janayatra

सन्दीप लामिछाने बिरुद्ध काठमाण्डू जिल्ला अदालतमा मुद्दा दर्ता ।

Author जनयात्रा मङ्गलबार, १५ कात्तिक २०७९

views
सन्दीप लामिछाने बिरुद्ध काठमाण्डू जिल्ला अदालतमा मुद्दा दर्ता ।

जबरजस्ती करणीको आरोपसहित उजुरी परेपछि अनुसन्धानका लागि हिरासतमा रहेका क्रिकेट खेलाडी सन्दीप लामिछानेमाथि सोमवार सरकारी वकिलहरूले मुद्दा दायर गरेका छन्। काठमाण्डू जिल्ला अदालतमा दर्ता गरिएको मुद्दामा उनलाई "मुलुकी अपराध संहिता २०७४ बमोजिम १० देखि १२ वर्षको कैद सजाय माग गरिएको" जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डूका प्रमुख तथा सहन्यायाधिवक्ता अच्यूतमणि नेउपानेले बीबीसीलाई बताए। त्यसबाहेक पीडितलाई उचित क्षतिपूर्ति दिइनुपर्ने समेत माग छ।" यो सँगै अब थुनछेक बहसको प्रक्रिया सुरु हुने बताइएको छ। लामिछानेले हिरासतमा पर्नुअघि एक फेसबुक स्टेटस लेख्दै "आफूलाई फसाइएको र त्यसविरुद्ध कानुनी लडाइँ लड्ने" जनाएका थिए। उनी २६ दिनदेखि प्रहरी हिरासतमा छन्। यसबीचमा प्रहरीले तीन पटक अदालतबाट म्याद थपेर अनुसन्धान गरेको थियो। ६ कात्तिकमा प्रहरीले आफ्नो अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डूमा त्यसलाई रायसहित पेश गरेको थियो।

आरोप

यसअघि नेपाली क्रिकेट टोलीका कप्तान रहेका लामिछानेमाथि एक नाबालिगलाई पटक पटक जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले अनुसन्धान गरेको थियो। प्रहरीका अनुसार पीडित भनिएकी किशोरी १७ वर्षकी छन् र उनले आफन्तको सहयोगमा गत भदौ २१ गते गौशाला प्रहरी कार्यालय उजुरी दिएकी थिइन्। जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि गत भदौ २३ गते नेपाल क्रिकेट सङ्घ क्यानको कार्य सम्पादन समितिले उनलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो। नेपालमा उजुरी दर्ता हुँदा उनी क्यारिबीअन लीग खेल्न जमैकामा थिए।

उनीमाथिका आरोपहरू सार्वजनिक भएपछि उनी उक्त लीगलाई बीचमै छाडेर केही समय बेपत्ता भएका थिए र केही समयपछि नेपाल आएका थिए। प्रहरीले सन्दीप लामिछाने निर्धारित समयभित्र नेपाल नआएपछि उनीविरुद्ध इन्टरपोलमार्फत् डिफ्युजन पनि जारी गरेको थियो।

 

© 2026 janayatra.com All rights reserved. | Design by OWC