मासुको मूल्य बढ्यो ।
काठमाडौँ — राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले जिउँदो ब्रोइलर कुखुराको मूल्य बढाएको छ । कुखुराको माग बढे पनि उत्पादन घटेको जनाउँदै संघले शनिबारदेखि नयाँ मूल्य लागू गरेको हो । नयाँ मूल्य अनुसार प्रतिकिलो २ सय ८० रुपैयाँ निर्धारण भएको संघका सचिव देव गिरीले बताए । बर्डफ्लुका कारण धेरै कुखुरा नष्ट भएका छन् । किसानको उत्पादन घटेको बेला खपत भने घटेको देखिँदैन । बिहे/भोजभतेरले माग बढेकै छ,’ गिरीले भने, ‘माग बढेसँगै मूल्य पनि बढेको छ ।’ संघका अनुसार एक महिनायता मूल्य निरन्तर बढिरहेको छ । माघ १० गते संघले कोल्डस्टोर मूल्य प्रतिकिलो २ सय ५० रुपैयाँ तोकेको थियो । फागुन २ गतेदेखि फेरि मूल्य बढाएर २ सय ६० रुपैयाँ तोकियो । मूल्य बढेको ३ दिन नबित्दै संघले छ गते नै प्रतिकिलो १० रुपैयाँ बढाएर २ सय ७० पुर्याएको थियो । फागुन १३ गतेदेखि लागू नयाँ मूल्य प्रतिकिलो कोल्डस्टोर मूल्य २८० रुपैयाँ छ ।