लाखौ नेपालीहरुमा आँखाको समस्या ।
काठमाडौँ–नेपालमा १५ लाख ६५ हजार नौ सय सातजना मानिस कुनै न कुनै आँखाको समस्याबाट प्रभावित भएको देखिएको छ। ‘रेपिड असिस्मेन्ट अफ अभोइडेबल ब्लाइन्डनेस (आरएएबी) २०२२’ को तथ्यांकअनुसार ४० हजार दुई सय ३० मा अन्धोपन, ६३ हजार नौ सय ८५ मा दृष्टिमा गम्भीर समस्या, दुई लाख ८५ हजार आठ सय २५ को दृष्टिमा मध्यम खालको समस्या, तीन लाख ९३ हजार एक सय पाँचजनाको दृष्टिमा माइल्ड समस्या र सात लाख ८२ हजार सात सय ६२ जनामा अन्य विभिन्न किसिमको समस्या देखिएको छ । अन्धोपन, जलविन्दु, मोतियाविन्दु, डायबेटिक रेटिनोप्याथीलगायत समस्याको समयमै उपचार नपाउँदा ८० प्रतिशत प्रभावित दृष्टिसम्बन्धी समस्या भोगिरहेका छन् । समयमै चस्मा नलगाउँदा र सामान्य सर्जरीको पहुँचमा नहुँदा प्रभावितको ठूलो संख्याले आँखासम्बन्धी समस्या भोगिरहेका छन् । तर, सर्जरी र चस्माको माध्यमबाट अधिकांशमा दृष्टिको समस्या निको पार्न सकिने अध्ययनले देखाएको छ ।
आरएएबीको तथ्यांकअनुसार हाल सबैभन्दा बढी मोतियाविन्दुको समस्याबाट प्रभावित छन् । मोतियाविन्दुको शल्यक्रियाको दर तुलनात्मक रूपमा निकै बढी भए पनि प्रभावितको संख्याका आधारमा दृष्टिको समस्या अझैसम्म मोतियाविन्दु मुख्य कारण बन्दै गएको छ । प्रभावित मध्य ६५.३ प्रतिशतमा मोतियाविन्दुको समस्या देखिएको छ । यसबाहेक कर्नियामा समस्याबाट ६.१ प्रतिशत, ग्लुकोमाबाट ५.८ प्रतिशत, आँखाको पछाडिको भागका देखिने विभिन्न रोगबाट ९.२ प्रतिशत प्रभावित भइरहेका छन् । आँखाको पछाडिको भागका देखिने समस्या अर्थात् रेटिना, कोरोइड र अप्टिक नर्भलाई असर गर्ने रेटिनोप्याथी, अप्टिक न्युरिटिस, म्याकुलर डिजेनेरेसन, इन्ट्राभिट्रेस हेमोरेज र रेटिनल डिटेचमेन्ट पनि धेरै मानिस प्रभावित बनेका छन् ।
आँखाको ग्लोबमा देखिने समस्याबाट ३.३ प्रतिशत, उमेर बढ्दै जाँदा दृष्टिमा आउने विभिन्न समस्याबाट ५.३ प्रतिशत, मधुमेहका कारण हुने डायबेटिक रेटिनोप्याथीबाट ०.८ प्रतिशत, आँखामा फुलो पर्ने समस्याबाट १.८ प्रतिशत, कर्नियामा हुने सुजनका कारण ०.३ प्रतिशत, मोतियाविन्दुको शल्यक्रियापछि हुन सक्ने जोखिमबाट १.८ प्रतिशत र रेफरेक्टिभ इरर अर्थात् आँखाले प्रकाशलाई सही तरिकाले रेफरेक्ट नसक्दा धमिलो देखिने समस्याबाट ०.६ प्रतिशत प्रभावित रहेको देखिन्छ । जसमध्ये ९० प्रतिशत प्रभावित ग्रामीण भेगमा बसोवास गर्नेमा रहेकाले समयमा उपचारसम्मको पहुँच न्यून पाइएको छ।