अमेरिका र दक्षिण कोरियाबीच परमाणु सम्झौता ।
काठमाडौँ–अमेरिकी राष्ट्रपति जो बाइडन र दक्षिण कोरियाली राष्ट्रपति योन सुक-न्यलले अमेरिकी पारमाणविक क्षमतायुक्त पनडुब्बी दक्षिण कोरियामा तैनाथ गर्ने लगायतका सहमति गरेका छन्। पछिल्लो सम्झौता उत्तर कोरियाली आक्रमणको सामना गर्न अमेरिकाले दक्षिण कोरियालाई गरिरहेको सहयोग मध्येकै एक भनिएको छ । अमेरिकी सहयोग पछि दक्षिण कोरियाले परमाणु अस्त्र कार्यक्रम अघि नबढाउने सहमति गरेको छ। वासिङ्टन घोषणा नाम दिइएको उक्त सम्झौतापछि आफ्नो देश र दक्षिण कोरियाबीच जारी सहकार्य थप मजबुत भएको अमेरिकी राष्ट्रपति बाइडनले बताए। परमाणु शक्ति, साइबर सहकार्य, जलवायु परिवर्तन र युक्रेन युद्ध लगायतका विषयमा छलफल गर्न अमेरिकामै रहेका दक्षिण कोरियाली राष्ट्रपति योनलाई सँगै राखेर बाइडनले पत्रकार सम्मेलन गरेका थिए। साताव्यापी भ्रमणको केन्द्रमा रहेको वासिङ्टन घोषणाबारे उल्लेख गर्दै योनले अमेरिकी सहयोगीहरूलाई बाह्य आक्रमणको सामना गर्न र परमाणु अस्त्र सहित आफ्नो सैन्य शक्ति प्रयोग गर्न अमेरिकाले “अभूतपूर्व” प्रतिबद्धता जनाएको बताए। उत्तर कोरियाले हालसम्मकै धेरै क्षेप्यास्त्र परीक्षण गरेसँगै बढ्दो पारमाणविक चुनौतीको चिन्तामाझ अमेरिका र दक्षिण कोरियाको यो घोषणा आएको हो। नयाँ सम्झौताका लागि कैयौँ महिनायता छलफलहरू चलिरहेको अमेरिकी प्रशासनका वरिष्ठ अधिकारीहरूले यसै साता संवाददाताहरूलाई बताएका थिए। यो सहमति अनुसार अमेरिकाले “आफ्नो प्रतिकार्य गतिविधि थप देखिने गरी अघि बढाउने छ र सन् १९८०को दशकको सुरुदेखि नपठाएको अमेरिकी पारमाणविक बलिस्टिक अस्त्रयुक्त पनडुब्बी सहित रणनीतिक अस्त्रहरू नियमित रूपमा दक्षिण कोरिया पठाउने छ जसले कोरिया प्रायदिपमा तनाब बढाउने देखिन्छ । दुवै पक्षले रणनीतिक योजनाबारे छलफलका लागि एउटा पारमाणविक परामर्श समूह पनि बनाउने भएका छन्। बिबिसि बाट ।