध बढेर गएको छ । क्युवासित पहिलेदेखि नै त्यसको अन्तर विरोध थियो । अब त्यसले भेनेजुएलाका राष्ट्रपति मदुरोलाई अपहरण गरेको कारणले सम्पूर्ण दक्षिण अमेरिकासितको त्यसको अन्तर विरोध तीव्र भएर गएको छ । भारत पहिलेदेखि नै त्यसको मित्र देश थियो । अब त्यससितको पनि अमेरिकाको सम्बन्ध एक वा अर्को प्रकारले बिग्रँदै गइरहेको छ । मध्य–एसियाका देशहरूसितको त्यसको सम्बन्ध पनि बिग्रँदै गइरहेको छ । अहिलेको इरान र अमेरिका बिचको युद्धको परिणामस्वरूप मध्य–एसियामा अमेरिकाको स्थिति अरू कमजोर हुनेछ । स्वयं अमेरिकाका जनताको ट्रम्पप्रतिको विरोध बढ्दै गइरहेको छ । ती विभिन्न प्रकारका अन्तर्विरोधहरूका कारणले ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाको स्थिति झन् पछि झन् कमजोर हुँदै गइरहेको छ । त्यस सन्दर्भमा यो प्रश्न पनि नउठाईकन रहन सकिन्न ः त्यस प्रकारको व्यक्तिलाई अमेरिकी जनताले कसरी राष्ट्रपतिमा निर्वाचित गरे ? त्यसबाट अमेरिकाको लोकतन्त्रको जग कति धेरै कमजोर हुँदै गइरहेको छ वा, अर्को शब्दमा, त्यो कति धेरै दिवालिया हुँदै गइरहेको छ ? त्यो कुरा दिनको उज्यालो झैँ छर्लङ्ग छ ।
ट्रम्पले विश्वव्यापी रूपमा चलाएको ट्यारिफको नीति तथा त्यसले अपनाएको आप्रवासी नीतिका कारणले पनि विश्वव्यापी रूपमा नै अमेरिकाको राजनीति मात्र होइन, आर्थिक स्थिति पनि धेरै खलबलिन पुगेको छ । अहिले विश्व पुँजीवादभित्रको आर्थिक सङ्कट बढ्दै गएको छ र स्वयम् अमेरिकाको आर्थिक स्थिति पनि धेरै कमजोर हुँदै गइरहेको छ । ट्रम्पले ‘अमेरिका प्रथम’ को नारा दिएर त्यसलाई विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र बनाउने घोषणा गरेका छन्, तर व्यवहारमा त्यसको स्थिति झन् पछि झन् कमजोर हुँदै गइरहेको छ । वास्तवमा त्यस्तो खाली ट्रम्पको कारणले मात्र भएको होइन, उनको नेतृत्वमा अहिले अमेरिकाको स्थिति जसरी कमजोर हुँदै गइरहेको छ, त्यो वास्तवमा पुँजीवादको प्रतिगामी र पतनोन्मुख चरित्रको स्वभाविक वा अनिवार्य परिणाम हो । ट्रम्पको नेतृत्वमा त्यो प्रक्रिया अर्थात् पुँजीवादको पतनोन्मुख प्रक्रिया, अरू तीव्र भएर गएको छ । त्यसको परिणामस्वरूप अमेरिका अरू शक्तिशाली बन्ने होइन, झन् कमजोर हुँदै जानेछ । त्यसरी, बाह्य रूपमा अमेरिका जति शक्तिशाली देखिए पनि आन्तरिक रूपमा त्यो तीव्र गतिले कमजोर हुँदै गइरहेको छ । उनले अहिले विश्व स्तरमा नै साम्राज्यवादलाई जसरी पतनोन्मुख दिशामा अगाडि बढाउँदै लगिरहेका छन्, त्यसले विश्व पुँजीवादलाई नै साङ्घातिक अवस्थामा पु¥धाइरहेको छ ।
अहिले इरानी जनताले जुन युद्ध गरिरहेका छन्, त्यो खाली इरानको मात्र युद्ध होइन र त्यो युद्ध विश्वभरका जनताको साम्राज्यवाद र युद्धका विरुद्धको तथा विश्व शान्तिको रक्षाका लागि भइरहेको युद्ध अङ्ग हो । त्यसैले, त्यो युद्धको विश्वव्यापी महŒव छ । अहिले त्यो युद्धले जुन रूपमा विकास गर्दै गइरहेको छ, त्यसको परिणामस्वरूप त्यत्रो विश्वयुद्ध वा आणविक युद्ध नै सुरु हुने खतरा पनि अत्यन्त गम्भीर छ । त्यसो भएमा त्यसबाट सम्पूर्ण मानव जातिलाई नै ठुलो क्षति पुग्नेछ । त्यस प्रकारको स्थिति उत्पन्न हुन नदिनका लागि साम्राज्यवादलाई पराजित गर्नुपर्दछ । त्यसरी नै युद्धलाई अन्त्य गर्नु, विश्व शान्तिको रक्षा गर्नु र त्यसरी सम्पूर्ण मानव जातिको रक्षा गर्नु सम्भव हुनेछ ।
अहिले इरानी जनताले जुन युद्ध गरिरहेका छन्, त्यो साम्राज्यवाद विरुद्धको अन्तर्राष्ट्रिय युद्धको महŒवपूर्ण कडी हो । अन्त्यमा त्यो युद्धमा इरानी जनताको विजय हुने र अमेरिका तथा इजरायल समेतको हार हुने कुरा निश्चित छ । त्यो युद्धमा इरानी जनताको विजय संसारका साम्राज्यवाद विरोधी र शान्तिप्रेमी सम्पूर्ण जनताको नै विजय हुनेछ ।
अमेरिकी साम्राज्यवादले आÇना साम्राज्यवादी उद्देश्यहरू पुरा गर्न वा विश्वमा आÇनो प्रभुत्व कायम गर्न नेपाललाई आÇनो युद्ध भूमि बनाउन खोजिरहेको छ । त्यस कारण अमेरिकी साम्राज्यवादका विरुद्ध सम्झौताहीन सङ्घर्ष गर्नु नेपाली जनताको पनि जिम्मेवारी हुन जान्छ । तर यो कम गम्भीर कुरा होइन कि जस्तो कि भारतको मोदी सरकारले इरानमा भएको खामेनीको हत्याको विरुद्ध एक शब्द पनि बोलेको छैन, त्यही प्रकारले नेपालको सरकारले पनि त्यो हत्याकाण्डका विरुद्ध कुनै आवाज उठाएको छैन । इरानका सर्वोच्च नेता खामेनीको हत्याका विरुद्ध र साम्राज्यवादका विरुद्धको इरानी जनताको महान् प्रतिरोधात्मक युद्धको समर्थनमा हामीले सरकारको त्यस प्रकारको साम्राज्यवाद परस्त नीतिको भर्त्सना गर्दै सम्पूर्ण न्याय र शान्तिप्रेमी नेपाली जनतासित इरानी जनताको अमेरिकी साम्राज्यवादका विरुद्धको महान् प्रतिरोधात्मक युद्धलाई दृढतापूर्वक समर्थन गर्न अपिल गर्दछौँ । खाडी देशहरूमा लाखौँ नेपालीहरूले काम गर्दछन् । त्यस कारण उनीहरूको रक्षाको प्रश्न पनि अत्यन्त गम्भीर प्रश्न भएको छ । त्यस कारण, उनीहरू रक्षाका लागि प्रभावशाली कदम उठाउनको लागि पनि हामीले नेपाल सरकारसित अपिल गर्दछौँ ।
यस सन्दर्भमा यो पनि उल्लेखनीय छ कि नेपालका विभिन्न वामपन्थी वा प्रजातान्त्रिक शक्तिहरूले इरानमा भएको हत्या काण्ड वा इरानी जनताको साम्राज्यवादको युद्धप्रति मौन वा तटस्थ रहेर एक वा अर्को प्रकारले भारतको मोदी सरकार वा नेपालको अन्तरिम सरकारको नीतिलाई नै अनुसरण गरेको पाइन्छ । जहाँसम्म ने.क.पा. (मसाल) को प्रश्न छ, त्यसले सुरुदेखि नै त्यसप्रति स्पष्ट र दृढ नीति अपनाउँदै आएको छ । अमेरिकाले इरानमा गरेको त्यो भीषण हत्याकाण्डका विरुद्ध कुनै आवाज नउठाउनुको अर्थको प्रकारान्तरले वा सार रूपमा अमेरिकी साम्राज्यवादको समर्थन गर्नु नै हुनेछ र त्यसको परिणाम नेपालका लागि पनि अत्यन्त घातक हुनेछ । त्यसैले हामीले सबै वामपन्थी र प्रजातान्त्रिक शक्ति वा न्याय प्रेमी जनतासित अमेरिकी साम्राज्यवादका विरुद्ध इरानी जनताको महान् प्रतिरोधात्मक युद्धलाई समर्थन गर्न अगाडि आउन अनुरोध गर्दछौँ ।
अमेरिका र इजरायलको इरानमाथिको हमलाबाट उत्पन्न स्थितिबाट फाइदा उठाएर त्यहाँका प्रतिगामी शक्तिहरूले राजतन्त्रको पुनस्र्थापनाका लागि पनि प्रयत्न गर्न थालेका छन् । तर हामीलाई विश्वास छ, इरानका जनताले त्यस प्रकारका प्रयत्नलाई पनि निश्चित रूपले असफल बनाइदिनेछन् ।
अहिले इरानी जनताले अमेरिकी साम्राज्यवादका विरुद्ध जुन युद्ध गरिरहेका छन्, त्यसको अर्को एउटा गम्भीर र महŒवपूर्ण पक्षप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । त्यो के हो भने, अमेरिकाको समर्थनमा नै लाखौँ प्यालेस्टाइनी जनतालाई आÇनो मातृभूमिबाट हटाएर त्यहाँ इजरायली सरकारको गठन गरिएको थियो । त्यसरी इजरायल सरकारको स्थापना पछाडिको अमेरिकाको उद्देश्य खाडीका देशहरूमा आÇनो प्रभुत्व कायम गर्नु नै हो । त्यो कार्यका विरुद्ध प्यालेस्टाइनी जनताले साढे सात दशकदेखि सङ्घर्ष गर्दै आइरहेका छन् । प्यालेस्टाइनी जनताको त्यो गौरवपूर्ण र न्यायपूर्ण सङ्घर्षलाई विश्वव्यापी रूपमा समर्थन प्राप्त भएको छ । तर अमेरिकी साम्राज्यवाद र त्यसको पिछलग्गु इजरायल सरकारले प्यालेस्टाइनी जनतालाई उनीहरूको न्यायपूर्ण अधिकारबाट वञ्चित गर्न र उनीहरूलाई पूरै विनाश गर्न पूरा शक्ति लगाइरहेका छन् । इरान प्यालेस्टाइनी जनताको त्यो मुक्ति आन्दोलनको प्रबल समर्थक हो । त्यसैले पनि प्यालेस्टाइनी जनताको आन्दोलनलाई कमजोर पार्न पनि अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्ने गरेका छन् । त्यसै गरेर मदुरोलाई अपहरण गरेर भेनेजुएलाको पेट्रोलको विशाल राशिमाथि कब्जा गर्न खोजे जस्तै अमेरिकाले इरानको तेलमाथि पनि पूरै कब्जा जमाउन चाहन्छ । इजरायलको सरकारको फासिस्ट शासनलाई कायम राख्न पनि अमेरिका र