छत्तीसगढमा माओवादी आक्रमणमा ११ जना सुरक्षा कर्मीको मृत्यु ।
काठमाडौँ–भारतको छत्तीसगढ राज्यको दन्तेवाडामा माओवादीहरूले गरेको बम आक्रमणमा परेर १० सुरक्षाकर्मीसहित ११ जनाको ज्यान गएको समाचार संस्था र प्रहरी अधिकारीहरुले बताएका छन्। दन्तेवाडाको अरनपुर क्षेत्रमा माओवादीहरू रहेका सूचना पाएपछि एउटा गाडीमा सुरक्षाकर्मीको टोलीलाई त्यसतर्फ पठाइएको थियो। माओवादीविरुद्ध गरिएको सुरक्षा कारबाहीमा सुरक्षाकर्मीको गाडीलाई माओवादीहरूले विस्फोट गराएको बताइएको छ। मृत्यु हुनेमा डिस्ट्रिक्ट रिजर्भ गार्ड (डीआरजी) का १० जवान र गाडीका चालक थिए। घटनास्थलमै १० जना जवान र चालकको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। घटनापछि सो क्षेत्रमा खोजी अभियानका लागि अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ। दन्तेवाडाको अरनपुर क्षेत्रमा माओवादीहरू रहेका सूचना प्राप्त भएपछि कारबाही थालिएको थियो । घटनाप्रति दुःख व्यक्त गर्दै छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले माओवादीहरूलाई नछोडिने प्रतिक्रिया दिएका छन्। भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले मुख्यमन्त्री मुख्यमन्त्री बघेलसँग घटनाबारे जानकारी लिँदै केन्द्र सरकारले आवश्यक सबै सहयोग गर्ने बताएका छन्। आक्रमणमा परेको सुरक्षाकर्मीको गाडी क्षतविक्षत भएको बताइएको छ । उत्पीडित तथा खनिज पदार्थको धनी राज्य छत्तीसगढले साढे तीन दशकदेखि माओवादी सशस्त्र द्वन्द्व झेलिरहेको छ। भारतमा माओवादी विद्रोह पश्चिम बङ्गालको दुर्गम स्थानमा सन् १९६० मा भयो। नक्सलबाडीबाट सुरु भएकाले यो आन्दोलनलाई नक्सलवादी आन्दोलन पनि भनिन्छ। भारतका प्रमुख आन्तरिक सुरक्षा चुनौतीमध्ये माओवादी आन्दोलनलाई मानिएको छ । भारतीय सुरक्षाकर्मीले नक्सबाडीको विद्रोह दमन गरेको भने पनि माओवादीहरू सङ्गठित भए र पूर्वी तथा मध्य भारतको ठूलो क्षेत्रमा फैलिए बताइन्छ माओवादीहरू फैलिएको क्षेत्रलाई रेड करिडोर भनिन्छ। यी क्षेत्रहरु झारखण्ड, पश्चिम बङ्गाल, ओडिसा, बिहार, छत्तीसगढ र उत्तर प्रदेश पर्छन्। माओवादीको केही प्रभाव उत्तर प्रदेश तथा कर्नाटक राज्यमा पनि छ।