janayatra

टर्की र सिरिया भूकम्पमा परि झन्डै १६,०००को मृत्यु ।

Author जनयात्रा शुक्रबार, २७ माघ २०७९

views
टर्की र सिरिया भूकम्पमा परि झन्डै १६,०००को मृत्यु ।

टर्की र सिरियामा सोमवार गएको शक्तिशाली भूकम्पपछि आश्रयस्थल, खानेपानी, इन्धन र बिजुलीको अभावमा अझै धेरै पीडितहरूको मृत्यु हुनसक्ने जोखिम रहेको विश्व स्वास्थ्य सङ्गठनले ‌बताएको छ। भूकम्प गएपछाडिको अवस्थामा दोस्रो विपद्को खतरा रहेको र अझै धेरै मानिसको ज्यान जानसक्ने चेतावनी डब्ल्यूएचओले दिएको छ। टर्की र उत्तरी सिरियामा बिहीवार अपराह्नसम्म झन्डै १६,००० मानिसले ज्यान गुमाएको पुष्टि भएको छ। टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले विनाशकारी प्रकोपमा सरकारको प्रतिक्रियाको बचाउ गर्दै दुई शक्तिशाली भूकम्पविरुद्ध पूर्व तयारी गर्नु असम्भव रहेको बताएका छन्। आलोचकहरूले भूकम्प प्रभावित क्षेत्रमा आपत्कालीन सेवाहरूको प्रतिक्रिया निकै ढिला भएको र सरकारको तयारी कमजोर रहेको जनाएका छन्। राष्ट्रपति एर्दोआनले सरकारले केही समस्याहरू सामना गरेको स्वीकार गरे, तर अहिले स्थिति "नियन्त्रणमा" रहेको बताएका छन्। यद्यपि टर्कीका प्रमुख प्रतिपक्षी दलका नेता केमाल किलिचदारोग्लुले उनको कुरामा सहमति जनाएनन्। "यदि यहाँ कोही एक व्यक्ति जिम्मेवार छन् भने त्यो एर्दोआन नै हुन्," उनले भने। राष्ट्रपतिले उक्त आरोपको खण्डन गर्दै विपद्पछि एकता आवश्यक रहेको बताए। यस्तो परिस्थितिमा समेत राजनीतिक स्वार्थका लागि नकारात्मक अभियान चलाउने व्यक्तिलाई सहन सक्दिनँ,” उनले पत्रकारहरूसँग भने।

 

© 2026 janayatra.com All rights reserved. | Design by OWC