janayatra

रुसलाई नेपाल सरकारको कुटनितिक नोट।

Author जनयात्रा मङ्गलबार, १९ मंसिर २०८०

views
रुसलाई नेपाल सरकारको कुटनितिक नोट।

नेपाल–नेपाल सरकारले रुसी सेनामा भर्ती गरिएका नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्न रुसलाई कूटनीतिक नोट पठाएको छ।नेपाल सरकारले आफ्नो नीतिविपरीत रुसले नेपालीलाई सेनामा भर्ती गर्दै आइरहेको पनि स्मरण गराएको छ। रुसले युक्रेनसँगको युद्धमा मारिएका नेपालीको औपचारिक जानकारी दिएपछि परराष्ट्र मन्त्रालयले रुससमक्ष नेपाली युवालाई सेनामा भर्ना नगर्न र भर्ती भइसकेका युवालाई पनि तत्काल नेपाल पठाउन अनुरोध गरेको हो । ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत रुसी सरकारलाई अनुरोध गरिएको छ,’ परराष्ट्रद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।रुसले गत चैतदेखि नेपालीलाई आफ्नो सेनामा भर्ती गर्न सुरु गरेको हो । रुसी र नेपाली मानव तस्करहरूबीच सम्बन्ध स्थापित भएपछि गत जेठबाट भर्ती प्रक्रियाले तीव्रता लिएको बुझिएको छ । नेपालले त्रिभुवन विमानस्थल हुँदै रुस जान रोक लगाएपछि विकल्पमा भारत हुँदै रुस जानका लागि २८ जना नेपाली युवा दिल्लीस्थित नेपाली दूतावासमा नो अब्जेक्सन लेटर (एनओसी) लिन पुगेका थिए ।परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भई मारिएका ६ जना नेपालीको विवरण पनि सोमबार सार्वजनिक गरेको छ । यसअघि चार जनाको मृत्युको विवरण मात्रै परराष्ट्रले दिएको थियो ।रुस–युक्रेन युद्धमा घाइते भएका कम्तीमा ८ जना नेपाली रुसी अस्पतालमा उपचाररत रहेको विवरणलाई पनि परराष्ट्रले सार्वजनिक गरेको छैन । रुसी सेनामा कार्यरत नेपालीका अनुसार कम्तीमा ५ सय जना नेपाली रुसी सेनामा भर्ती भइसकेको अनुमान गरीएको छ ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC