janayatra

नेयमारको ब्रजिलको टोलीबाट अवकाश लिने सङ्केत ।

Author जनयात्रा आइतबार, २५ मंसिर २०७९

views
नेयमारको ब्रजिलको टोलीबाट अवकाश लिने सङ्केत ।

कतारमा भइरहेको विश्वकप फुटबलबाट आफ्नो देशको बहिर्गमनपछि नेयमारले ब्रजिलका लागि खेलिरहने कुरालाई आफूले शत प्रतिशत सुनिश्चित गर्न नसक्नेबताएका छन्। क्रोएशियासँग क्वार्टरफाइनलमा बेहोरेको पराजयसँगै ब्रजिलका प्रशिक्षक टिटेले राजीनामा दिएका छन्। सन् २०१८ को विश्वकप उपविजेता क्रोएशियासँग १-१ को बराबरी खेलेको उपाधिको प्रबल दाबेदार ब्रजिल पेनाल्टी सुटआउटमा पराजित बन्न पुग्यो। हारसँगै ६१ वर्षका टिटेले ब्रजिलको व्यवस्थापकको जिम्मेवारी पछि अब आफू टोलीबाट अलग हुने बताए। तर ३० वर्षका नेयमारले केही समय आफूले सोच विचार गर्ने बताए।

प्यारिस साँ-जर्माँका अग्रपङ्क्तिका खेलाडी रहेका नेयमारले थप गरिएको समयमा क्रोएशियाविरूद्ध गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिएका थिए। सो गोलसँगै नेयमारले ब्रजिलको राष्ट्रिय टोलीका लागि खेलेका १२४ खेलमार्फत ७७ गोल गरे। उक्त गोलसँगै उनले आफ्नो देशका सर्वोत्कृष्ट खेलाडी पेलेले राष्ट्रिय टोलीका लागि गरेको गोल सङ्ख्यासँग बराबरी गरेका थिए।तर त्यो खुसी लामो समय टिक्न पाएन। ब्रुनो पेटकोभिकले ११७ मिनेटमा खेललाई बराबरी ल्याए। र पेनाल्टी प्रहारमा ब्रजिल ४-२ ले पराजित हुनपुग्यो। नेयमारले भने, “मैले राष्ट्रिय टोलीका लागि कुनै पनि ढोका बन्द गरिसकेको छैन तर म फर्किन्छु भनेर शत प्रतिशत सुनिश्चित गर्न पनि सक्दिन। उनले थपे, “मैले यसबारे थप सोच्नुपर्ने हुन्छ, मेरो लागि र राष्ट्रिय टोलीका लागि के सही हो भनेर मैले सोच्नुपर्ने हुन्छ। १८ वर्षको उमेरदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा खेल्न सुरु गरेका उनले तीनवटा विश्वकपमा आफ्नो देशको प्रतिनिधित्व गरेका छन्।

 

सन् २०१४ मा आफ्नो टोलीलाई सेमिफाइनलसम्म पुर्‍याउन सहयोग गरेका उनी घाइते भएका कारण जर्मनीविरुद्धको सेमिफाइनल खेल्न पाएका थिएनन्। सो खेलमा ब्रजिल ७-१ गोल अन्तरले लज्जास्पद रुपमा पराजित भएको थियो। नेयमारले अघिल्लो विश्वकप क्वार्टरफाइनलमा बेल्जियमसँग २-१ अन्तरको पराजय भन्दा पछिल्लो हार पीडादायी रहेको बताए। उनले शब्दमा त्यसलाई व्यक्त गर्न नसकिने भन्दै आफ्नो टोलीले अन्तिमसम्म लडेको र सहकर्मीहरू प्रति गर्व रहेको प्रतिक्रिया दिएका छन्। प्रशिक्षक टिटेले आफ्नो टोलीले जस्तोसुकै प्रदर्शन गरेपनि विश्वकपपछि राजीनामा दिने बताएका थिए। उनले भने, “यो पिडादायी हार हो तर म शान्त भएर जाँदैछु। यो एउटा चक्रको अन्त्य हो।

© 2026 janayatra.com All rights reserved. | Design by OWC