इजरायल मिलेर इरानमाथि आक्रमण र त्यसका सर्वोच्च नेता खामेनी समेतको हत्या गरेका थिए । त्यो बर्बर हत्याकाण्डको विरोध गर्दै अब इरानले इजरायलमाथि पनि कडा आक्रमण गरिरहेको छ । हामीले आशा र विश्वास गर्दछौँ, अन्त्यमा अमेरिकी साम्राज्यवाद र फासिस्ट इजरायल सरकारले पनि प्यालेस्टाइनी जनताको न्यायपूर्ण आन्दोलनलाई दबाउन सक्ने छैनन् र अन्त्यमा उनीहरूको मुक्ति आन्दोलन सफल हुनेछ ।
इरानमाथिको अमेरिकाको आक्रमण र खुमेनीको हत्यापछि संसारमा एक प्रकारको ध्रुवीकरण जस्तै भएको छ । विश्वको ठुलो जनमतले अमेरिकाको इरानमाथिको आक्रमण र खामेनीको हत्याको विरोध गरेको छ भने, अर्कातिर, संसारमा अमेरिका र इजरायलको त्यो गतिविधिको समर्थन गर्ने तŒवहरूको पनि कमी छैन । यो स्पष्ट छ कि नेपालमा पनि त्यस प्रकारको ध्रुवीकरण भइरहेको छ । अमेरिका परस्त तत्वहरूले या त अमेरिका र इजरायलको त्यस प्रकारको गतिविधिको खुलेरै समर्थन गरेका छन् वा त्यसबारे एक वा अर्को प्रकारले मौन वा तटस्थ बस्ने नीति अपनाएका छन् । अमेरिकाले जसरी अन्तर्राष्ट्रिय कानुन समेतको उलङ्घन गरेर खुला र फासिस्ट प्रकारले विश्वव्यापी रूपमा नै एक प्रकारले जङ्गली राज चलाउने प्रयत्न गरिरहेको छ, ढिलो छिटो त्यसले नेपालमा पनि त्यस प्रकारको नीति अपनाउने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । एकातिर, चीनसितको त्यसको बढ्दो विरोध र, अर्कातिर, तिब्बतमाथि आक्रमण गर्ने र दलाइ लामालाई त्यहाँ पुनर्स्थापना गर्ने त्यसको रणनीतिका कारणले नेपाल पनि अमेरिकाको त्यस प्रकारको नीतिको सिकार हुन सक्ने सम्भावनालाई पूरै अस्वीकार गर्न सकिन्न । त्यो अवस्थामा अमेरिकाले विश्वका अन्य देशहरूमा अपनाउँदै गइरहेको जङ्गली प्रकारको कार्यविधि मात्र होइन, नेपालमा पनि त्यसले अपनाउने साम्राज्यवादी नीतिप्रति सम्पूर्ण नेपाली जनताको ध्यान जानुपर्ने आवश्यकता छ । त्यो क्रममा जुन तत्वहरूले अमेरिकी साम्राज्यवादको खुला वा छद्म प्रकारले सेवा गरिरहेका छन्, उनीहरूप्रतिको भण्डाफोर बढाएर जनताको चेतना उठाउनुपर्ने आवश्यकताप्रति पनि हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ । किनभने अन्त्यमा जनताको चेतनाले नै सबै कुराको फैसला गर्दछ ।
अन्त्यमा, हामीले महान् इरानी जनताप्रति उच्च सम्मान प्रकट गर्दै पुनः उनीहरूको अभिनन्दन गर्न चाहन्छौँ । यो लेख मोहन विक्रम सिंहको फेसवुक पेजवाट हामिले लिएका हौँ । लेखक नेपाल कम्युनिस्ट पार्टी ( मसाल ) को महामन्त्री र कम्युनिस्ट आन्दोलनको चर्चित व्यक्ति हुनुहुन्छ ।