दूधको मूल्य बढयो ।
काठमाडौँ — नेपाल सरकारले दूधको मूल्य बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले किसानले पाइरहेको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ १० पैसा बढाउने निर्णय गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले यस्तो निर्णय लिएको हो । दूधको बजार मूल्यको तुलनामा किसानले पाउने मूल्य धेरै कम रहेकाले कच्चा दूधको मूल्य बढाउने निर्णय गरेको सरकारका अधीकारीहरुले बताए । यसअघि किसानले कच्चा दूधको मूल्य प्रतिलिटर ५६.४० रुपैयाँ पाउँदै आएका थिए, अब प्रतिलिटर ६५.५० रुपैयाँ पाउनेछन्। किसानले ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफको आधारमा उक्त मूल्य पाउनेछन् ।
मूल्यवृद्धिको कारण देखाउँदै डेरी उद्योग संघले गत पुस १६ मा एकलौटी रूपमा प्रतिलिटर १४ रुपैयाँ बढाएका थिए । चौतर्फी विरोधपछि संघले मूल्यवृद्धि स्थगन गरेको थियो । त्यसपश्चात् अध्ययनका नाममा सरकारसँग मिलेमतो गरी प्रतिलिटर १४ रुपैयाँ बढाउने तयारी थियो । त्यसको पनि विरोध भएपछि दाना, चोकर, मुद्रास्फीति, ढुवानी खर्च, उद्योगीको खर्च बढेको निष्कर्ष निकाल्दै राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन कृषि मन्त्रालयमा प्रस्ताव गरेको थियो । बोर्डको प्रस्तावका आधारमा कृषिले मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लगेको हो । मन्त्रिपरिषद्को निर्णयसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मूल्य बढाउन दुग्ध विकास संस्थान (डीडीसी) लाई परिपत्र गर्छ । त्यसपछि किसानले पाउने मूल्य कार्यान्वयन हुन्छ । ‘मन्त्रिपरिषद्बाट दूधको मूल्य बढेको जानकारी पाएका छौं, मन्त्रालयको परिपत्र/निर्देशनपछि तत्काल कार्यान्वयनमा जान्छ । नेपाल सरकारको स्वामित्वमा रहेको डीडीसीले देशभरका १२ सय दुग्ध उत्पादक सहकारीमार्फत दूध खरिद गर्दै आएको छ । दूध खरिद गरेबापत सहकारीलाई ‘टीएस’ खर्च दिइन्छ । डीडीसीका अनुसार किसानको मूल्यबाहेक सहकारीलाई प्रतिलिटर ४ रुपैयाँ दिइन्छ । सरकारले किसानले पाउने मूल्य बढेसँगै सहकारीले पाउने मूल्य पनि बढ्ने जनाएको छ । त्यसको प्रत्यक्ष असर भने दूधको खुद्रा मूल्य र दूधबाट उत्पादित वस्तुको मूल्यमा पर्नेर्छ ।
सरकारले बढाएको मूल्य सिधै किसानले पाउने हो तर सोही अनुपातमा सहकारीको खर्च पनि बढ्छ । अधिकारीहरुले बताए अनुसार कृषक मूल्य, संकलन मूल्य, प्रशोधन, प्याकेजिङ, प्रशासनिक खर्चसहित जोडेर उपभोक्ता खरिद मूल्य कायम हुन्छ । डीडीसीले हाल फ्याट निकालिएको नीलो प्याकेटको दूध प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्दै आएको छ । अब करिब ९६ रुपैयाँदेखि एक सय रुपैयाँसम्म पर्ने डीडीसीले जनाएको छ । ‘सरकारले किसानको मूल्य तोकेपछि सबै खर्च कटाएर उपभोक्ता मूल्य डेरीहरूले तोक्ने हो । अब उपभोक्तालाई दूधको मूल्य प्रतिलिटर १० देखि १४ रुपैयाँका दरले बढ्ने देखिन्छ ।