janayatra

मौरीलाई रोगबाट बचाउन बन्यो पहिलो खोप ।

Author जनयात्रा बिहिबार, २८ पुस २०७९

views
मौरीलाई रोगबाट बचाउन बन्यो पहिलो खोप ।

संयुक्त राज्य अमेरिकामा सरकारले मौरीमा फैलिने रोग नियन्त्रण गर्न एउटा खोप प्रयोग गर्नका लागि स्वीकृति दिएको छ। यो खोप मौरीका लागि विश्वकै पहिलो खोप हो। मौरीका बच्चा (लार्भा) लाई आक्रमण गरी गोलोलाई कमजोर बनाउने 'अमेरिकन फाउलब्रूड' भनिने ब्याक्टेरियाबाट लाग्ने रोगबाट हुने क्षति रोक्न यो खोप निर्माण गरिएको हो। अमेरिकाको कृषि मन्त्रालय, यूएस डिपार्टमन्ट अफ एग्रिकल्चर, ले उक्त खोपलाई प्रयोगका निम्ति ससर्त अनुमति दिएको खोप निर्माता कम्पनीले बताएको छ। वनस्पतिहरूमा परागसेचन गराउने हुनाले मौरीको पारिस्थितिक पर्यावरण प्रणालीका विभिन्न पक्षमा विशेष भूमिका छ। ड्यालन एनिमल हेल्थकी प्रमुख एनेट क्लाइजरले एउटा विज्ञप्ति प्रकाशित गर्दै मौरी संरक्षणमा यो खोप ठूलो उपलब्धिभएको बताएकी छन्। 

 

यो खोपबाट रानी अर्थात् रानू मौरीलाई खुवाइने रोयल जेली’ (शाही खुराक) मा निष्क्रिय ब्याक्टेरिया हालिन्छ। रानूले पार्ने फुलबाट निस्किने लार्भामा अन्ततः ब्याक्टेरियाविरुद्ध प्रतिरोध क्षमता विकसित हुन्छ। यूएसडीएका अनुसार संयुक्त राज्य अमेरिकामा सन् २००६ देखि प्रत्येक वर्ष मौरीको गोलोको सङ्ख्या घटिरहेको छ। मौरीको विनाशका लागि विभिन्न कारक र कहिलेकाहीँ एकअर्कासँग सम्बन्ध भएका कारकहरू भएको यूएसडीएले जनाएको छ। ती कारकमा परजीवी, कीरा र रोग तथा कोलनी कोल्याप्स डिस्अर्डरभनिने समस्या आदि पर्छन्।

 

कामदार मौरीहरू घार र रानू मौरी छोडेर अन्यत्र जाने घटनालाई कोलनी कोल्याप्स डिस्अर्डर भनिन्छ। ड्यालन एनिमल' का अनुसार यो खोपमा पेनिब्यासिलस लार्भीअर्थात् अमेरिकन फाउलबर्ड रोग गराउने सूक्ष्मजीवलाई निष्क्रिय अवस्थामा राखिएको हुन्छ। कामदार मौरीले रानूलाई खुवाउने विशेष खुराकमा उक्त ब्याक्टेरिया मिसाइएको हुन्छ। खोपमा प्रयोग गरिएको ब्याक्टेरियाको केही अंश रानूको डिम्बाशयमा रहने उक्त 'बायोटेक' कम्पनीले जनाएको छ।

 

रानू मौरीले पार्ने फुलबाट बच्चा निस्किँदा तिनमा रोगप्रतिरोध गर्ने क्षमता विकसित भएको हुन्छ र त्यसबाट अन्ततः रोगका कारण हुने मृत्यु घट्छ। यो खोपबाट निकै राहत पुग्न सक्ने अपेक्षा अमेरिकाको क्यालिफोर्निया राज्यस्थित मौरीपालकहरूको सङ्गठनले व्यक्त गरेको छ। ड्यालनले यो खोप सीमित मात्रामाव्यावसायिक मौरीपालकहरूलाई उपलब्ध गराउने योजना बनाएको छ। मौरीको खोप यही वर्ष नै किनबेचका लागि तयार हुन सक्ने उसले जनाएको छ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC