janayatra

तान्जानियाको विमान लेक भिक्टोरियामा दुर्घटना ।

Author जनयात्रा सोमबार, २१ कात्तिक २०७९

views
तान्जानियाको विमान लेक भिक्टोरियामा दुर्घटना ।

तान्जानियाको प्रिसिजन एअरको एउटा विमान आँधीसहितको खराब मौसममा अवतरण गर्ने प्रयासमा लेक भिक्टोरियामा दुर्घटनाग्रस्त भएको छ। उक्त दुर्घटनामा कम्तीमा तीनजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। दुईजना पाइलटहरू जीवितै रहेको भएपनि उनीहरू ककपिटमा फसिरहेको र तीनले स्थानीय अधिकारीहरूसँग कुरा गरिरहेको जनाइएको छ। उद्धारकर्ता र माझीहरूले विमानभित्र फसिरहेकाहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेका छन्। स्थानीय सञ्चारमाध्यमहरूले कम्तीमा २६ जना मानिसहरूको उद्धार गरिएको र तीनलाई अस्पताल पठाइएको उल्लेख गरेका छन्।

सो विमानमा ४३ जना सवार रहेको एक जना स्थानीय अधिकारीले बीबीसीलाई बताएका छन्।

आर्थिक राजधानी दर ए सलामबाट उक्त विमान उडेको थियो। सामाजिक सञ्जालमा राखिएका भिडिओमा उद्धार कार्यकर्ताहरूले मानिसहरूलाई डुङ्गामा चढ्न सघाइरहेको देख्न सकिन्छ। तर विमानको पछिल्लो भाग भने पानीको मुन्तिर देखिन्छ। उद्धार कार्य जारी रहँदा तान्जानियाका राष्ट्रपतिले शान्त रहन अपिल गरेकी छन्। उद्धारकर्ताहरूलाई स्थानीय माझीहरूले पनि खोजीमा सघाइरहेका छन्। बुकोबा विमानस्थलको एउटा धावनमार्गको अन्तिम विन्दु अफ्रिकाको सबैभन्दा ठूलो ताल लेक भिक्टोरियाको तट नजिकै पर्छ।उक्त विमानले आँधी र ठूलो वर्षाको सामना गर्नुपरेको विवरण आएका छन्। प्रिसिजन एअर तान्जानियाको प्रमुख निजी वायुसेवा हो।

                                                                                                                       

© 2026 janayatra.com All rights reserved. | Design by OWC