पूर्वराजाले १८ वर्षदेखि कर बुझाएनन् ।
काठमाडौँ–झापाको दमकस्थित पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको हिमालय महालक्ष्मी टी गार्डेन प्रालिले दमक नगरपालिकालाई १८ वर्षदेखि राजस्व तिरेको छैन । पूर्वराजपरिवारको स्वामित्वमा रहेको यो चिया बगान पाँच सय ७६ बिघा १७ कट्ठा १४ धुर जग्गाको सम्पत्ति कर नगरपालिकाले स्वमूल्यांकन गरेको छ । यद्यपि, बगानले भने हालसम्म कर तिरेको छैन । ०६२/६३ को परिवर्तनसँगै दमक नगरपालिकाले पूर्वराजपरिवारको बगानलाई सम्पत्ति कर लगाउँदै आएको छ । हिमालय महालक्ष्मी टी गार्डेनले जग्गाको विवरण नबुझाएपछि दमक नगरपालिकाले स्वमूल्यांकन गरेर सम्पत्ति कर लगाएको हो । मालपोत कार्यालयमार्फत विवरण मगाएर दमक नगरपालिकाले आफैँ मूल्यांकन गर्दै राजस्व निर्धारण गरेको जनाएको छ । आर्थिक वर्ष ०६२/६३ देखि हालसम्म बगानले सम्पत्ति करबापत जरिवानासहित आठ करोड ६३ लाख ९७ हजार नौ सय ७७ रुपैयाँ कर बुझाउन बाँकी छ । यद्यपि, कर तिर्न र आफ्नो विवरण बुझाउन अझै हिमालय महालक्ष्मी टी गार्डेन नगरपालिका आएको छैन । ०७४ मा निर्वाचित जनप्रतिनिधिले पनि बगानबाट कर असुली गर्न सकेनन् । अहिले निर्वाचित जनप्रतिनिधिले पनि एक वर्षसम्म असुली गर्न सकेका छैनन् । गत फागुनमा बगानमा रहेको मिनी दरबारभित्र पूर्वराजा शाहले लामो समय बिताए । त्यस क्रममा दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले पूर्वराजा शाहलाई पटक–पटक भेट गरे । यद्यपि, बगानको राजस्व भने उठाउन सकेनन् । चिया बगानको जग्गा पूर्व–पश्चिम राजमार्गसँग जोडिएको छ । तसर्थ नगरपालिकाले त्यहीअनुसार स्वमूल्यांकन गरेर कर निर्धारण गरेको छ । चिया बगानले कृषिमा पर्ने भन्दै राजस्व छुट माग्दै दमक नगरपालिकामा निवेदन दिएको राजस्व अधिकृतले जानकारी दिए । ‘मजदुरलाई ज्याला पनि दिन नसकेर धराशयी भएको छ । केही न केही सहुलियत गर्नुपर्यो, कृषि प्रयोजनका लागि प्रयोग भएको जग्गा हो । त्यहीअनुसार राजस्व निर्धारण हुनुपर्छ भनेर निवेदन आएको छ,’ उनले भने, ‘आएको निवेदलाई बसेर यकिन गर्नुपर्छ । यो नगर सभाले गर्नुपर्ने कुरा हो ।’ दमकको वडा नम्बर ९ र ४ मा रहेको बगानको व्यवस्थापन हाल सोल्टी ग्रुपले गर्दै आएको छ । स्राेत नयाँ पत्रिका बाट ।