प्रज्ञा भवनमा ‘८२ सालको गाईजात्रा’ : ‘प्रधानमन्त्रीको बेडरुम’ प्रहसनबाट सत्तालाई प्रश्न
रास्वपा नेता गणेश कार्कीले पनि प्रहसन हेरेर टिप्पणी गरेका छन् । ‘प्रधानमन्त्रीको बेडरुम शीर्षकको प्रहसनले वास्तविक सत्ता कहाँ छ र तिनको प्राथमिकता के हो भन्ने प्रष्ट देखाउने उनको भनाई छ ।
काठमाडौं । प्रज्ञा भवन, कमलादीमा अहिले ‘८२ सालको गाईजात्रा’ प्रहसन चलिरहेको छ । शुक्रबारदेखि सुरु भएको प्रहसन मंगलबारसम्म हुनेछ ।
हास्यकलाकार मनोज गजुरेल र शैलेन्द्र सिंखडाको समूहले आयोजना गरेको गाईजात्रा प्रस्तुतिमा अहिलेका चर्चित युवा कमेडियन पनि जोडिएका छन् ।
सुबोध गौतम, सुमन कार्की, पशुपति शर्मा, नवराज पराजुली, चक्र दवाडी, सीता न्यौपाने, प्रभात लामा, मेक्सम गौडेल, प्रकृति गिरी, श्रेया सुवेदी, आशिष खनाल, सन्देश सुवेदी, युमी गौतम यो गाईजात्रामा हाँस्य प्रस्तुति दिइरहेका छन् ।
उनीहरूको प्रस्तुतिमा समसामयिक राजनीति, समाज र मानवीय प्रवृत्तिलाई व्यंग्यको केन्द्रमा राखिएको छ ।
गजुरेल र सिंखडाले हरेक वर्ष गाईजात्रा प्रहसन आयोजना गर्दै आएका छन् । यसवर्ष पनि प्रज्ञा भवनको गाईजात्रा प्रहसन हेर्न दर्शकको उपस्थिती बाक्लो छ । दलका नेताहरू पनि दर्शक बनेर त्यहाँ पुगिरहेका छन् ।

रास्वपा नेता गणेश कार्कीले पनि प्रहसन हेरेर टिप्पणी गरेका छन् । ‘प्रधानमन्त्रीको बेडरुम शीर्षकको प्रहसनले वास्तविक सत्ता कहाँ छ र तिनको प्राथमिकता के हो भन्ने प्रष्ट देखाउने उनको भनाई छ ।
कार्की लेख्छन्, ‘प्रधानमन्त्रीको बेडरूम शिर्षकको प्रहसनले वास्तविक सत्ता कहाँ छ र तिनको प्राथमिकता के हो भन्ने प्रष्ट देखाउँछ । अन्य प्रस्तुतिहरू पनि पेट मिचिमिची हँसाउने र मथिङ्गल हल्लाउने गरि प्रश्न गर्ने रहेछन् ।’
उनले प्रहसनका प्रश्न, व्यंग्य र आलोचनाहरू रास्वपा सभापति रवि लामिछानेप्रति पनि लक्षित रहेको बताएका छन् ।
‘त्यसमा कतिपय कुराहरू हामीले भित्रबाट हेर्ने भन्दा विपरित लाग्दा रहेछन् । यसले पारदर्शी मूल्यांकन गर्न झन् सहयोग गरेको छ’ लेख्छन्, ‘हिजोको आनन्द र हिजोबाट प्राप्त अनुभूतिको जय होस् । ८२ सालको गाईजात्रामा जोडिएका सबैप्रति नमन् छ । दुःखबिचमा खुसी खोज्ने नजर सबैको प्रकट होस् ।’